प्रतिनिधि सभा निर्वाचनअगाडिको अन्तिम कारोबार दिन सेयर बजारमा उत्साह देखिएको छ । चुनावी वातावरणसँगै लगानीकर्ताको धारणा सकारात्मक बन्दै जाँदा नेप्से परिसूचक ३८ अङ्कले बढेर २७ सयको विन्दुभन्दा माथि लागेको छ ।
इरानलगायत खाडी क्षेत्रका देशमा आएको युद्धको अवस्थाले वैदेशिक व्यापारमा असर पर्ने देखिएको छ । गत शनिबार अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानले गरेको जवाफी आक्रमणले आयातनिर्यातमा असर पर्ने भएको हो । ती क्षेत्रका देशमा नेपालबाट हुने निर्यात न्यून भए पनि आयात भने उच्च रहेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।
वैदेशिक रोजगार विभागले फागुन २० देखि २२ गतेसम्मको सार्वजनिक बिदामा अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गरेको छ ।
टीकापुर नगरपालिका–८ का पुनिराम थारूले पाँच वर्षदेखि कर्णाली नदीको किनारमा बगर खेती गर्दै आउनुभएको छ । सिँचाइ सहज हुने र उत्पादन पनि राम्रो दिने भएपछि उहाँले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आउनुभएको हो ।
निर्वाचनका दिन (फागुन २१ गते) पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी भएको पास भए निर्वाध रिपोर्टिङ गर्न पाउने भएका छन् । निर्वाचन आयोगद्वारा जारी भएका पासबाट समेत अरू सञ्चारकर्मी फिल्डमा जान सक्ने छन् ।
अमेरिका/इजरायल–इरान युद्धको चौथो दिनसम्ममा ७८७ जना इरानी नागरिक मारिएका छन् । यस युद्धमा छ अमेरिकी सेनाको पनि ज्यान गएको छ । युद्ध लम्बिँदै जाँदा अमेरिका र इजरायलले आक्रमण थप तीव्र पारेका छन् । इरानका सामरिक महत्वका विभिन्न स्थलमा हवाई आक्रमण जारी राखिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारी मारिएपछि आक्रोशित इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका खाडी क्षेत्रका देशमा प्रत्याक्रमण जारी राखेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित नगरेसम्म युद्ध नरोकिने बताउनुभएको छ ।
कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । तीन दिन लगाएर नेपाली सेनाको हेलिकोप्टरले डोल्पाका २० वटा मतदान स्थल र हुम्लाका चार मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रयोजनका लागि तोकिएको मौन अवधिको निर्वाचन आयोगले सूक्ष्म निगरानी सुरु गरेको छ । मौन अवधि सोमबार राति १२ बजेबाट सुरु भएको थियो । मौन अवधिलाई प्रभावकारी कार्यान्वयन गराउन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ । सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत र मातहतका कर्मचारीबाट निगरानी भइरहेको छ ।
देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँमा दुई पक्षका युवाहरूबिच झडप भएको छ । विवादले उग्र रुप लिएर झडप हुन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले दिक्तेलमा मतगणनास्थल तयार पारेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग आज भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर आज एक जनाको मृत्यु भएको छ
आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी बैतडीमा अन्तिम चरणमा पुगेको छ ।