प्रत्येक वर्ष श्रावणशुक्ल पञ्चमीका दिन नागको पूजाआजा गरी नागपञ्चमी मनाइन्छ । यस दिन घरको मूलढोकामाथि गाईको गोबरले नागको चित्र या तस्बिर टाँसी धानको लावासहित कपासले नागको खुट्टा बनाई दुध, दुबो, नैवेद्य, फलफूल, दक्षिणासहित नागराजालाई पूजाआजा गरी प्रसन्न पारिन्छ । नाग देवतालाई धूपबत्ती गरिसकेपछि निम्न श्लोक पढिन्छ : ‘अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च । सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः । मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण सरदरकै स्थानमा रहेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्रीप्रसाद पाण्डेले हवाई दुर्घटनाका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरूसँग छलफल गर्नुभएको छ ।
दिवाकर भट्टराईको निर्देशनमा चलचित्र ‘नरसिंहाः अवतार’ को बिहीबार घोषणा गरिएको छ । निर्देशक भट्टराईका अनुसार नरसिंहाको अर्थ– भगवान् विष्णुको उग्र अवतार हो । नरसिंह रूप यो दस अवतारमध्ये चौथो अवतार हो । नरसिंह नामका अनुसार यस अवतारमा भगवान्को आधा पुरुषको र आधा शरीर सिंहको धारण गरिएको थियो । सो चलचित्रमा कलाकारका रूपमा राजेश हमाललाई मात्र हालसम्म अनुबन्ध गरिएको छ ।
कीर्तिपुर नगरव्यापी सङ्गीत महोत्सव ११४४ बिहीबार सम्पन्न गरिएको छ । कीर्तिपुरको पांगास्थित कीर्तिपुर सिनेप्लेक्स हलमा बिहीबार ४० जना कलाकारले विभिन्न भाषामा गीत र नृत्य देखाएर प्रस्तुत गर्नुभएको छ ।
मिथिला क्षेत्रमा साउनका बेला झुलापर्वको चलहपहल जताततै देख्न सकिन्छ । बुधबार बेलुकादेखि सुरु भएको झुलाको रौनक विगत जस्तो यस पटक देखिन्न । धार्मिक मठमन्दिरमा यो पर्व जनै पूर्णिमासम्म सञ्चालन हुने गर्दछ । झुलापर्वलाई तराईबाहेक अन्यत्रसमेत हर्षोल्लाससाथ मनाइने गरिएको छ ।
प्रदीपकुमार रसाइलीको निर्देशनमा तिज गीतको भिडियो ‘बजाउँदै चुरा’ सार्वजनिक भएको छ । सो गीतमा गीता अधिकारी र सारिका घिमिरेको स्वर रहेको छ । गीतमा योगेश काजी शाहको सङ्गीत, सोमिक गौतमको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा रमा थपलिया, प्रदीपकुमार रसाइली, मुना भुर्तेल र रेमोना लोहारको अभिनय रहेको छ ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।
सुदूरपश्चिममा चालु आर्थिक वर्षको सुरुवातबाट रोकिएको कर सङ्कलनको कार्य बिहीबारबाट फेरि सुरु भएको छ । प्रदेश सरकारले ‘प्रदेश सामूहिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ जारी गरेपछि कर सङ्कलनको कार्य सुरु भएको हो । साउन १ देखि यो कार्य रोकिएको थियो । बिहीबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले अध्यादेश पारित गरेलगत्तै प्रमाणीकरण र राजपत्रमा प्रकाशितका लागि सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय डोटीमा हालसम्म जम्मा छ हजार ५५१ उद्योग दर्ता छन् । कार्यालयका अनुसार उद्योगतर्फ तीन हजार ९८२ र वाणिज्यतर्फ दुई हजार ५६९ फर्म दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म दुई हजार ४२४ फर्म मात्रै नवीकरण गरिएको छ । विगत पाँच वर्षको तुलनामा दर्ता भएका व्यावसायिक फर्मको अनुपातमा नवीकरण भएको पाइँदैन । व्यवसायीले व्यावसायिक फर्म दर्ता गर्ने तर नवीकरण तथा अद्यावधिक गरेको पाइँदैन ।
काठमाडौँ उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) एकरूपता कायम राख्न सरकारले सबै पानी उद्योग तथा व्यावसायिक फर्मलाई निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्तिमार्फत पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिणामको पानीमा फरक फरक एमआरपी लगाई बिक्रीवितरण भएको भन्ने उजुरी विभागमा आएकाले मूल्यमा एकरूपता गर्न सबै व्यावसायिक फर्मलाई निर्देशन दिएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको प्राथमिकता निर्धारण गरेर बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । सम्बन्धित मन्त्रालयका सचिव, योजना र बजेट महाशाखाका प्रमुखसँग अर्थ मन्त्रालयमा भएको छुट्टाछुट्टै छलफलमा उहाँले राष्ट्रिय गौरवका, राष्ट्रिय महत्वका, अध्ययन सम्पन्न भएका, प्राथमिकता प्राप्त आयोजनालाई उच्च प्राथमिकता दिएर अघि बढाउन निर्देशन दिनुभएको हो । त्यस्तै राम्रो प्रतिफल दिने, सङ्घीय सरकारको कार्यक्षेत्र अन्तर्गतका र निर्माणाधीन आयोजनालाई पनि अघि बढाउन उहाँले निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार शिक्षा क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने ठोस कामसम्बन्धी छलफलमा उहाँले शिक्षामा प्राविधिक धारको हिस्सा ७० प्रतिशत हुनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल सरकारका सङ्घीय अस्पतालमा डेङ्गु रोगको उपचार निःशुल्क हुने भएको छ । डेङ्गुको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पतालमा डेङ्गुको निःशुल्क उपचारको व्यवस्था गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सङ्घीय अस्पतालमा डेङ्गु सङ्क्रमित बिरामीको उपचार निःशुल्क हुने बताउनुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. यदुचन्द्र घिमिरेले स्वास्थ्यमन्त्रीको निर्देशनमा सङ्घीय अस्पतालमा निःशुल्क डेङ्गुको उपचार गर्ने निर्णय भएको बताउनुभयो ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कारोबार भएको छ । लगातार रेकर्ड ब्रेक गरिरहेको डलरको मूल्यले बिहीबार पनि अघिल्लो दिनको रेकर्ड ब्रेक गरेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार बिहीबार एक डलरको मूल्य बिक्रीदरतर्फ १३४ रुपियाँ ६४ पैसामा कारोबार भएको छ भने खरिददर पनि १३४ रुपियाँ ०४ पैसामा कारोबार भएको छ ।