• १४ मंसिर २०८१, शुक्रबार

माटोको पाला व्यवसायबाट राम्रो आम्दानी

blog

मीना कँडेल

कावासोती, कात्तिक २५ गते । नेपालीहरूको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गर्नै लाग्दा हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ । उहाँ अझै अन्य समयमा भन्दा तिहार नजिकिएसँगै बिहानदेखि साँझसम्म प्रत्येक दिनमा समय बढाएर तिहारमा बत्ती बाल्न प्रयोगमा ल्याइने पाला बनाउनमा व्यस्त हुनुहुन्छ । तिहार नजिकिएसँगै प्रजापति समुदायलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।

 पूर्वी नवलपरासीको कावासोती–३ का हरिकृष्ण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसक्नुभएको छ । तिहारमा बत्ती बाल्नका लागि प्रयोग गरिने माटोका पालाको बजार माग पूरा गर्न उहाँले तीन महिनाअघिदेखि नै पाला बनाउन सुरु गरेको बताउनुभयो । उहाँले माटाका पाला बिक्री गरेर सिजनमा तीन लाख आम्दानी गरेको बताउनुभयो ।

आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको उहाँको भनाइ छ । पुर्खाको पेसालाई धान्दै प्रजापतिले विगत २० वर्षदेखि व्यावसायिक रूपमा नै माटोका सामानहरू बनाउँदै आउनुभएको छ । सिजन अनुसार माटोका सामानहरू बनाउँदै आउनुभएको उहाँले तिहारमा भने पालाको बजार माग पूरा गर्न नसक्दा अन्य जिल्लाबाट मगाउने गर्नुभएको छ । आफूले काम सुरु गरेदेखि हालसम्म कुनै पनि अवस्थामा आवश्यक कुरा खरिदका लागि पैसा अभाव नभएको उहाँको अनुभव छ । 

 आफ्नो बुबासँगै विगत लामो समयदेखि पाला बनाउन सिक्नुभएका प्रजापतिले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ, दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरूको वर्षभरिको नगद खर्चको जोहो गर्ने उपयुक्त समय हो ।”

 आर्थिक मन्दीले अन्य व्यापार व्यवसाय नभएको भए पनि माटाका पाला माग अनुसार पु¥याउन नसकेको सुनिता प्रजापतिले बताउनुभयो । उहाँले नवलपुर जिल्लाबाहेक बाहिर जिल्लामा समेत पालाको माग बढ्दो रहेकाले राम्रो आम्दानी गरेको बताउनुभयो । यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्कीबाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ ।

 प्रजापति समुदाय यतिबेला हरिकृष्ण जस्तै चक्काकै अगाडि आफ्नो समय व्यतित गर्छन् । माटाका भाँडा बनाउने उनीहरू विशेषगरी तिहार आउँदा बत्ती बाल्न प्रयोग गरिने पाला बनाउनमै आफ्नो समय व्यतित गर्ने गर्छन् । यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटाका पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेको छ । 

 दीपावली र छठ पर्वमा बालिने बत्ती माटोकै दियोमा बालिने, छठ पर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मी पूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाडामा राखिनुपर्ने परम्परागत मान्यताले यी पर्व विशेषमा माटाका भाँडाको कारोबार बढ्ने गरेको छ ।