• ६ वैशाख २०८३, आइतबार

युद्धको मारमा पश्चिम एसिया ७८७ इरानी मारिए

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २० गते । अमेरिका/इजरायल–इरान युद्धको चौथो दिनसम्ममा ७८७ जना इरानी नागरिक मारिएका छन् । यस युद्धमा छ अमेरिकी सेनाको पनि ज्यान गएको छ । 

युद्ध लम्बिँदै जाँदा अमेरिका र इजरायलले आक्रमण थप तीव्र पारेका छन् । इरानका सामरिक महत्वका विभिन्न स्थलमा हवाई आक्रमण जारी राखिएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।  आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारी मारिएपछि आक्रोशित इरानले इजरायलसहित अमेरिकी सैन्य अखडा रहेका खाडी क्षेत्रका देशमा प्रत्याक्रमण जारी राखेको छ ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पराजित नगरेसम्म युद्ध नरोकिने बताउनुभएको छ ।  

अमेरिकाले इरानविरुद्धको कारबाहीलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ । राष्ट्रपति ट्रम्पले आदेश दिएपछि अमेरिकी सेनाले इरानमाथि व्यापक आक्रमणका क्रममा इरानी कमान्ड र कन्ट्रोल स्थल ध्वस्त पारेको छ । मिसाइल पूर्वाधार नष्ट गरेको छ । नौसेना जहाजलाई डुबाइदिएको छ । अमेरिकी शीर्ष सैन्य अधिकारी जनरल डन केनले पत्रकार सम्मेलनमा भन्नुभयो, “आवश्यक कारबाही गर्नुपर्ने भएमा विश्वसनीय विकल्प उपलब्ध गराउन सकियोस् भनी अमेरिकाले मध्यपूर्वमा हप्तौँदेखि सैन्य बलको निर्माण गरिरहेको थियो ।” 

उहाँले भन्नुभयो, “यी गतिविधिले अमेरिकी सेना कुनै पनि उदीयमान खतराको सामना गर्न तयार र सुरक्षित रहेको सुनिश्चित गरेको थियो । यस तैनाथीमा सबै शाखाका हजारौँ सेवा सदस्य, सयौँ चौथो र पाँचौँ पुस्ताका लडाकु, दर्जनौँ इन्धन भर्ने ट्याङ्कर, लिङ्कन र फोर्ड क्यारियर स्ट्राइक समूह र उनीहरूको हवाई शाखा, युद्ध सामग्रीको निरन्तर प्रवाह, इन्धन आपूर्ति समावेश थियो ।”

अमेरिकी दूतावासमा ड्रोन आक्रमण

इरानले साउदी अरबमा रहेको अमेरिकी दूतावास भवनमा ड्रोन आक्रमण गरेको छ । सो आक्रमणबाट दूतावासका भवनमा क्षति पुगेको छ । मानवीय क्षति भने नभएको साउदी अरबको रक्षा मन्त्रालयले जनाएको छ । यसै गरी सोमबार कुबेतस्थित अमेरिकी दूतावासमा पनि आक्रमण गरिएको थियो । सुरक्षाको कारण देखाउँदै तत्कालका लागि दुवै दूतावास बन्द गरिएको समाचारमा जनाइएको छ । 

पचास ठाउँ खाली गर्न आदेश

इजरायली सेनाले लेबनानका दर्जनौँ स्थान खाली गर्न आदेश जारी गरेको छ । इजरायली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानको ५० वटा स्थानका बासिन्दालाई आफ्नो सुरक्षाका लागि तुरुन्तै सुरक्षित ठाउँमा जान आग्रह गरेको हो । ती स्थानमा भीषण आक्रमणको तयारी गरिएको छ । आदेश जारी गरिएका अधिकांश ठाउँ लेबनानका दक्षिणी भेगका रहेको र इजरायलले निरन्तर हेजबुल्लाहको पूर्वाधारमा प्रहार गर्ने उद्देश्यले यस क्षेत्रलाई लक्षित गर्ने गरेको छ । 

यसअघि लेबनान सरकारले हेजबुल्लाहको सैन्य र सुरक्षा गतिविधिमा प्रतिबन्ध लगाएको थियो । सर्वोच्च इरानी नेता खामेनीको हत्या भएकोे बदलामा सोमबार इजरायलमा प्रहार गरेपछि ठाउँ खाली गर्न आदेश जारी गरिएको हो । इजरायलले बेरुतको दक्षिणी उपनगर र दक्षिण लेबनानका दर्जनौँ गाउँमा बम प्रहार गरेको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै १४९ जना घाइते भएको जनाएको छ ।