काठमाडौँस्थित पाकिस्तानी दूतावासले नेपाली कलाकारको कुचीमार्फत पाकिस्तानी रङ शीर्षकको कला प्रदर्शनी र कलाकार वार्ता आयोजना गरेको छ । दूतावासपरिसरमा बिहीबार आयोजित प्रदर्शनीमा नेपाली कलाकार विधाता केसीका सिर्जना प्रस्तुत गरिएका थिए । यो उहाँको कलात्मक यात्रा र पाकिस्तानमा अनुभवबाट प्रेरित रहेको दूतावासले जनाएको छ । त्यस अवसरमा कालाकार केसीले पाकिस्तानमा दक्षिण एसियाली देशका लागि कलाकारको आवासीय कार्यक्रममा भाग लिँदाका आफ्ना अनुभव प्रस्तुत गर्दै पाकिस्तानको आफ्नो यात्रा र रचनात्मक अभिव्यक्तिलाई प्रेरित गर्ने समृद्ध कलात्मक, सांस्कृतिक र सामाजिक प्रभावबारे चर्चा गर्नुभयो ।
कर्णाली प्रदेशको विद्युत् आपूर्तिलाई भरपर्दो र दिगो बनाउने अपेक्षा गरिएको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन तयार भएको छ । करिब चार दशकपहिले बनेको ३३ केभी प्रसारण लाइनका भरमा बिजुली पाइरहेको कर्णाली प्रदेशले शुक्रबारदेखि पहिलो पटक १३२ केभी प्रसारण लाइनबाट विद्युत् प्राप्त गर्ने भएको हो । प्रसारण लाइन निर्माणको सबै काम सकिएकाले शुक्रबार प्रसारण लाइनमा विद्युत् प्रवाह गरेर अन्तिम परीक्षणको कार्य गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पहेँलो धातु सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड कायम गरी साढे तीन लाखनजिक पुगेको छ । बिहीबार एकै दिन तोलामा २० हजार पाँच सय रुपियाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वैदेशिक रोजगारीमा दक्ष भएर जानेको श्रमिकको सङ्ख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को छ महिना र चालु आव २०८२/८३ को तथ्याङ्क हेर्दा पछिल्लो वर्ष दक्ष भएर जाने सङ्ख्या घटेको देखिएको हो ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अङ्कले घट्दा कारोबार रकम भने साढे १४ अर्ब रुपियाँभन्दा माथि लागेको छ । परिसूचक १७ अङ्कले ओरालो लागे पनि जलविद्युत् समूहको सेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ ।
दुई दिनसम्म परेको वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायी सङ्घ बाँकेका अनुसार जिल्लामा करिब ७० इँटा उद्योग सञ्चालनमा रहेकोमा सबै उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटा वर्षाले क्षति पुगेको छ ।
पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम सुचारु गर्न माग गर्दै त्यहाँका स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । आयोजना निर्माण लामो समयदेखि रोकिएको भन्दै स्थानीयले प्रशासनमार्फत निर्माण कम्पनीको ध्यानाकर्षण गराएका हुन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहिदहरूको बलिदानबाट प्राप्त नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक उपलब्धिलाई कमजोर हुन नदिन सबै पक्ष सजग र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सप्तरी जिल्लाबाट २८ जना खेलाडी छनोट भएका छन् ।
बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई डेढ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यकक्षबाट पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ ८४ पैसा र बिक्रीदर १४७ रुपियाँ ४४ पैसा तोकिएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।