बिहीबार बेलुकी साढे ४ बजेदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ। तिनाउ–५, हिउँदेखोला नजिकै सडक भाँसिएर अवरुद्ध बनेको सडक बिहीबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो।
त्रिशूली, १६ भदौ (रासस) : पासाङल्हामु सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ। सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक प्रयोगमा ल्याइएको छ। उक्त सडकखण्डमा ससाना सवारी साधनलाई मात्र आवतजावत गर्न भनिएको रसुवा प्रहरीले जनाएको छ। भासिएको सडकको मर्मतको काम सडक डिभिजन नुवाकोटबाट भइरहेको छ। उक्त स्थानमा १२ मिटर उचाइको करिब एकसय मिटर लम्बाइको पर्खाल निर्माण गरेर सडक बनाइरहेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो। उहाँका अनुसार अहिलेसम्म छ सय घनमिटर ढुङ्गा भर्ने काम सम्पन्न भएको छ। सडकको मर्मतको काम हाल २५ प्रतिशत सकिएकाले पूरा हुन भदौ महिना लाग्ने देखिन्छ। यो सडक सञ्चालन नहुँदा ससाना सवारीसाधनलाई धारापानीबाट बेलचउर हुँदै र ठूला सवारी साधनलाई बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी आवतजावत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अनुरोध गरेको छ।
काठमाडौं, भदौ १६ गते।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ ।कांग्रेस डडेल्धुरा क्षेत्रीय समितिको सर्वसम्मत निर्णयबाट उहाँ बिहीबार प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको हो।यसैगरी क्षेत्रीय समितिले प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फ (क) बाट कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँद र (ख) बाट सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरालाई सिफारिस गरेको छ।रासस
कैलालीस्थित मोहना नदीमा डुबेर बिहीबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका –३ का १० वर्षीय प्रिन्स राना र धनगढी उपमहानगरपालिका –९ खेदाका २७ वर्षीय रिसमान चौधरी नदीमा डुबेर बेपत्ता भएका हुन ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मङ्सिर ४ गतेको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । बिहीबार बैतडीको पाटनमा आयोजित कायकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सो दावी गर्नुभएको हो ।
सर्लाहीमा नेपाली कांग्रेसको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय कार्य समितिले मङ्सिर ४ को निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ तीन जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यतर्फ जङ्गीलाल राय, नागेन्द्रकुमार राय र जयहरि श्रेष्ठ (राजु) को नाम सिफारिस गरेको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिनुभयो ।
काठमाडौं महानगरलाई भृकुटीमण्डपमा रहेको फनपार्कले १७ लाख बढी कर तिरेको छ । महानगरले बुधबार दिएको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले १७ लाख ३६ हजार कर बुझाएको हो।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैशिक हबका रुपमा विकास गर्ने उद्घोष गर्नुभएको छ ।
शालिग्राम नेपाल । चितवन, भदौ १६ गते । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो ।अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा बाच्छाबाच्छीहरुमध्ये २० वटा गाईमा नेक कोलार लगाइएको थियो । आर्थिक वर्ष २०७८-७९ मा सुरु भएको नेक कोलार (गाईको घाँटीमा बाँधिने सेन्सर माला) कार्यक्रमलाई निरन्तरता दिन यो वर्षपनि बजेट विनियोजन गरिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।"नेक कोलार सिस्टमले फार्मका गाईको वास्तविक अवस्था सजिलै पहिचान गर्न सकिन्छ", पौडेलले भन्नुभयो, "गाईको स्वास्थ्य अवस्था, खाना खाएको नखाएको, श्वास प्रश्वासको अवस्था तथा गाई हिटमा आएको नआएको भन्नेलगायतका विभिन्न कुराहरु कम्प्युटरमै बसेर पत्ता लगाउन सकिने पद्धती हो । फार्म परिसरमा जडान गरिएको कन्ट्रोलरले गाईको घाँटीमा बाँधिएको सेन्सरसँग समन्वय गरेर डाटालाई कम्प्युटर समक्ष ल्याउने काम गर्छ ।"