• १३ असोज २०८१, आइतबार

हुम्लाबाट अल्लोको लोक्ता र धागो निकासी

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक २५ गते । हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो ।

उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो । 

उद्यमीलाई उद्योग स्थापना गरिएको स्थान राष्ट्रिय सडक सञ्जालसँग जोडिएका कारण यसरी दुर्गममा उत्पादन हुने अल्लोको कच्चा पदार्थ जिल्लाबाहिर निकासी गर्न सफलता मिलेको हो । उहाँले धागो प्रतिकेजी छ सय रुपियाँ र लोक्ता प्रतिकेजी २५० रुपियाँ बिक्री गर्ने गरिएको बताउनुभयो ।

 स्थानीयले सुर्खेतमा स्थापना गर्नुभएको अदानचुली अल्लो ढाका कपडा उद्योगलाई जैसीले लोक्ता र धागो पठाउने गरेको बताउनुभयो । उद्योगले यस वर्ष एक हजार केजी धागो र एक हजार दुई सय केजी लोक्ता बिक्री गरेको हो । 

कपडा उद्योगले सुर्खेतमा ढुवानी भएर आएको धागो र लोक्ताबाट कपडा बुनेर काठमाडौँलगायतका सहरमा पठाउने गरेको छ । दुवै उद्योगमा गरी पाँच जनालाई रोजगारीसमेत प्रदान गरिएको छ । अल्लो सङ्कलन गरेर किसानले उद्योगलाई बिक्री गर्दै आउनुभएको छ ।