• १२ साउन २०८१, शनिबार

जगदीश घिमिरेको नाटक 'साबिती' मञ्चन

blog

'साबिती' नाटक मञ्चन पछि चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार सम्मानित हुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौं, असार १८ गते । थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा 'साबिती' मा आधारित भएर नाटक मञ्चन गरेको छ । विमल सुवेदीको परिकल्पना र निर्देशन, जेनी सुनुवारको सहायक निर्देशनमा नाटक मञ्चन भएको हो । 

नाटकको प्रमुख भूमिकामा चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार हुनुहुन्छ जो नेपाली रङ्गमञ्चकी एक प्रत्यक्ष सारथी  हुन् । 

'साबिती’ नाटक थिएटर भिलेजले यसअघि २०७० सालमा 'सत्यमोहन जोशी नाटकघर' उद्घाटन गर्दा पहिलो पटक मञ्चन गरेको थियो । तर, प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको सहकार्यमा साउथ 'एसियन युनिभर्सिटीमा' मञ्चन भएको थियो ।

त्यही वर्ष भारतकै जम्बुमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो । हिन्दी भाषामा रुपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समय अनुकूल हुने गरी पुनः रुपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रुपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गर्नुभएकाे हाे ।


धेरै पहिले लेखिएको भए पनि 'साबिती' कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरुप देखाउने निर्देशक विमल सुवेदी बताउनुहुन्छ । उहाँका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठूलो धोको थियो । तर, पहिलो प्रस्तुति रोकिएपछि पुनः प्रस्तुति हुनुअघि घिमिरेको निधन भयो । 

'नेपाली रंगमञ्चमा धेरैजसो विदेशी नाटकको अनुवाद मात्र गरिने हुँदा थिएटर भिलेजले नेपाली नाटक तथा साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने आफ्नो उद्देश्यअनुरुप पहिलो कदमका रूपमा यसै नाटक मञ्चन गर्ने सङ्कल्प गरेका थियौँ,' उहाँ भन्नुहुन्छ।


अभिनयका लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिजुअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार भन्नुहुन्छ, 'यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरुप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनीतिक विसङ्गति अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारीकरणलाई उदाङ्गो पारेको छ ।' 

थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक 'पल्पसा क्याफे' पनि मञ्चन गरेको थियो ।