• १६ माघ २०८२, शुक्रबार

वर्षाले काँचो इँटामा क्षति

blog

बाँके समाचारदाता

बाँके, माघ १६ गते । दुई दिनसम्म परेको वर्षाका कारण बाँकेमा काँचो इँटामा क्षति पुगेको छ । इँटा व्यवसायी सङ्घ बाँकेका अनुसार जिल्लामा करिब ७० इँटा उद्योग सञ्चालनमा रहेकोमा सबै उद्योगमा तयारी अवस्थामा रहेका काँचो इँटा वर्षाले क्षति पुगेको छ । 

इँटा व्यवसायी सङ्घ लुम्बिनीका उपाध्यक्ष दीपक अधिकारीले मङ्गलबार र बुधबारको वर्षाका कारण बाँकेमा मात्रै करिब १० करोड रुपियाँको नोक्सानी भएको जानकारी दिनुभयो । 

एउटा भट्टामा एक लाखदेखि १० लाखसम्म तयार पारेर सुकाउन राखिएको काँचो इँटामा क्षति पुगेको अधिकारीको भनाइ छ । अधिकारीले भन्नुभयो, “बेमौसमी वर्षाले व्यवसायीको ठुलो नोक्सानी भएको छ, यसबाट भविष्यमा इँटा अभाव हुने देखिन्छ ।”व्यवसायीले बाँकेमा मात्रै दुई करोडभन्दा बढी इँटामा क्षति पुगेको दाबी गरेका छन् ।

पर्यावरणीय दृष्टिले माघ १ गतेपछि मात्रै इँटाभट्टा सञ्चालन हुने भएकाले अहिले इँटा पकाउन तयारी अवस्थामा रहेको समयमा बर्सात भएकाले थप क्षति भएको व्यवसायीले जनाएका छन् । 

काँचो इँटा सुकाएको अवस्थामा क्षति भएकाले व्यवसायीले फेरि काँचो इँटा बनाउनुपर्ने हुन्छ । इँटा बनाउन प्रयोग भएको जनशक्ति फेरि सोही काममा लगाउनुपर्ने भएकाले व्यवसायीले समग्र इँटा उत्पादनमै प्रभाव पर्ने बताएका छन् ।