• १३ मंसिर २०८१, बिहिबार

घर बनाउने निर्माण सामग्री निःशुल्क उपलब्ध गराउन माग

blog

प्रजिअ पन्तलाई ध्यानाकर्षणपत्र बुझाइँदै । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, मङसिर ३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्रीहरु एक पटकको लागि निःशुल्क उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । 

आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तमार्फत नेपाल सरकारलाई ६ बुंदे ध्यानाकर्षणपत्र बुझाउँदै रास्वपाले यस्तो माग राखेको हो । रास्वपा रुकुमपश्चिमले अब निर्माण हुने घरहरु भूकम्प प्रतिरोधी तथा भवन निर्माणसम्बन्धी आचारसंहिता अनुसार बनाउनुपर्ने, भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि आवश्यक पर्ने ढुंंगा, बालुवा, गिठ्ठी, काठ एक पटकको लागि निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।

पार्टीका उपसंयोजक भोलाप्रसाद केसीले भूकम्पपीडितलाई त्रिपालमा मात्र लामो समयसम्म राख्न नमिल्ने अवस्था भएकाले तत्काल सुरक्षित आवास निर्माणमा ध्यान दिन आग्रह गरिएको बताउनुभयो । यसका साथै भवन निर्माणमा चाहिने सामग्रीहरु बजारमा अभाव हुने र महंगी हुने भएकाले निरन्तर बजार अनुगमन गर्न माग गरिएको छ । 

रास्वपाले बिद्यालयका भौतिक संरचनाहरु क्षतिग्रष्त भएकाले अस्थायी सिकाइ केन्द्र बनाएर बालबालिकाको पठनपाठनमा सहज बनाउन माग गरेको छ भने भूकम्प प्रभावित कुन क्षेत्रमा कस्तो सहयोग आवश्यक रहेको छ त्यसको लागि एकीकृत सूचना प्रणाली स्थापना गर्न माग गरेको छ ।यसैगरी बस्तीलाई बिभिन्न क्लष्टरमा विभाजन गरेर पुनर्निर्माणको संयन्त्र प्रभावकारी बनाउन माग गरिएको छ ।