• १९ असार २०८१, बुधबार

कैलालीको हँसुलियामा भेटियो दुर्लभ सेतो भँगेरा

blog

कैलालीको हसुलियामा देखिएको सेतो भङ्गेरा । तस्बिर : कुलराज चौधरी

अविनाश चौधरी

धनगढी, असार १८ गते । कैलालीमा सेतो भँगेरा फेला परेको छ । कैलारी गाउँपालिका–१ हसुलिया बजारमा आँखा बाहेक प्वाँख सेतो रहेको भँगेरा फेला परेको हो । फोटोग्राफर कुलराज चौधरीले शुक्रबार सो भँगेरा फेला पार्नुभयो । 

जीवनमा पहिलो पटक आफूले सेतो भँगेरा देखेको उहाँको भनाइ छ । ‘म नजिककै होटलमा चिया खाँदै गर्दा रुखमा अरु भँगेरासँगै निकै फरक सेतो भँगेराे पनि देखियो’, उहाँले थप्नुभयो । ‘चाँडै आफ्नो स्टुडियोमा क्यामेरा लिन गएँ । तबसम्म सेतो भँगेरा अरू भँगेरासँगै भुईमा आइसकेको रहेछ । मैले दुई वटा सट लिन सफल भएँ ।’ 

आफूले अरु पनि फोटो खिच्ने प्रयास गरेको तर भङ्गेरा उडेर गएपछि थप फोटो खिच्न असफल भएको चौधरीले बताउनुभयो । यहाँ देखिएको भँगेरा ‘ल्युसिस्टिक’ वा ‘अल्बिनो’ हुन सक्ने चरा विशेषज्ञ डा. हेमसागर बरालको भनाइ छ । 

उहाँका अनुसार लाखौंमध्ये एकमा यस्तो देखिने सम्भावना रहन्छ । देखिएको भङ्गेरा ‘ल्युसिस्टिक’ भएको हुन सक्ने सम्भावना बढी रहेको बरालले बताउनुभयो । ‘हेर्दा ल्युसिस्टिक रहेको चान्सेस बढी छ’, उहाँले भन्नुभयो । 

आनुवंशिक बिग्रेर चरामा यस्तो हुने गरेको डा. बरालको भनाइ छ । उहाँले भन्नुभयो–‘ल्युसिस्टिक पूरै वा अलि अलि सेतो रहने गर्दछन् ।’ प्रकृतिमा ल्युसिस्टिकहरु रहेको बरालले बताउनुभयो । ‘तर, यो असाधारण घटना हो’, उहाँले अगाडि थप्नुभयो, ‘यद्यपि, अल्बिनोभन्दा ल्युसिस्टिक सामान्य छ ।’ 

ल्युसिस्टिकको प्रभावित प्लुमेजमा मेलानिन पिगमेन्टको अभाव हुनेगरेको विशेषज्ञ बरालले बताउनुभयो । ‘किनभने यसमा मेलानिन उत्पादनको लागि जिम्मेवार काेशिकाहरु अनुपस्थित छन’, उहाँले चर्चा गर्नुभयो । 

अल्बिनो भने संसारमा बिरलै हुने दुर्लभ घटना रहेको जनाइएको छ । अल्बिनो प्रभावितको प्वाँख सेतोसहित आँखा, छालाको रङ गुलाबी हुनेगरेको बरालको भनाइ छ । ल्युसिस्टिक चराको आँखा अँध्यारो रहने गरेको बताइएको छ । आँखाको रङबाट ल्युसिस्टिक र अल्बिनो छुट्टयाउन सकिने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘अल्बिनो देख्न पनि सक्दैनन् । भाग्ने बित्तिकै धेरैजसो मर्ने गरेकाले अल्बिनो भएका चरा बिरलै वयस्कसम्म पुग्न सक्छन् ।’ बगालमा भएका चरामध्ये फरक र आकर्षक रङका भएका कारण ल्युसिस्टिक र अल्बिनोलाई शिकारी पंक्षीले पनि चाँडै मार्नेगरेको उहाँको भनाइ छ ।