कीर्तिपुर, साउन २९ गते । कीर्तिपुरमा गाईजात्रामा महादेवकाे पात्रमा अभिनय गर्नुभएका गाेविन्द्र महर्जनकाे मृत्यु भएकाे छ । कीर्तिपुरकाे सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पाैडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्राेतले जनाएकाे हाे । जात्रामा सबैभन्दा लाेकप्रिय पात्रकाे रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेकाे द्यःपुखुमा डुब्नु भएकाे थियाे । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातलमा उपचारकाे लागि लगिएकाेमा त्यहाँ मृत घाेषणा गरिएकाे थियाे । गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नु भएकाे थियाे । साे जात्रामा धेरै जना पाैडी खेलेका थिए भने सयाैंले साे जात्रा हेरेका थिए । कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नु भएका महर्जनकाे थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएकाे थियाे । पत्रकार वीरेन्द्र शाक्यका अनुसार, सबै जना टाउको-खुट्टा लिने जात्रामा लागेकाे बेला महर्जन डुबेकाे हाे वा पाैडी खेलेकाे भन्ने नै अन्याेल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।
काठमाडौं, साउन २९ गते । आमिर खान अभिनित 'लाल सिंह चड्ढा' को रिलिजको तेस्रो दिन बक्स अफिस कलेक्सनमा सामान्य वृद्धि भएको छ । फिल्म रिलिज भएको दोस्रो दिन (शुक्रबार)को तुलनामा ‘लालसिंह चड्डा’को कारोबारमा २० प्रतिशत वृद्धि भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार (भारु) १८० करोडको बजेटमा बनेको ‘लाल सिंह चड्डा’ ले तेस्रो दिन करिब (भारु) ८.७५ करोडको व्यापार गरेको छ । यसअघि फिल्मले दोस्रो दिन ७.२६ करोड र पहिलो दिन ११.७ करोड कलेक्सन गरेको थियो । यस अनुसार फिल्मले भारतबाट तीन दिनमा अहिलेसम्म २७ करोड ७१ लाखको बक्स अफिस कलेक्सन गरेको छ ।
शान्ता अधिकारी चितवन, साउन २९ गते । रत्ननगर नगरपालिका १६ की एक छ वर्षीया बालिकाको सिँचाइ नहरमा खसेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीका अनुसार रत्ननगर नगरपालिका १६ एकता टोल बस्ने बिमल के.सीका छ वर्षीया छोरी संस्कृति के.सीको घर नजिकै नहरमा खसेर मृत्यु भएको हो । खेल्दाखेल्दै नहरमा खसेका ती बालिकालाई खोजतलासको क्रममा ४ घण्टापछि अन्दाजी तीन किलोमिटर टाढा सेवा केन्द्र टोल नजिकै अचेत अवस्थामा फेला पारी तत्काल उपचारको लागि स्थानीय गुञ्जमानसिंह अस्पताल लगिएकोमा त्यहाँ मृत घोषणा गरिएको हो ।घटना जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय, टाँडी र प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी टोलीले मुचुल्का तयार गरी शव पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाएको छ ।
मीना कँडेलकावासोती, साउन २९ गते । नेपाल विश्वविद्यालय स्थापनाका लागि उपयुक्त स्थान अध्ययनका लागि हुप्सेकोट गाउँपालिका र मध्यबिन्दु नगरपालिकाको स्थलगत अध्ययन गरिएको छ ।नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा.अर्जुन कार्कीसहितको विज्ञ टोली स्थलगत निरीक्षण गर्न सातांै पटक सो क्षेत्रमा पुगेकाले विश्वविद्यालय बन्ने सम्भावना बलियो बन्दै गएको बताइएको छ । विश्वविद्यालय स्थापनाका लागि हुप्सेकोट गाउपालिकाको वडा नम्वर २ र मध्यबिन्दु नगरपालिका वडा नम्वर ९ को भूभाग सहज हुने बताइएको छ । अन्य क्षेत्रको भन्दा यो क्षेत्रको सम्भावना उच्च बनेकाले आफूहरु विभिन्न चरणको छलफल र अध्ययनपछि विज्ञ टोलीसहित स्थलगत अध्ययनमा आएको डा. कार्कीले स्पष्ट पार्नुभयो ।पूर्व शिक्षामन्त्री माधव पौडेलले व्यवस्थापन, पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधारसँगै समाजप्रति जिम्मेवार, आलोचनात्मक चेतना भएको नागरिक उत्पादन गर्ने उद्देश्यसहित अगाडि बढेको बताउनुभयो ।विश्वविद्यालय स्थापनाका लागि स्थानीय पालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग गर्र्ने हुप्सेकोट गाउँपालिककाा अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।
