• १६ माघ २०८२, शुक्रबार

एकै दिन साढे बिस हजारले बढ्यो सुन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १६ गते । पहेँलो धातु सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड कायम गरी साढे तीन लाखनजिक पुगेको छ । बिहीबार एकै दिन तोलामा २० हजार पाँच सय रुपियाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार तीन लाख १८ हजार आठ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक्कासि बढेको हो । अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔँस सुनको मूल्य पाँच हजार ५५१ अमेरिकी डलरमा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने धम्की दिएसँगै सुनको मूल्य अस्वाभाविक बढेको हो । 

ट्रम्पको व्यापार नीतिले पनि अन्तर्राष्ट्रिय बजार अनिश्चित भएका बेला सुन र चाँदीलाई सुरक्षित लगानी मानिन्छ । लगानीकर्ता डलर छोडी सुनमा लगानी गर्न आकर्षित भएकाले पनि मूल्य बढ्दै गएको हो । अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर फेरि घटाउने आङ्शकाले लगानीकर्ता सुनमा लगानी गर्न थालेपछि सुनको मूल्य पनि निरन्तर बढ्दै गएको छ । 

अमेरिकाले भेनेजुएलामा आक्रमण र ग्रिनल्यान्ड लिने धम्की दिएसँगै सुनको अस्वाभाविक रूपमा मूल्य निरन्तर बढ्दै गएको हो । निरन्तर सुनको मूल्य बढ्दा उपभोक्ता र व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।  

अन्तर्राष्ट्रिय बजार अनिश्चितता हुँदा सुनको मूल्य थप बढ्ने देखिएको छ । मूल्य बढेपछि बजारमा माग नहुँदा सुनको कारोबार ठप्प रहेको व्यवसायीको भनाइ छ । मुलुकभर २२ हजार सुुनचाँदी व्यवसाय सञ्चालन छन् । महासङ्घका अनुसार मूल्य बढ्दा सुनको कारोबार ९० प्रतिशत गिरावट आएको छ । 

यसैबिच सुनको मूल्यसँगै चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ । बुधबार तोलामा छ हजार ८६८ रुपियाँमा कारोबार भएको चाँदीको मूल्य बढेर सात हजार तीन सय रुपियाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस चाँदीको मूल्य ११८ अमेरिकी डलरमा पुगेको छ । चाँदीको मूल्य बढ्दै गएपछि बजारमा अभाव भएको छ । माग अनुसार आपूर्ति नहुँदा चाँदीको मूल्य बढ्दै गएको छ । चाँदी विशेष गरी औद्योगिक क्षेत्रमा बढी प्रयोग हुने गर्छ । विद्युतीय गाडी, सोलार प्लान्टलगायतका क्षेत्रमा चाँदीको खपत बढी हुने गर्छ । बुधबार चाँदीको भाउ प्रतितोला ४३० रुपियाँले बढेर सात हजार तीन सय रुपियाँ कायम थियो ।