गोठमा रहेका गाईको समग्र अवस्था के छ भनेर देशको जुनकुनै ठाउँमा रहेरपनि मोबाईलमार्फत हेर्न सकिने भन्दै उहाँले यसले गाईकै गोठमा बसीरहनुपर्ने झन्झटलाई हटाएको बताउनुभयो । कार्यालयमा रहँदा र कार्यालयको कामको शिलशिलामा जिल्ला बाहिर जाँदासमेत सोही स्थानबाट गोठमा रहेका गाईको निगरानी गर्न मद्दत पुगेको पौडेलले बताउनुभयो । “घाँटीमा लगाएको मालाले उसको अवस्थाको बारेमा टावरमा पठाउँछ, टावरबाट कम्प्युटरमा, एप्समा पठाएर ग्राफ देखाउछ । त्यही ग्राफको सन्देश मोवाइलमा एसएमएस पठाएपछि थाहा पाइन्छ”, प्रमुख पौडेलले भन्नुभयो । पौडेलका अनुसार यसले समय, श्रम र ज्यालाकोसमेत बचत भएको छ ।राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डेले नेक कोलार (गाईको घाँटीमा बाधिने सेन्सर माला) लगाउनु पूर्व गाईको विवरण कम्प्युटरमा प्रवृष्टि गरिने र त्यसकै आधारमा कम्प्युटर तथा मोवाइल एप्लीकेशनमार्फत गाईको निगरानी गरिने काम भैरहेको बताउनुभयो । नेक कोलार इजरायलबाट भित्रिएको आधुनिक प्रविधि हो । यो सिस्टमलाई नेपालका केहि निजी फार्महरुलेसमेत प्रयोग गर्न सुरु गरेको उहाँले बताउनुभयो । कार्यालयका अनुसार एउटा गाईलाई यो प्रविधि जडान गर्न १६ हजार रुपियाँ लाग्छ । ललितपुरको खुमलटारमा रहेको संयुक्त रुपमा रहेको गाईभैंसी अनुसन्धान कार्यक्रम वि.स. २०७१ देखि अलगअलग भएको थियो । सोहि मितिदेखि राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवनको रामपुरमा आएको थियो । चितवनको रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा हाल जर्सी, होलीसीटीन, लुलु, अछामी, र तराई प्रजातीका गाई राखिएको छ ।एक करोड रुपियाँ राजश्व संकलन राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले एक वर्षमा एक करोड रुपियाँ राजश्व संकलन गरेको छ । गाईफार्मबाट दुध विक्री गरेरमा मात्रै ९० लाख रुपियाँ र दुग्धजन्य पदार्थहरुबाट १० लाख रुपियाँ राजश्व संकलन गरेको हो । आर्थिक वर्ष २०७८-७९ मा एक लाख ७५ हजार लिटर दुध बिक्री भएको छ। ती दुध प्रतिलिटर ६४ रुपियाँमा विक्री गरिएको कार्यालयले जानकारी दिएको छ । उत्पादन भएको दुध तीन दिन चिस्यान केन्द्रमा राखिने र बजार पठाउने गरिएको छ । यहाँ उत्पादन भएको दुध डीडीसिमा पठाउने गरेको कार्यालयले जानकारी दिएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा कार्यरत जनशक्तिका लागि निर्माण गरिएको ६० घर धुरी छन् । ती घरमा यहीबाट उत्पादन भएको गोवरग्यास प्लान्टबाट खाना पकाउने गरिएको अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख पौडेलले जानकारी दिनुभयो । दुई सय घनमिटरको ग्यास प्लान्टबाट उत्पादन भएको उर्जाले खाना पकाउदै आएको छ । यहाँ एलपी ग्यास प्रयोग गरिएको छैन ।
काठमाडौं, भदौ १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकलाई सम्मान गर्नुभएको छ । बिहीबार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरेर उहाँले नेपाली चिकित्सा क्षेत्रमा स्मरणयोग्य काम गर्नुभएका १५ जना चिकित्सकलाई विशेष सम्मान गर्नुभएको हो ।नेपाल चिकित्सक संघको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँरुलाई ‘वुमन इन मेडिसिन इन नेपाल २०२२’ अवार्ड प्रदान गर्नुभएको हो । संघले गत वर्षदेखि महिला चिकित्सकलाई ‘वुमन इन मेडिसिन इन नेपाल अवार्ड’ दिन सुरु गरेको थियो । ‘वुमन इन मेडिसिन अवार्ड’ पाउनेमा आस्मा राणा, वसुधा खनाल, कमला बुढाथोकी, लक्ष्मी नानी श्रेष्ठ, मिरा मल्ल, मिथिला शर्मा अधिकारी, रोशना अमात्य, स्वराज प्रधान राजभण्डारी, तीर्थ राणा र उषा शाह हुनुहुन्छ । त्यस्तै ‘वुमन इन मेडिसिन लाइफटाइम’ अवार्ड पाउने विमला ओझा, गीता