आगामी वर्ष २०८० सालका लागि सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा शुक्रबार साँझ भएको भेटवार्तामा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका निजी स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
अत्यावश्यक र संवेदनशील क्षेत्रका रूपमा रहेको बैङ्किङ क्षेत्र र कर्मचारीमाथि साङ्घातिक आक्रमण हुन थालेपछि कर्मचारी चिन्तित र आतङ्कित बनेका छन् । यस्ता घटना बढ्दै जाने हो भने समग्र बैङ्किङ क्षेत्रको मनोबल खस्किने र यसले अर्थतन्त्रलाई समेत सङ्कटमा पार्ने उनीहरूको भनाइ छ ।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।
साङ्गीतिक महोत्सव ‘इकोज इन द भ्याली’ को सातौँ संस्करण सुरु भएको छ। टेकुस्थित पचली भैरव मन्दिरबाट शुक्रबार सुरु भएको यस दुईदिने महोत्सव शनिबार असन क्षेत्रमा विशेष साङ्गीतिक कार्यक्रम, विविध स्टलसहित हुनेछ। महोत्सवमा सङ्गीत कार्यशाला, सङ्गीत सम्मेलन, हेरिटेज वाक्, साङ्गीतिक चलचित्र प्रदर्शनी र नेवाः शैलीका भजन स्टल राखिने छ। साथै बालबालिकाका कथा वाचन, पुस्तक बस, रञ्जना लिपि लेखन, सङ्ग्रहालय भ्रमण गराइनेछ।
चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ को शुक्रबार पशुपतिनाथ मन्दिरमा मुहूर्त गरिएको छ। चलचित्रको छायाङ्कन चैत १० देखि सुरु हुने निर्देशक दीपेन्द्र के खनालले बताउनुभयो। उहाँले भन्नुभयो ४० दिनको तालिकासहित चलचित्रको छायाङ्कन सुरु गरिएको हो।
शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जय हो’ को बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ। टेक पौरखी राईको निर्देशनमा निर्माण हुने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ र अथिति कलाकारमा रोहित रुम्बालगायतको अभिनय रहनेछ।
युवापुस्ताले आफूले प्रयोग गर्ने सामानलाई पनि फेसनकै रूपमा हेर्ने गरेका छन्। लत्ताकपडाले मात्र नभएर सडकमा हुइँकिने मोटरसाइकल तथा स्कुटरका प्रयोगकर्ताले हेल्मेटलाई पनि फेसनकै रूपमा लिने गरेका छन्। बजारमा आएका दर्जनौँ स्टाइलका हेल्मेटको कारणले पनि होला, अहिले यसको फेसनमा युवापुस्ता लोभिएका छन्। फरक–फरक डिजाइनका हेल्मेट उपलब्ध हुन थालेपछि यसलाई सुरक्षाका लागि मात्र नभई फेसनका रूपमा पनि प्रयोग गर्ने लहर चल्न थालेको छ।
वैदेशिक रोजगार विभागले गन्तव्य देशका रोजगारदातालाई आफ्नो सफ्टवेयर ‘एफईआईएमएस’ (वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली)मा पहुँच (एक्सेस) दिएको छ । पहिले रोजगारदाताले नेपालबाट श्रमिकको माग गर्न गन्तव्य देशमा रहेको नेपाली दूतावासमै गएर कागजात पेस गर्नुपथ्र्यो, अहिले उक्त प्रक्रिया रोजगारदाताका लागि झन्झटिलो भएको भन्दै विभागकै सफ्टवेयरमा एक्सेस दिएको हो । भौतिक उपस्थिति हुँदा दूतावासका कर्मचारी र रोजगारदाताबीच स्वार्थको मोलमोलाइ हुने गरेको आरोप पनि लाग्दै आएको थियो । यसले प्रक्रिया थप पारदर्शी हुने बताइएको छ ।
विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका १० वटा आङ्गिक क्याम्पसमा निर्धारित मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नहुने भएको छ । त्रिविले ६२ वटा आङ्गिक र एक हजारभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गते स्ववियुको निर्वाचन गर्दै छ तर विद्यार्थी सङ्गठनले त्रिविले तोकेको समयभन्दा पछाडि विद्यार्थी भर्ना गरेको भन्दै एकअर्कालाई दोष लगाएर तालाबन्दीमा उत्रेपछि ती क्याम्पसमा तत्कालका लागि निर्वाचन टरेको हो ।
नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ ।
माघको तुलनामा फागुनमा झन्डै दोब्बर विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुनमा १३ हजार ९४५ जनाले एनओसी लिएका छन् । माघमा अनुमतिपत्र लिनेको सङ्ख्या सात हजार ६१८ थियो । शाखाका प्रमुख वासुदेव वस्तीले जापानमा भाषा अध्ययनका लागि खुला भएकाले फागुनमा एनओसी लिनेहरूको सङ्ख्या बढेको हुन सक्ने बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् र सातै प्रदेश सभा सदस्यको सम्मानमा भोलि शनिबार बिहान ९ बजे राष्ट्रपति भवनमा चियापान समारोहको आयोजना गर्नुभएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पिकअप भ्यान दुर्घटना हुँदा तीन जना यात्रु घाइते भएका छन्। फुङ्लिङ–पाथीभरा सडक खण्डअन्तर्गत सुकेटार नजिक बा ११ च २२७६ नम्बरको पिकअप शुक्रबार साँझपख दुर्घटना भएको हो।
राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँका भारतीय समकक्षी द्रौपदी मुर्मूले साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।