भजनी (कैलाली), फागुन २० गते । टीकापुर नगरपालिका–८ का पुनिराम थारूले पाँच वर्षदेखि कर्णाली नदीको किनारमा बगर खेती गर्दै आउनुभएको छ । सिँचाइ सहज हुने र उत्पादन पनि राम्रो दिने भएपछि उहाँले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आउनुभएको हो ।
उहाँले त्यस क्षेत्रमा प्याज खेतीलाई प्राथमिकता दिनुभएको छ । उहाँको प्याज खेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उहाँले प्याजसँगै धनियाँ, मकै, बन्दा, टमाटर उत्पादन गर्नुभएको छ ।
उहाँ भन्नुहुन्छ, “बालुवामा प्याज राम्रो उत्पादन हुन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ । खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।”
कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुलआसपास क्षेत्रमा हिजोआज हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं. ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याज खेती गर्दै आएका छन् ।
खेती गर्ने कृषक बर्सेनि बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग सात सय क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । स्थानीय सम्झनी चौधरी भन्नुहुन्छ, “एक परिवारले न्यूनतम पाँच/छ क्विन्टल प्याज उत्पादन गर्नुहुन्छ । उत्पादन सोचेभन्दा राम्रो हुन्छ । अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेभन्दा क्षेत्र पनि बढेको छ ।” उहाँले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताउनुभयो ।
टीकापुर नगरपालिका–८, बटनपुरकी सम्पुर्नी चौधरीले पहिलो पटक नदीको टापुमा प्याज खेती गर्नुभएको छ । गत वर्ष अरूले खेती गरेको देखेर यस पटक पाँच केजी प्याज लगाएको बताउने उहाँ सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त हुनुहुन्छ । हरेक बिहान प्याज सिँचाइ गर्न पुग्ने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुने थियो भन्ने लागेको छ ।
बटनपुरकै पहारी चौधरीले पनि पहिलो पटक बगरमा प्याज खेती सुरु गर्नुभएको छ । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उहाँले आफूलाई घरका लागि चाहिने जति प्याज रोप्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ । बरु अर्को वर्ष बिक्री गर्ने गरी लगाउनु पर्ला ।”
बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याज खेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्दै आएका छन् । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दै आएका छन् ।
अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिक निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मेहनतले राम्रो आम्दानी हुने गरेको छ ।
वर्षाको समयमा त्यही कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने किसानले आजभोलि त्यही नदीका बालुवाको फाँटको उत्पादनले वर्षाको पीडा बिर्सने गरेका छन् ।