कलाकार उदयचरण श्रेष्ठले गायत्री मन्त्रको आधारमा ‘गायत्रीदेवी’ को सजीव चित्रकला तयार पार्नुभएको छ । चित्रमा मुकुटसहितको पञ्चमुख र दस हात छन् भने यसमा प्रयोग भएका गहनाले नेपाली मन्दिरमा राखिएका देवदेवीका लागि पहि¥याउने शृङ्गारको झल्को दिन्छ, पञ्च मुखाकृतिको तेजिलो आँखाले चित्रलाई जीवन्त बनाएको छ । चित्र ठमेलस्थित म्युजियम अफ नेपाली आर्ट (मोना) ले सङ्कलन गरेको छ । कलाकार श्रेष्ठका चित्रसँगै थुप्रै परम्परागत चित्रकलासहित राजधानीमा एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । शास्त्रमा आधारित चित्रकलामा मानव मुखाकृति र व्यावहारिक जीवनशैलीमा प्रयोग हुने गरगहनाको प्रयोग गरी नौलो प्रयोगात्मक अभ्यास गर्ने कलाकारको रूपमा उहाँको छुट्टै पहिचान छ ।
यस वर्षको मिस युनिभर्स प्रतियोगिताको उपाधि निकारागुवाकी सुन्दरी सेनिस पलासियोसले जित्नुभएको छ । दक्षिण अमेरिकी देश निकारागुवाकी प्रतिस्पर्धीले ताज पहिरिएको यो पहिलो पटक हो । २३ वर्षीय पलासियोस पेसाले टेलिभिजन होस्टसमेत हुनुहुन्छ । उहाँले आमसञ्चारमा स्नातक उत्तीर्ण गर्नुभएको छ ।
कात्तिक महिनामा घरजग्गाको कारोबारसँगै राजस्व सङ्कलनमा गिरावट आएको छ । दसैँतिहार जस्ता ठुला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको हो । दसैँतिहार एकै महिनामा पर्दा कात्तिक महिनामा सार्वजनिक बिदा धेरै हुँदा घरजग्गाको कारोबारमा कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाएको छ । विभागका असोजमा ३९ हजार ८८१ लिखत पारित भएकोमा कात्तिकमा घटेर २६ हजार ४६ लिखत पारित भएको छ । कात्तिकमा जग्गाको कारोबार घटेसँगै राजस्व पनि घटेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनाको समीक्षामा बैङ्क तथा वित्तीय संस्थाले कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कबाट स्थायी तरलता सुविधामार्फत एक अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत दुई खर्ब ३८ अर्ब २९ करोड गरी कुल दुई खर्ब ३९ अर्ब ४९ करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८०८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–५, सुरी तिनेखुमा १५ लाख रुपियाँ लगानीमा गरेको सामूहिक केरा खेतीले आम्दानी दिन थालेको छ । स्थानीय १५ जना युवाले ८० रोपनी आआफ्नो खेतमा गरेको सामूहिक केरा खेती फस्टाएपछि दुई वर्षमै दिएको उत्पादनले डेढ लाख रुपियाँ आम्दानी भएको हलेश्वर कृषि तथा पशुपन्छी कृषक समूहका अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो ।
हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको मूल्य घटेको छ । राष्ट्रिय सडक सञ्जालसँग दक्षिणी हुम्ला जोडिनु र ग्यास व्यापारी बढेका कारण प्रतिस्पर्धात्मक बजार भएकाले मूल्य घटेको हो । मालिका महादेव सप्लायर्सका सञ्चालक खुम रावतले खाना पकाउने ग्यासको मूल्य घटेको बताउनुभयो । उहाँले यसअघि नयाँ एउटा सिलिन्डर ग्राहकले किन्नु पर्दा छ हजार पाँच सय रुपियाँ पर्नेमा अहिले मूल्य घटेर पाँच हजार पाँच सयमा झरेको बताउनुभयो ।
चिसोका कारण दुई जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पले घर क्षतिग्रस्त गरेपछि त्रिपालमुनी बस्दैआएको छेडागाड नगरपालिका –१३ की ५६ बर्षीया मनसरी कामी जुनीचाँदे गाँउपालिका –४ लुहादहकी ८९ बर्षीया सुगिली नेपालीको मृत्यु भएको हो ।
बाँकेबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नु हुने नेकपा (एमाले) का सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन हुलाकी सडकको स्थलगत अनुगमन गर्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु एक पटकको लागि निःशुल्क उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ ।
प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियन्त्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् ।
बर्दियाको राजापुर नगरपालिका–१० सुकुम्बासी टोल निवासी २५ वर्षीया ममता सुनारको आज घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
कैलालीको त्रिनगर भन्सारस्थित मोहना नदी घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएर धूमधामसँग छठ पर्व मनाइँदै छ । आज दिनभर निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।