बस्न्यात, नारायणी श्रेष्ठ, लगायतका चिकित्सक हुनुहुन्छ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ –५, हिउँदे खोला नजिकै सडक भाँसिदा यातायात अबरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको हिउँदे खोला नजिकै ४० मिटर सडक भाँसिदा बिहीबार बेलुकी साढे ४ बजेदेखि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ। बिहीबार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्नुहुँदै उहाँले गिरीलाई भर्सटायल, जिनियस नेताको रुपमासमेत सम्झना गर्नुभयो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रीलंकामा आयोजना हुने साफ यू–१७ पुरुष च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको छ ।
काठमाडौं, भदौ १६ गते। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागि क्रमशः वातावरण बन्दै गएको बताउनुभएको छ। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको छलफलमा उहाँले नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बनेको बताउनुभयो।विद्युतको बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउने तयारी भइरहेको उहाँको भनाइ थियो। सानो मात्रामा भारतको बजार खुलेको जानकारी दिँदै उहाँले निकट भविष्यमा नै बङ्गलादेशको बजारसमेत नेपालका लागि प्रशस्त हुने विश्वास व्यक्त गर्नुभयो।उहाँले भारतीय लगानीकर्ता कम्पनी ग्रान्धी मल्लिाकार्जुन राव (जिएमआर) ले उत्पादन गर्ने मध्येको पाँच सय मेगावाट बराबरको बिजुली बङ्गलादेश पुगेको खण्डमा त्यसले नेपालको थप बिजुली लैजानका लागि समेत मार्ग खुल्ने बताउनुभयो। जिएमआरको म्याद पटक–पटक किन थपिएको भनेर प्रश्न पनि उठ्ने गरेको उल्लेख गर्दै उहाँले बङ्गलादेशको बजार खुल्ने विश्वासका साथ सरकारले दीर्घकालीन हित हेरेर निर्णय गरेको बताउनुभयो।विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो। आयोजनाको म्याद पटक–पटक थप भए पनि थप प्रगति हुन सकेको छैन। पछिल्लो पटक पनि सरकारले थप दुई वर्ष म्याद थप गरेको छ। जिएमआरले पाँच सय मेगावाट बिजुली बङ्गलादेश निर्यातका लागि विद्युत् खरिद सम्झौताको तयारी भइरहेको जनाएको छ। उपमहासचिव पुनले भारतको अर्को कम्पनी सतलजले निर्माण गरिरहेको नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाले पनि विद्युत् निकासीका लागि थप वातावरण बनाउने भएकाले सरकारले दीर्घकालीन हितका साथ काम गरिरहेको बताउनुभयो।सो कम्पनीले पनि बिजुली निर्यातका लागि पूर्वाधार निर्माण गरिरहेको छ। ती आयोजनाको बिजुली भारत निर्यात हुन थालेपछि नेपाल सरकारले पनि आफ्नातर्फबाट कुरा गर्न थप सहज हुने र बहसका लागि समेत सहज हुने उपमहासचिव पुनको भनाइ छ। “भारतीय कम्पनीको लिने, हाम्रो किन नलिने भन्ने प्रश्न उठछ। त्यसबाट हामीलाई फाइदा हुन्छ”, उहाँले भन्नुभयो। हाल नेपाल विद्युत् प्राधिकरणले तीन सय ६४ मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको सन्दर्भ जोड्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहनुभएका उपमहासचिव पुनले निजी क्षेत्रलाई पनि बिजुली व्यापारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताउनुभयो।उहाँले बङ्गलादेशले सन् २०४० सम्म नौ हजार मेगावाट बराबरको बिजुली लैजाने सहमति गरेको उल्लेख गर्नुभयो। नेपालमा उत्पादित बिजुली आन्तरिक खपतका लागि नै प्रयोग गरिने उहाँको भनाइ छ। व्यापार घाटा घटाउन तथा पेट्रोलियम पदार्थको खपत घटाउनका लागि विद्युतीय सवारी साधनको प्रयोग नै उपयुक्त भएको उहाँको भनाइ छ।यस्तै, प्राकृतिक स्रोतको अधिकतम उपभोग गर्ने लक्ष्यका साथ सरकारले जलविद्युत् आयोजनामा पूर्ण क्षमताअनुसार विकास गर्ने कार्य ‘क्यू’ को क्षमतालाई घटाइएको उहाँको भनाइ छ। वर्षायामको बिजुलीको बजार उपलब्ध हुने अवस्था देखिएपछि कानूनी प्रबन्धमा सुधार भएको पूर्वमन्त्री पुनको भनाइ छ। रासस