• २२ असार २०८१, शनिबार

पासाङल्हामु सडकको रसुवा खण्ड अझै अवरुद्ध

blog

फाइल तस्बिर

त्रिशूली, १६ भदौ (रासस) : पासाङल्हामु सडकखण्डअन्तर्गत रसुवाको उत्तरगया–५ बनुवा घुम्तीमा सडक भासिएर गत साउन २४ गते राति पहिरो गएपछि उक्त सडक हालसम्म अवरुद्ध छ। सोही कारण वैकल्पिक सडक धारापानीबाट तारुके हुँदै बेल चउर निस्कने सडक प्रयोगमा ल्याइएको छ। 

उक्त सडकखण्डमा ससाना सवारी साधनलाई मात्र आवतजावत गर्न भनिएको रसुवा प्रहरीले जनाएको छ। भासिएको सडकको मर्मतको काम सडक डिभिजन नुवाकोटबाट भइरहेको छ। उक्त स्थानमा १२ मिटर उचाइको करिब एकसय मिटर लम्बाइको पर्खाल निर्माण गरेर सडक बनाइरहेको डिभिजन प्रमुख अमृतमणि रिमालले जानकारी दिनुभयो। 

उहाँका अनुसार अहिलेसम्म छ सय घनमिटर ढुङ्गा भर्ने काम सम्पन्न भएको छ। सडकको मर्मतको काम हाल २५ प्रतिशत सकिएकाले पूरा हुन भदौ महिना लाग्ने देखिन्छ। यो सडक सञ्चालन नहुँदा ससाना सवारीसाधनलाई धारापानीबाट बेलचउर हुँदै र ठूला सवारी साधनलाई बेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी आवतजावत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाले अनुरोध गरेको छ।