काठमाडौं, साउन २९ गते। सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो कार्यक्रम गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। उहाँले मूलतः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीका लागि कांग्रेसका केन्द्रीय सदस्य एवम् नेताले जिल्लाको सम्पूर्ण साङ्गठनिक संरचनालाई नेतृत्व गर्ने उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, “मूलतः निर्वाचन केन्द्रित कार्यक्रम हो। केन्द्रीय सदस्य, नेताले जिल्लाको सम्पूर्ण साङ्गठानिक संरचनालाई गतिशील, जीवन्त र चुस्तदुरुस्त राख्नको लागि संवाद एवम् निर्देशन दिनुहुन्छ।” निर्वाचन लक्षित कार्यक्रम बुँदागत रुपमा गर्ने विषयमा आवश्यक बैठक बस्ने कार्य पनि नेताहरुले गर्नुहुने उहाँको भनाइ छ। उहाँले कांग्रेसले उचित समयमा निर्वाचन आयोगमा चुनावका लागि दल दर्ता गर्ने बताउनु हुँदै गठबन्धनका अन्य दलसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो। “सरकारमा रहेका सबै दलसँग मिलेर, समन्वय गरेर राजनीतिक स्थायित्व, विकास, शान्ति र सुव्यवस्था कायम गर्ने गरी कांग्रेस अगाडि बढ्छ”, पौडेलले भन्नुभयो। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।
जनै पूर्णिमाको अवसरमा पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता सुरु भएको छ । देउडा संस्कृत बचाउन आयोजना गरिएको प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले देउडा गाएर उद्घाटन गर्नुभएको थियो ।
कैलालीको मोहन्याल गाउँपालिका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीमाथि ४४ हजार रुपियाँ घुस लिएको आरोप लागेको छ।
मनाङ, साउन २९ गते। (रासस)। बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ। प्राङ्गारिक खाद्यपदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ। बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन्। सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन्। साहसिक खेल मन पराउने पर्यटकका लागि मनाङलाई मुख्य गन्तव्यस्थलकै रुपमा लिने गरिन्छ। अघिल्ला दुई वर्ष भने कोभिडको सङक्रमणले पर्यटक आगमन ठप्प भयो। गत आर्थिक वर्षमा भने कोभिडको सङ्क्रमण केही मत्थर हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटकको सङ्ख्या बढेको छ। आव २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्क देखिन्छ। यस अवधिमा नेपालमा भित्रिने कुल दुई लाख ८५ हजार तीन सय ६३ बाह्य पर्यटकमध्ये मनाङमा मात्रै सात हजार २० पर्यटक भित्रिए। आर्थिक वर्ष २०७८/७९ मा पुरुष चार हजार सातसय ४९ र महिला दुई हजार दुईसय ७० गरी कुल सात हजार २० बाह्य पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार गत आवको कात्तिक, चैत र वैशाखमा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए।अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति प्रवेश लिएको आधारमा यस तथ्याङ्क सङ्कलन गरिएको हो। आव २०७८/७९ को साउनमा दुई, भदौमा २०, असोजमा तीन सय २२, कात्तिकमा एक हजार १५, मङ्सिरमा तीनसय ६६, पुसमा ८६, माघमा ५१, फागुनमा पाँचसय २८, चैतमा दुई हजार ४७, वैशाखमा एक हजार नौसय ३६, जेठमा चारसय ८५ र असारमा एकसय ६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ। “जिल्लामा बाह्य पर्यटक भित्रिँदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ। बाह्य पर्यटकलाई अनुमतिविना