गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १६ गते । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अङ्कले घट्दा कारोबार रकम भने साढे १४ अर्ब रुपियाँभन्दा माथि लागेको छ । परिसूचक १७ अङ्कले ओरालो लागे पनि जलविद्युत् समूहको सेयरमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । केही दिनदेखि जलविद्युत्को सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।बिहीबार जलविद्युत् उपसमूहको सूचकमा १३.७७ अङ्क अर्थात् ०.३८ प्रतिशतको बढोत्तरी आएको छ । अन्तिम दिन सबैभन्दा बढी नाफा कमाउने १० वटै कम्पनी जलविद्युत् समूहका छन् ।
हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमै बढेको छ भने कालिका पावर, रावा इनर्जी, शुभम् पावर, युनियन हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर उच्च वृद्धि गर्ने कम्पनीमा परेका छन् ।
अन्तिम दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जलविद्युत्, लगानी र म्युचुअल फन्डबाहेक बाँकी १० उपसमूहको परिसूचक ओरालो लागेको छ । विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक २.२३ प्रतिशतले ओरालो लागेको छ भने उत्पादन तथा प्रशोधन २.१२ प्रतिशत, फाइनान्स १.७५ प्रतिशत र होटेल तथा पर्यटन १.२९ प्रतिशतले ओरालो लागेको छ । साताको अन्तिम दिन नेप्से १७.५३ अङ्कले घट्दा परिसूचक २७१४.०५ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.५८ अङ्कले घटेर ४६२.६८ को विन्दुमा पुगेर अडिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.६४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.३४ प्रतिशतले घटेको छ । अन्तिम दिन ३२० कम्पनीको तीन करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर एक लाख ३८ हजार ८८३ पटक खरिदबिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।