दुवै खुट्टाको घुँडाको हड्डी खिइएर बाङ्गो भएपछि हिँड्नसमेत निकै कठिन अवस्थामा पुगेका बेलबहादुर कुँवर उपचारको पर्खाइमा हुनुहुन्छ । बेनी नगरपालिका–२, खबराको बिराहचौरका कुँवरका लागि आर्थिक अभाव हुँदा पछिल्लो दुई वर्षदेखि उपचार त्यसै रोकिएको छ । कुँवरले भन्नुभयो, “चार वर्षअगाडिसम्म सबै ठिक थियो । त्यसपछि विस्तारै घुँडामा समस्या हुँदै गयो र अहिले यस्तो अवस्थामा पुगेको छु ।” पोखरास्थित गण्डकी अस्पतालमा दुई वर्षअगाडि उपचारका लागि पुग्दा घुँडाको हड्डी खिइएकाले त्यसको अपरेसन गरेर फेर्नुपर्ने र १२ लाखभन्दा बढी खर्च लाग्ने भनेपछि आफूसँग उपचार गर्ने पैसा नहुँदा फर्केर घरमै बस्न थालेको उहाँको भनाइ छ । म ठिक हुँदा अरूलाई पनि सहयोग गर्ने गर्थें तर आफैँ यस्तो हुँदा कसैले केही सहयोग गरे ठिकै छ भनेर बसेको छु । कहीँ कतैबाट केही भए त कम्तीमा उपचार गर्न पाए सहज जिन्दगी जिउन सहज हुने थियो होला तर आफूसँग पैसा छैन कसरी उपचार गरौँ । सामान्य आर्थिक अवस्था भएका बेलबहादुर कुँवरको बायाँ आँखाको दृष्टिसमेत गुमेको छ भने दायाँ आँखाले अलिक थोरै मात्रै देख्ने गरेको छिमेकी घनश्याम सापकोटाले बताउनुभयो । बेलबहादुरकी श्रीमती देवीकलाको पनि बायाँ आँखाले अलि अलि देख्ने गरेको भए पनि दायाँ आँखाले भने केही पनि देख्दैन । गाउँघरमा केही लिन भनेर निस्किनुभयो भने जाने भनेको एकातिर हुन्छ अर्कैतिर पुग्ने गरेको सापकोटाले सुनाउनुभयो ।
नवलपरासीपूर्वको गैँडाकोटमा अवस्थित भृकुटी कागज कारखाना लिमिटेडका मजदुरले कारखाना बन्द हुनुभन्दाअघिको तलबभत्ता पाउने भएका छन्। १३ वर्षदेखि बन्द भृकुुटी कागज कारखाना अहिले खण्डहरमा परिणत भइसकेको छ भने मेसिन बिग्रिसकेका छन्। यहाँ कार्यरत मजदुरले कारखाना बन्द हुनुअघिको तलबभत्ता पनि पाएका थिएनन् । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठले कारखाना व्यवस्थापन सहमत भएकाले आगामी असार मसान्तसम्म मजदुरले तलब पाउने बताउनुभयो ।
लेबनानको सीमाक्षेत्रमा रहेको एउटा गाउँमा च्याउ फर्ममा काम गर्दै गर्दा साइरन बज्यो कि बङ्करमा जान्थ्यौं । यसरी दुई तिन दिनसम्म बित्यो त्यसपछि सुरक्षित क्षेत्रमा गयौँ तर पनि सुरक्षित नभएपछि त्यसपछि हामी त्रसित भयौँ शुक्रवार इजरायलबाट नेपाल फर्कनु भएका रुपन्देहीका शिव शङ्कर लोनीयाले भन्नुभयो । उहाँ त्रिभुवन विश्वविद्यालयबाट कृषि अध्ययनका लागि इजरायल जानुभएका उहाँ भन्नुहुन्छ, इजरायल देशनै सुरक्षित नभएपछि घर फर्किएका हौ । सानो देश भए पनि छिमेकीसँग राम्रो सम्बन्ध नभएकाले पनि जहिल्यै लडाइ र आक्रमण हुने गरेको उहाँको अनुभव छ ।
दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुलीमा किसानले उत्पादन गरेका तरकारी र फलफूल राख्नका लागि निर्माण भएको चिस्यान केन्द्र प्रयोगमा नआउँदै बिग्रिएको छ । गलत डिजाइन र उपयुक्त ठाउँ छनोट नगरी चिस्यान केन्द्र बनाउँदा निर्माण भएको एक वर्ष नबित्दै भवन बिग्रिएको हो ।
कर्णालीका १० जिल्लामा ३४ हजार ६७१ बालबालिकामा पूर्ण खोप लगाइएपछि बिहीबार पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्कबहादुर पोख्रेल, स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागका महानिर्देशक सङ्गीता मिश्र, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काको उपस्थितिमा पूर्ण खोपयुक्त प्रदेश घोषणा गरिएको छ । मन्त्री पोख्रेलले कर्णालीका सबै बालबालिकालाई अनिवार्य लगाइनुपर्ने सबै खोप लगाएपछि प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिएको जानकारी दिनुभयो ।
जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाले सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट खुला प्रतिस्पर्धाबाट गरेको छ । गाउँपालिका अध्यक्ष र जनप्रतिनिधिको नजिक भएको व्यक्तिले जिम्मेवारी पाउँदै आएको पुरानो परम्परालाई तोड्दै गाउँपालिकाले खुला प्रतिस्पर्धा गराएर प्रधानाध्यापकको छनोट गरेको हो । पूर्वजनप्रतिनिधि ध्वजबहादुर शाहीले पालिकाले यस्तै मन जित्ने र निःस्वार्थ काम गर्नुपर्ने सुझाव दिनुभयो । प्रधानाध्यापकको छनोट जुन असल नियतबाट भएको छ, त्यसप्रति धन्यवाद व्यक्त गर्दै उहाँले अन्य पालिकाले पनि यस्तै गर्नुपर्नेमा जोड दिनुभयो ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७, अमलटाकुरास्थित कृषि क्याम्पसले सम्बन्धन नपाउँदा अत्याधुनिक भवन प्रयोगविहीन बनेको छ। कृषि क्याम्पस सञ्चालनका लागि सो स्थानमा २०७५ साल भदौदेखि भौतिक संरचना निर्माणको काम थालिएको थियो। हाल त्यहाँ दुई वटा भवन निर्माण सम्पन्न भएका छन्। उक्त प्रस्तावित क्याम्पस सञ्चालनका लागि बजेट जुटाउन महायज्ञ सञ्चालन गरिएको थियो। २०७६ साल कात्तिक २२ देखि २९ गतेसम्म महायज्ञ लगाएर डेढ करोड रकम सङ्कलन गरिएको थियो । सो रकम भवन निर्माणका लागि जग्गा खरिदमा खर्च गरिएको जनाइएको छ ।
महेन्द्रनगरकी श्वेता भट्ट भन्नुहुन्छ, इजरायलको लडाइ प्रत्यक्ष हेरे । यो मेरो पहिलो अनुभव हो जीवनकै । एकदमै खुसी छु । यो उद्धार प्रक्रिया यति छिटो हुन्छ भन्ने कल्पना पनि गरेको थिएन । हामी त बाँचेर आयौँ । बाँकी साथीहरूको पनि छिटो उद्धार होस । उहाँले सरकारसँग आग्रह गर्नुभयो । हामी अव देशमै केही गर्नुपर्छ भन्ने सन्देश यो घटनाले दिएको उहाँ बताउनुहुन्छ ।
इजरायलमा हमासको आक्रमणपछि बेपत्ता हुनुभएका बैतडीका विपिन जोशी अझै सम्पर्कमा आउन सकेका छैनन् । बैतडीको दोगडाकेदार गाउँपालिका–१, रिमका विपिन जोशी भदौ अन्तिम साता इजरायल जानुभएको थियो । हमासको आक्रमणपछि उहाँ शनिबारदेखि सम्पर्कविहीन हुनुहुन्छ ।
दसैँको समयमा नेपालमा खाइने स्थानीय रैथाने खानाका परिकार होटल, रेस्टुराँको मेनुमै राखेर होटल सङ्घ नेपाल (हान) ले रैथाने खाना प्रवर्धन गर्ने भएको छ । दसैँको बिदामा कतिपय रेस्टुराँसमेत पूर्ण रूपमा सञ्चालनमा नआउने भएकाले होटलहरूले घर–घरमा खाइने खाना नेपाल घुम्न आएका विदेशी पाहुनालाई विशेष छुटका साथ पस्कने हानका सदस्य होटलहरूले जनाएका छन् । उक्त कार्यक्रम असोज २८ देखि कात्तिक ११ सम्म हुने हानले उल्लेख गरेको छ ।
मौसममा सुधार आएसँगै बिहीबारदेखि लुक्ला उडान पुनः सुचारु भएको छ । प्रतिकूल मौसमका कारण पाँच दिनदेखि लुक्ला–रामेछाप उडान प्रभावित हुन पुगेको थियो । मौसममा सुधार आएपछि बिहीबार रामेछापको मन्थली विमानस्थलबाट सोलुखम्बुको तेन्जिङ हिलारी विमानस्थलमा ६२ वटा जहाज ओहोरदोहोर गरेका छन् । त्यस्तै बिहीबार दिनभर ८० भन्दा बढी पटक हेलिकोप्टरले दोहोरो उडान गरेको लुक्ला विमानस्थल कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात कार्यालयमा बिचौलिया निषेध गर्न निर्देशन दिनुभएको छ । सहयोगका नाममा बिचौलियाले सेवाग्राहीलाई शोषण गर्नुका साथै सरकारी कामकारबाहीबारे नकारात्मक भ्रम फैलाउने काम भएकाले निषेध गर्न यातायात कार्यालयलाई मन्त्री ज्वालाले निर्देशन दिनुभएको हो ।
हमासले हानेको ग्रिनेड नेपाली विद्यार्थी विपिन जोशीले टिपेर उतै फालिदिए । १७ जना नेपाली बसेको कोठामा आएको मिसाइल जोशीले नफालेको भए सबै जना बच्ने थिएन । तर विपिन जोशी हाल सम्पर्क विहीन छन् । हाल हमासले विपिनलाई लगेको इजरायलबाट नेपाली फर्कनु भएका नेपाली विद्यार्थी बिबुशा अधिकारीले जानकारी दिनुभयो ।
चलचित्र ‘महाजात्रा’ निर्माणअगावै विदेशमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ । अस्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारतबाहेक अन्य मुलुकमा प्रदर्शन अधिकार खरिद गर्नुभएको छ ।
इजरायलमा अध्ययन गरिरहेका २५४ जना नेपाली विद्यार्थीलाई सरकारले उद्धार गरेर काठमाडौँ ल्याएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार परराष्ट्र मन्त्री नारायणप्रसाद साउद आफैँ चार्टर विमान लिएर राजधानी तेल अबिब पुग्नु भएको थियो।