• १३ साउन २०८१, आइतबार

'नेक कोलार सिस्टम' प्रभावकारी बन्दै

blog

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनको फार्ममा गाईको गलामा कोलार सिस्टम जडान गर्दै कर्मचारी ।

शालिग्राम नेपाल । 

चितवन, भदौ १६ गते । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनले सुरु गरेको नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) प्रभावकारी बन्दै गएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गत रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले गत वैशाख महिनादेखि सुरु गरेको नेक कोलार सिस्टम प्रभावकारी बन्दै गएको देखिएको हो ।

अनुसन्धान कार्यक्रमको फार्ममा रहेका २०५ वटा गाई तथा बाच्छाबाच्छीहरुमध्ये २० वटा गाईमा नेक कोलार लगाइएको थियो । आर्थिक वर्ष २०७८-७९ मा सुरु भएको नेक कोलार (गाईको घाँटीमा बाँधिने सेन्सर माला) कार्यक्रमलाई निरन्तरता दिन यो वर्षपनि बजेट विनियोजन गरिएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।

"नेक कोलार सिस्टमले फार्मका गाईको वास्तविक अवस्था सजिलै पहिचान गर्न सकिन्छ", पौडेलले भन्नुभयो, "गाईको स्वास्थ्य अवस्था, खाना खाएको नखाएको, श्वास प्रश्वासको अवस्था तथा गाई हिटमा आएको नआएको भन्नेलगायतका विभिन्न कुराहरु कम्प्युटरमै बसेर पत्ता लगाउन सकिने पद्धती हो । फार्म परिसरमा जडान गरिएको कन्ट्रोलरले गाईको घाँटीमा बाँधिएको सेन्सरसँग समन्वय गरेर डाटालाई कम्प्युटर समक्ष ल्याउने काम गर्छ ।"

गोठमा रहेका गाईको समग्र अवस्था के छ भनेर देशको जुनकुनै ठाउँमा रहेरपनि मोबाईलमार्फत हेर्न सकिने भन्दै उहाँले यसले गाईकै गोठमा बसीरहनुपर्ने झन्झटलाई हटाएको बताउनुभयो । 

कार्यालयमा रहँदा र कार्यालयको कामको शिलशिलामा जिल्ला बाहिर जाँदासमेत सोही स्थानबाट गोठमा रहेका गाईको निगरानी गर्न मद्दत पुगेको पौडेलले बताउनुभयो । “घाँटीमा लगाएको मालाले उसको अवस्थाको बारेमा टावरमा पठाउँछ, टावरबाट कम्प्युटरमा, एप्समा पठाएर ग्राफ देखाउछ । त्यही ग्राफको सन्देश मोवाइलमा एसएमएस पठाएपछि थाहा पाइन्छ”, प्रमुख पौडेलले भन्नुभयो । पौडेलका अनुसार यसले समय, श्रम र ज्यालाकोसमेत बचत भएको छ  ।

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका प्राविधिक अधिकृत डा. यज्ञराज पाण्डेले नेक कोलार (गाईको घाँटीमा बाधिने सेन्सर माला) लगाउनु पूर्व गाईको विवरण कम्प्युटरमा प्रवृष्टि गरिने र त्यसकै आधारमा कम्प्युटर तथा मोवाइल एप्लीकेशनमार्फत गाईको निगरानी गरिने काम भैरहेको बताउनुभयो । 

नेक कोलार इजरायलबाट भित्रिएको आधुनिक प्रविधि हो । यो सिस्टमलाई नेपालका केहि निजी फार्महरुलेसमेत प्रयोग गर्न सुरु गरेको उहाँले बताउनुभयो । कार्यालयका अनुसार एउटा गाईलाई यो प्रविधि जडान गर्न १६ हजार रुपियाँ लाग्छ । 

ललितपुरको खुमलटारमा रहेको संयुक्त रुपमा रहेको गाईभैंसी अनुसन्धान कार्यक्रम वि.स. २०७१ देखि अलगअलग भएको थियो । सोहि मितिदेखि राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम चितवनको रामपुरमा आएको थियो । चितवनको रामपुरमा रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमको गोठमा हाल जर्सी, होलीसीटीन, लुलु, अछामी, र तराई प्रजातीका गाई राखिएको छ ।

एक करोड रुपियाँ राजश्व संकलन 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले एक वर्षमा एक करोड रुपियाँ राजश्व संकलन गरेको छ । गाईफार्मबाट दुध विक्री गरेरमा मात्रै ९० लाख रुपियाँ र दुग्धजन्य पदार्थहरुबाट १० लाख रुपियाँ राजश्व संकलन गरेको हो ।  

आर्थिक वर्ष २०७८-७९ मा एक लाख ७५ हजार लिटर दुध बिक्री भएको छ। ती दुध प्रतिलिटर ६४ रुपियाँमा विक्री गरिएको कार्यालयले जानकारी दिएको छ । उत्पादन भएको दुध तीन दिन चिस्यान केन्द्रमा राखिने र बजार पठाउने गरिएको छ । यहाँ उत्पादन भएको दुध डीडीसिमा पठाउने गरेको कार्यालयले जानकारी दिएको छ । 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा कार्यरत जनशक्तिका लागि निर्माण गरिएको ६० घर धुरी छन् । ती घरमा यहीबाट उत्पादन भएको गोवरग्यास प्लान्टबाट खाना पकाउने गरिएको अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख  पौडेलले जानकारी दिनुभयो । दुई सय घनमिटरको ग्यास प्लान्टबाट उत्पादन भएको उर्जाले खाना पकाउदै आएको छ । यहाँ एलपी ग्यास प्रयोग गरिएको छैन ।