कालीकोट समाचारदाता
कालीकोट, माघ १६ गते । फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको काम सुचारु गर्न माग गर्दै त्यहाँका स्थानीयले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् । आयोजना निर्माण लामो समयदेखि रोकिएको भन्दै स्थानीयले प्रशासनमार्फत निर्माण कम्पनीको ध्यानाकर्षण गराएका हुन् ।
विद्युत् उत्पादन कम्पनीले २०७५ मा आयोजनाको सर्वेक्षणका लागि विद्युत् विकास विभागबाट अनुमति लिएर काम सुरु गरेको थियो । कालीकोटमा निर्माण हुने ४८० मेगावाटको आयोजनाको काम दुई वर्षयता ठप्प छ । आयोजनाको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई दिने तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्झौता गरेपछि अदालतमा मुद्दा परेका कारणले आयोजनाको काम ठप्प भएको हो । मुद्दा खारेज भए पनि कम्पनीले काम सुरु नगरेको भन्दै स्थानीयले प्रशासनको ध्यानाकर्षण गराएका हुन् । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले स्थानीयले काम सुरु गर्न भन्दै ध्यानाकर्षणपत्र बुझाएको बताउनुभयो ।
अदालतको फैसलाको पूर्ण पाठ नआएको र ५१ प्रतिशत सेयर लिएको भारतीय एनएचपिसी इन्डिया लिमिटेडको कम्पनीले पनि विभिन्न कुरा गरेकाले आयोजना अगाडि बढ्न नसकेको आफूले बुझेको उहाँले जनाउनुभयो । नेपाल र भारतीय कम्पनीबिच केही अन्योलका विषयमा प्रस्ट भएपछि बल्ल काम अगाडि बढ्ने सूचना आफूले पाएको प्रजिअ सुयलले बताउनुभयो ।
आयोजनाको बाँधको दायाँतर्फको भाग सान्नीत्रिवेणी गाउँपालिका–३ मा पर्दछ । बायाँतर्फको भाग खाँडाचक्र नगरपालिका–११ मा छ । मुख्य बाँधको उचाइ जगदेखि १६० मिटर तथा नदीको पिँधको स्तरबाट १०९ मिटर आयोजनाको अध्ययन प्रतिवेदनमा उल्लेख छ । बाँधको माथिल्लो भागको लम्बाइ ३१३ मिटर र चौडाइ १० मिटर हुने छ ।
आयोजना निर्माणका लागि भने जग्गा अधिग्रहण भइसकेको छ । स्थानीयलाई ४५ करोड रुपियाँ बढी मुआब्जामा खर्च भइसकेको छ । आयोजनाका लागि एक हजार ७५ रोपनी जग्गा अधिग्रहण हुने छ । धेरै जसो जग्गा अधिग्रहण भइसकेको भए पनि काम भने अझै अगाडि बढ्न सकेको छैन ।
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–३, सिस्नेगाडामा ५२० मिटरको परीक्षण सुरुङ खनेर १६० मिटर अग्लो बाँध निर्माण गरी १३.५ किलोमिटर सुरुङबाट सान्नीत्रिवेणी–१ को भौतेगडामा निर्माण हुने विद्युत आयोजनामा जोड्ने योजना छ । आयोजना निर्माणको जिम्मा भने भारतीय सरकारी कम्पनीले पाएको छ । भारतीय कम्पनीलाई दिन नहुने भन्दै परेको मुद्दा खारेज भएपछि आयोजनाको काम अगाडि बढ्ने बाटो खुलेको भए पनि काम भने अझै सुरु भएको छैन । आयोजनामा ९२ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ ।