• १५ असार २०८१, शनिबार

फस्टायो सामूहिक केरा खेती

blog

दोलखा समाचारदाता

दोलखा, मङ्सिर ४ गते । दोलखाको गौरीशङ्कर गाउँपालिका–५, सुरी तिनेखुमा १५ लाख रुपियाँ लगानीमा गरेको सामूहिक केरा खेतीले आम्दानी दिन थालेको छ । 

स्थानीय १५ जना युवाले ८० रोपनी आआफ्नो खेतमा गरेको सामूहिक केरा खेती फस्टाएपछि दुई वर्षमै दिएको उत्पादनले डेढ लाख रुपियाँ आम्दानी भएको हलेश्वर कृषि तथा पशुपन्छी कृषक समूहका अध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँझो तथा नियमित रूपमा धान रोप्दै आएको खेत प्रयोग गरी केरा खेती सुरु गरिएको हो । देशमा केरा बाहिरबाट आयात गर्नुपर्ने र आयातित केरा सोचेजस्तो स्वादिलो पनि नहुने भएकाले पनि सामूहिक रूपमा सुरु गरिएको केरा खेतीबाट पहिलो वर्षमै १५ हजार जति केरा बेच्दा डेढ लाख रुपियाँ आम्दानी भएको छ । 

बजारको चिन्ता पनि छैन । गाउँमै ग्राहक आउने भएकाले केरा नगदी र उत्पादनशील खेती रहेको भान भएको छ । उत्पादित केरा घरनजिकैको होटल, पसल र हाटमा लगेर बिक्री गरिएको छ । बर्सेनि आकर्षण बढ्न थालेपछि खेती गर्नेको सङ्ख्या बढ्दै गएको किसान रामकृष्ण खड्काले बताउनुभयो । 

८० रोपनी जग्गाबाट सुरु गरिएको केरा खेती अहिले अन्यत्र पनि विस्तार हुन थालेको छ । अरू खेतीजस्तो झन्झटिलो र धेरै मेहनत गर्नु नपर्ने भएकाले व्यावसायिक रूपमै सञ्चालन गर्न थालेको अध्यक्ष खड्काले बताउनुभयो । 

मलजल राम्ररी गर्न सकेमा एउटै घरीमा दुई सयभन्दा बढी केरा फल्छ । अरू बालीजस्तो बाँदर, मृग, दुम्सी र कालिजले दुःख नदिने भएकाले धेरैको आकर्षण बढ्न थालेको छ । 

उनीहरूले अहिले स्थानीय मुङ्ग्रे र जी ९ जातको केरा लगाएका छन् । ठाउँ र माटाका कारण केरा खेती फस्टाउन थालेपछि स्थानीय पनि बढी आकर्षित हुन थालेका छन् । अध्यक्ष खड्काले भन्नुभयो, “आठ वर्ष इजरायलमा गरेको गुलामी मन नपरेपछि स्वदेश फर्केर केरा खेती रोजेको हुँ ।” 

युवा बिदेसिएपछि बाँझो भएको जग्गालाई सदुपयोग गर्ने सोच पलायो । परनिर्भरबाट आत्मनिर्भर बनाउनु पनि छ । आफ्नो गाउँ हराभरा बनाउँदै आर्थिक रूपमा मजबुत भएर विदेश पलायनलाई रोक्न सकिन्छ भन्ने दृढ विश्वास पलाएको छ । 

सरकारले होस्टेमा हैँसे गरिदिए सुनमा सुगन्ध हुने आशा गरिएको छ । सुरुमा बागमती प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्र रापेछापले ७० प्रतिशत अनुदान र हाम्रो ३० प्रतिशत लगानीमा गरेको केरा खेतीले उत्साहित बनाएको अध्यक्ष खड्काले बताउनुभयो ।