इलाम समाचारदाता
इलाम, माघ १६ गते । पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ ।
अहिले बजारमा माग धेरै भए पनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले बजारमा घिउ पाइन छाडेको इलाम चोक बजारमा घिउ तथा छुर्पी व्यापार गर्दै आएकी मन्दिरा घिमिरे बताउनुहुन्छ । “दैनिक बजारमा घिउको माग छ, हामीले गाउँबाट ल्याउने घिउ नै कम छ,” घिमिरेले भन्नुभयो “अहिले हामीले नवरत्न डेरीको घिउ पनि प्रतिकिलो साढे सात सय रुपियाँका दरले बिक्री गर्दै छौँ ।”
गत वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर गाउँपालिका–३ का डेरी सञ्चालक खडानन्द ढकालले बताउनुभयो । “गत वर्ष तीन मन घिउ माग भएकोमा यो वर्ष त्यही व्यक्तिबाट पाँच मन घिउ माग भएको छ,” ढकालले भन्नुभयो, “यस वर्ष त माग धान्नै गाह्रो छ । यस पटक डेरीबाटै प्रतिकिलो साढे छ सय रुपियाँका दरले घिउ जाने गरेको छ ।”
ढकालले महिनामा तीन मनसम्म घिउ उत्पादन र निकासी हुने गरेको बताउनुभयो । ढकालले इलाममा उत्पादित घिउ प्रायः बाहिरी बजारमै जाने गरेको बताउनुभयो । इलामबाट झापाका बिर्तामोड, विराटनगर, काठमाडौँ, पोखरासम्मका बजार जाने गरेको बताउनुभयो ।
इलामकै माईजोगमाई गाउँपालिका–३, नामसालिङका डेरी उद्योग सञ्चालक राजु घिमिरे पनि यस वर्ष घिउको माग धेरै रहेको बताउनुहुन्छ । दुई हजार किलो घिउ उत्पादन र बिक्री हुने गरेको घिमिरेले बताउनुभयो । “उत्पादन गर्नै समस्या छ । श्रमिक नपाउने, किसानले मूल्य पनि नपाउने, गाईको दाना महँगो आदि कारणले किसानले गाई पाल्नै छाडिसके,” घिमिरेले भन्नुभयो “दैनिक दुई हजार लिटर दुध प्रशोधन गर्दा पनि अहिले घिउको माग निकै छ ।” इलाम बजार, फिक्कल, मङ्गलबारे, नयाँ बजार, हर्कटेलगायतका इलामका बजारमा नौनी अभाव रहेको उपभोक्ताले बताएका छन् ।
जिल्लामा एक सयभन्दा बढी डेरी उद्योग सञ्चालनमा रहे पनि घिउको उत्पादन कति हुन्छ भन्ने ठ्याक्कै तथ्याङ्क भने पाइँदैन । जिल्लास्थित भेटेरिनरी तथा पशुविज्ञ कार्यालय रहे पनि घिउको छुट्टै तथ्याङ्क भने नभएको कार्यालयका कर्मचारी नवीन वैद्यले बताउनुभयो ।