प्रवेश दिइँदैन भने आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन। शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ। आव २०७७/७८ मा कोभिड सङ्क्रमणका कारण मनाङमा कुल छसय तीन बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ। जिल्लामा सबैभन्दा धेरै सार्क राष्ट्रबाट पर्यटक भित्रिएका छन्। वर्षायाममा सवारीसाधन आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको छ। सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक मनाङको भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ। अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन्।पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ पुग्ने गर्दछन्। थोरालाङ्ला पास गरी मुस्ताङ हुँदै पोखरा पुग्नेगरी अन्नपूर्ण पदमार्गमा केही पर्यटक पदयात्राका लागि आउने गर्छन्। अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ। काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन्। पर्यटकबाट चार लाख ५२ हजार राजस्व हिमाली जिल्ला मनाङमा भित्रिने पर्यटकबाट छ महिनाको अन्तरालमा रु चार लाख ५२ हजार राजस्व सङ्कलन भएको छ। सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेश गर्दा सो परिमाणको राजस्व सङ्कलन भएको हो। विश्वपर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्रको एकमा यस अन्नपूर्ण पदमार्ग मानिन्छ। जनवरीदेखि १४ जुनसम्म मनाङमा कूल पाँच हजार ५६ पर्यटकले प्रवेश गरेको एक्यापको पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिनुभयो। यस अवधिमा एक हजार छसय ६२ जना पर्यटकले मनास्लु र अन्नपूर्णमार्फत फर्किएका थिए। छ महिनाभित्र एकसय दुई पर्यटक अनुमतिबिना जिल्लामा प्रवेश गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार सार्क राष्ट्रका ४० जना र अन्य ६२ जना गरी एकसय दुई पर्यटक अनुमतिबिना नै मनाङ प्रवेश गरेको पाइएको छ। अनुमतिबिना मनाङ प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति दुई हजार र अन्य राष्ट्रबाट आएका पर्यटकलाई प्रतिव्यक्ति रु छ हजार जरिवाना लिएर प्रवेश गर्न दिइएको उहाँले बताउनुभयो। सार्क राष्ट्रका पर्यटकलाई रु एक हजार र अन्य मुलुकका पर्यटकलाई रु तीन हजार मनाङ प्रवेशका लागि शुल्क तोकिएको एक्यापले जनाएको छ। सोही अवधिमा मनाङमा पर्यटक आएका थिएनन्। कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै बिस्तारै चहलपहल हुन थालेको पनि पुनःकोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको छ।सडक मर्मत नहुँदा कठिन मनाङ यात्रा बाढीपहिराले क्षति पुर्याएको सडक खण्डको समयमा मर्मत हुन नसक्दा मनाङ भ्रमण गर्न चाहने पर्यटकल सास्ती खेप्नुपरेको छ। सडक मर्मतसम्भारका क्रममा वैकल्पिक सडक नहुँदा सामग्री ढुवानीमा समस्या हुने गरेको छ। भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गर्न समस्या भएको डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इञ्जिनीयर अच्युतविलास पन्तले बताउनुभयो। वैकल्पिक बाटो नहुँदा पनि मर्मतसम्भारमा अवरोध हुने गरेको उहाँले बताउनुभयो। “वर्षाको समय छ। वर्षाको क्रम जारी नै छ। जोखिम क्षेत्रमा पनि मर्मतसम्भारको काम गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो, “काम गर्ने प्रयास भइरहेको छ।” बेंसीशहर–चामे सडक खण्डको मर्मतसम्भार गर्ने सम्झौताको अवधि बाँकी रहेको पन्तले बताउनुभयो। उहाँका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मतसम्भार गर्ने अवधि छ। उक्त सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मतसम्भारका लागि तीन वटा ठेक्का परेको र समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको उहाँले बताउनुभयो। आगामी पाँच वर्षको अवधिमा डुम्रे/बेंसीशहर/चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे/बेंसीशहर/चामे सडक योजना कार्यालयका प्रमुख पन्तले बताउनुभयो। गतवर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिराले क्षति पु¥याएको थियो। बाढीपहिराले क्षति पुर्याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने भएको थियो। मनाङ आउने पर्यटकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन आवश्यक छ। आन्तरिक पर्यटकको पनि मनाङ रोजाइको केन्द्र बन्न पुगेको अवस्थामा स्थानीय, प्रदेश र सङ्घ सरकार प्रतिबद्ध भएर छिटो सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढ्न सक्नुपर्ने अवस्था छ। प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मनाङको मेरुदण्डको सडक बन्ने क्रममा भए पनि सोचअनुरुपको विकास हुन नसकेको बताउनुहुन्छ। मनाङका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा आउने पर्यटकलाई सहज यात्रा बनाउनु मुख्य चुनौतीको विषय बनेको छ। मनाङलाई गन्तव्य बनाएर आएका पर्यटकका लागि डुम्रे–बेंसीशहर–चामे सडकखण्डका समयमा निर्माण सम्पन्न गर्न सक्नुपर्ने अवस्था छ। जोखिम यात्रालाई सहज बनाउनसके मनाङमा भित्रिने पर्यटकको सङ्ख्यामा अवश्य वृद्धि ल्याउन सकिने देखिन्छ। -नवीन लामिछाने
जिल्ला सदरमुकाम तानसेनमा गणेश र बाघजात्रा निकालिएको छ। आइतबार तानसेन मध्यान्नदेखि तानसेनमा गणेशको मूर्ति तानसेन बजारमा परिक्रमा गराएर गणेशजात्रा निकालिएको हो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो र श्रीमतीको नाममा रहेको सबै श्रीसम्पत्ति मरणोपरान्त राज्यको नाममा समर्पित गरिसकेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलन कार्यक्रममा उहाँले सो जानकारी गराउनुभयो । आफूजस्तै अन्य नेतालाई पनि सबै श्रीसम्पत्ति राज्यको नाममा समर्पित गर्न उहाँले सुझाव दिनुभयो ।
काठमाडौं, साउन २९ गते । हलिउड अभिनेत्री एनी हेचेको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएकी हेचेको उपचारको क्रममा क्यालिफोर्नियाको एक अस्पतालमा निधन भएको हो । कार दुर्घटनमा गम्भीर घाइते भएकी ५३ वर्षकी अभिनेत्री एनीलाई ६ दिनअघि अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उहाँ कोममा गएकाे अस्पतालले जनाएकाे छ । लस एन्जलसस्थित आफ्नो घर नजिक भएको कार दुर्घटनामा एनी गम्भीर घाइते भएकी थिइन् । सन् १९९७ मा रिलिज भएको फिल्म ‘डोनी ब्रास्को’, ‘आइ नो ह्वाट यू डिड लास्ट समर’का उहाँका चर्चित फिल्म हुन् ।
प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या अपुग भएपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ । सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को दफावार छलफल सकिएसँगै अर्थमन्त्री जनार्दन शर्माले बैठकमा उठेका प्रश्नहरुको सन्दर्भमा जवाफ दिनुभयो ।
प्रतिनिधि सभाबाट बीमा विधेयक, २०७९ पारित भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा आईतबार बसेको प्रतिनिधि सभा बैठकले बीमा विधेयक, २०७९ बहुमतले पारित भएको हो ।
साविकको विजेता एसी मिलान र उपविजेता इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा सुखद सुरुवात गरेका छन् । नयाँ सिजनको पहिलो खेलमा शनिबार राति एसी मिलानले घरेलु मैदानमा उडिनेसलाई ४–२ गोलले हरायो । अर्को खेलमा इन्टरले लिस्सेलाई २-१ गोलले स्तब्ध बनायो ।
बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलबा बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग गोलरहित बराबरी रोकिएको हो । बल पोसेसनमा पकड जमाएपनि बार्सिलोनाले गोल गर्न सकेन ।