तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो । उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । चलचित्रमा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरिएको छ । आकाश बरालको कथा रहेको चलचित्रमा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । सुजनबम ठकुरी निर्माता रहनुभएको चलचित्रका निर्देशक/निर्देशन निश्चल बस्नेत हुनुहुन्छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
नेपालभाषा एकेडेमीले विगत २० वर्षदेखि विविध विधामा प्रदान गर्दै आएको १९ औँ दान्यहिरा सिरपाः प्रदान गरेको छ । हालै आयोजित कार्यक्रममा साहित्यतर्फ डा. योगेन्द्र प्रधानलाई ‘दान्यहिरा जीवंकाछी साहित्य सिरपाः सङ्गीततर्फ वरिष्ठ गायककार जुजुकाजी रञ्जितलाई ‘दान्यहिरा जीवंकाछी सङ्गीत सिरपाः’ र विज्ञानतर्फ डा. जीवनकुमार श्रेष्ठलाई ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले प्रदान गर्नुभयो ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ राख्नुभएको छ । उहाँले फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा आफूले गिनिज वल्र्ड रेकर्ड बनाएको जानकारी दिनुभयो । डा. अनिलले विश्व मुटु दिवसका अवसर गत असोज १२ गते मुटुरोगसम्बन्धी जनचेतनामूलक सन्देश फेसबुक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड बनाउनुभएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेको जानकारी दिनुभयो ।
‘पचास रुपियाँको तमसुक’, ‘गाउँको आवाज’ जस्ता नाटक गाउँघरमा साँझपख देखाइन्थे । दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायतकालीन त्यो समयमा यस्तै सडक नाटक जनचेतना जगाउने आधार थिए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अनधिकृत रूपमा अन्यत्रबाट पैठारी हुने सामग्रीको जिम्मेवारी लिन नसक्ने स्पष्ट पारेको छ । क्वारेन्टाइनले फूल आयातका लागि इजाजत दिएको भनि फूल व्यवसायीबाट कृषि मन्त्रालयसम्म गुनासो पु¥याएपछि क्वारेन्टाइनले सो कुरा स्पष्ट पारेको हो । क्वारेन्टाइनले विज्ञप्ति जारी गरी राज्यले पैठारी निषेध नगरेका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा भएको व्यवस्था अनुरूप तोकिएको प्रक्रिया पु¥याएर पैठारी गर्न पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । यस हिसाबले चालू आवको तीन महिनामा प्रतिमहिना औसतमा एक खर्ब २१ अर्ब रुपियाँभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।
नेपालीहरूको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लाग्दा हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । उहाँ अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ । तिहार नजिकिएसँगै प्रजापति समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।