• १६ वैशाख २०८१, आइतबार

तिस प्रतिशतले बढ्यो विप्रेषण, शोधनान्तर उच्च बचतमा

blog

काठमाडौँ, कात्तिक २५ गते । वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषणमा उल्लेख्य वृद्धि आएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तीन महिनासम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा विप्रेषण ३० प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ । 

यस हिसाबले चालू आवको तीन महिनामा प्रतिमहिना औसतमा एक खर्ब २१ अर्ब रुपियाँभन्दा बढी विप्रेषण भित्रिएको देखिन्छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो । 

राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा भने विप्रेषण २५.९ प्रतिशतले बढेर दुई अर्ब ७६ करोड पुगेको छ । वैदेशिक रोजगारीमा जाने र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या थपिँदै जाँदा विप्रेषण आप्रवाह पनि बढ्दै गएको देखिन्छ । 

विप्रेषणमा आएको वृद्धि र आयात वृद्धि सुस्ताउँदा मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति पनि उच्च बचतमा देखिएको राष्ट्र बैङ्कको तथ्याङ्कमा उल्लेख छ । तीन महिनाको अवधिमा शोधनान्तर स्थिति ९९ अर्ब रुपियाँले बचतमा छ । 

अघिल्लो वर्ष सोही अवधिमा यस्तो बचत १२ अर्ब ४३ करोड रुपियाँले बचतमा थियो । नेपालको अन्य देशसँगको कुल कारोबार देखाउने चालु खाता पनि समीक्षा अवधिसम्म ५९ अर्ब नौ करोड रुपियाँले बचतमा छ । अघिल्लो वर्ष सोही अवधिमा चालु खाता ३५ अर्ब २४ करोड रुपियाँले घाटा थियो । 

विदेशी मुद्रा सञ्चिति ऐतिहासिक 

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि गत वर्ष वैशाखदेखि पुससम्म केही वस्तुको आयातमै प्रतिबन्ध लगाएको स्थितिबाट त्यस्तो सञ्चिति ऐतिहासिक रूपमा उच्च अवस्थामा पुगेको छ । राष्ट्र बैङ्कका अनुसार असार मसान्तको तुलनामा सञ्चिति ६.७ प्रतिशतले बढेर असोज मसान्तसम्म १६ खर्ब ४३ अर्ब नाघेको छ । अमेरिकी डलरमा भने विदेशी मुद्रा सञ्चिति १२ अर्ब ३३ करोड डलर पुगेको छ । असोज मसान्तसम्म सञ्चिति विदेशी मुद्राले करिब एक वर्षको वस्तु आयात गर्न पुग्ने राष्ट्र बैङ्कको अनुमान छ । त्यस्तै उक्त सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्ने उल्लेख छ । 

घट्यो मुद्रास्फीति 

महँगी जनाउने मुद्रास्फीति असोजमा घटेको छ । राष्ट्र बैङ्कका अनुसार असोजमा मुद्रास्फीति ७.५० प्रतिशत कायम छ । जुन गत वर्ष असोजमा ८.५० प्रतिशत थियो । समीक्षा अवधिमा खाद्य समूह अन्तर्गत मरमसलाको मूल्य ३८ प्रतिशतसम्मले बढेको छ । क्षेत्रगत हिसाबले हिमाली क्षेत्र र काठमाडौँमा करिब समान १० प्रतिशतभन्दा बढीको मूल्य वृद्धि छ । पहाडमा ७.३८ प्रतिशतको मूल्य वृद्धि हँुदा तराईमा सबैभन्दा कम ५.६६ प्रतिशत मुद्रास्फीति रहेको राष्ट्र बैङ्कले जनाएको छ ।