• २८ वैशाख २०८१, शुक्रबार

फोटो फिचर

निजगढ विमानस्थल अनुगमनमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेता

blog

निजगढ विमानस्थलको निरीक्षणका लागि पुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेता। तस्बिरः शिवशंङ्कर मिश्र

शिवशंङ्कर मिश्र

बारा, असार १८ गते। प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले शनिबार राष्ट्रिय गौरवको आयोजना प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। 

पाँच दलीय गठबन्धनका शीर्ष नेताको टोलीले हेलिकप्टरबाट विमानस्थलको अनुगमन तथा निरीक्षण गरेको हो। काठमाडौं–तराईं जोड्ने द्रुतमार्गमा रहेको नेपाली सेनाको क्याम्पमा उपस्थित पत्रकारसँग कुरा गर्नुहुँदै  प्रधानमन्त्री देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रकृया नरोकिने प्रष्ट पार्नुभएको छ। 

विमानस्थल निर्माणपछि देशको अर्थतन्त्रमा यसले महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवद्र्धन हुनुको साथै तराईमा रोजगारीको अवसर सिर्जना हुने उहाँको भनाइ छ। विमानस्थल निर्माणको काम चाँडे सुरु हुने उहाँले प्रष्ट पार्नुभएको छ। 

यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विमानस्थल निर्माण हुने कुरामा आशंका नगर्न सबैलाई अनुरोध गर्नुभएको छ। 



उहाँले सर्वोच्च अदालतबाट प्राप्त आदेशले निर्माणको बाटो खुलेको प्रष्ट पार्नुभयो। हवाई उडानमा भरपर्दो, सुरक्षितसहित अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विमानस्थल नेपालमा बनाउन अति आवश्यक रहेको उहाँको भनाइ छ। 

त्यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले निर्माणाधीन निजगढ विमानस्थलले देशको अर्थतन्त्रमा परिवर्तन ल्याउनसक्ने बताउनुभयो। 

सबैतिरबाट अध्ययन गरी विमानस्थल बनाउन निजगढनै सबैभन्दा उपयुक्त ठाउँ रहेको उहाँको भनाइ छ। काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) र निर्माणाधीन निजगढ विमानस्थल एक अर्काका पुरक भएको तथा राष्ट्रिय गौरवको ड्रिम प्रोजेक्टको रुपमा रहेकाले यी दुबै राष्ट्रिय परियोजना कुनै पनि बहानामा नरोकिने उहाँले बताउनुभयो।



यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता मुलुकलाई नै सबै भन्दा उपयुक्त हुने बताउनुभएको छ। 

अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थलको नेपालमा आवश्कता रहेको र यो आवश्यकतालाई निजगढ विमानस्थलले पूरा गर्ने भएकोले यसको निर्माण हुन जरुरी रहेको उहाँको भनाइ छ। 



निरीक्षणमा अर्थमन्त्री जनार्दन शर्मा, वनमन्त्री रामसहाय यादव, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, जितपुरसिमरा उपमहानगरपालिका मेयर राजन पौडेल, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहलगायत सुरक्षा प्रमुखको सहभागिता रहेको थियो।