• २० फागुन २०८२, बुधबार

हिउँ छिचोलेर मतदाता गाउँमा

blog

नेपाली सेनाको हेलिकोप्टरमार्फत हुम्लाको सिमकोटबाट लिमी केन्द्रमा निर्वाचन सामग्री ढुवानी गरिँदै । / मतदान सामग्री बोकेर मुगुका दुर्गम गाउँमा जाँदै निर्वाचन टोली ।

ललित बसेल 

सुर्खेत, फागुन २० गते । कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका २४ निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको छ । तीन दिन लगाएर नेपाली सेनाको हेलिकोप्टरले डोल्पाका २० वटा मतदान स्थल र हुम्लाका चार मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो । 

हेलिकोप्टरबाट निर्वाचन सामग्रीसहित निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । यी स्थान जिल्ला सदरमुकामबाट निकै टाढा पर्छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका छ वटा, से फोक्सुण्डो गाउँपालिकाका आठ वटा र छार्का तोङसोङ गाउँपालिकाका छ वटा गरी २० वटा मतदान स्थलमा हेलिकोप्टरबाट गत शनिबारबारदेखि मङ्गलबारसम्म निर्वाचन सामग्री ढुवानी गरिएको नेपाली सेनाको उत्तर पश्चिम पृतनाले जनाएको छ । 

यसै गरी हुम्लाको हिमालपारिको लिमीका चार वटा केन्द्रमा सोमबार सेनाको हेलिकोप्टरबाट ढुवानी गरिएको हो । दुर्गम, हिमपात र सुरक्षा संवेदनशीलताका कारण यी स्थानमा हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ । साथै मतदान सकिएपछि मतपेटिका तथा खटिएका कर्मचारीलाई पनि हेलिकोप्टरबाट फिर्ता ल्याइने छ । हुम्ला र डोल्पाका साथै मुगुका केही मतदान केन्द्रका मतपेटिका पनि सेनाको हेलिकोप्टरबाट फिर्ता ल्याइने जनाइएको छ । 

बाह्र घण्टा हिँडेर मतदान केन्द्रमा 

यसै गरी हिमाली जिल्लाको उत्तरी भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाको मुगुगाउँको मतदान केन्द्रमा १२ घण्टा हिँडेर कर्मचारी मतदान केन्द्रमा पुगेका छन् । जिल्लाको माथिल्लो मुगुगाउँको वडा नं. २ मा पर्ने जनजागृति मतदान केन्द्र सडक सञ्जालमा नजोडिएको हुँदा उक्त केन्द्रमा कर्मचारीले मतपत्रलगायतका निर्वाचन सामग्री बोकेर मतदान स्थलसम्म पुग्न १२ घण्टा लगाएका हुन् । 

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मुगु जिल्लाको दुर्गम क्षेत्रमा पर्ने जनजागृति केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मीले आफैँ मतपत्रलगायत अन्य मतदान सामग्री बोकेर केन्द्रसम्म पुग्न १२ घण्टा लागेको मतदान अधिकृत होमराज गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुगुगाउँको समुदायले उत्पादन गरेको विद्युत्बाट विद्युत् आपूर्ति नहुँदा यहाँको मतदान केन्द्रमा 

इन्टरनेटले पनि काम गरेको छैन ।” निर्वाचन आयोगले पनि मुगुमकार्मारोङ गाउँपालिकाको दुर्गम मतदान केन्द्रका लागि हेलिकोप्टरको व्यवस्था गरिदिएको भए मतदान केन्द्रमा प्रयोग हुने सामग्री ढुवानी गर्नमा सहज हुने उहाँको सुझाव छ । यो केन्द्रमा ६९९ जना मतदाता छन् । यता मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार यहाँको मुगुमकार्मारोङ गाउँपालिकाका चार वटा निर्वाचन क्षेत्रका लागि हेलिकोप्टरको व्यवस्था गरिएको तर केन्द्रले हुम्ला र डोल्पामा बढी प्राथमिकता दिएकाले यहाँका मतदान स्थलमा हेलिकोप्टर नआएको बताउनुभयो ।

हिउँ छिचोल्दै पुगे मतदाता

उता हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका मतदाता न्यालु लेकमा जमेको हिउँ छिचोल्दै मतदान केन्द्रमा पुगेका छन् । फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि लिमीका मतदाता सिमकोटबाट सेलिबाङसम्म गाडीमा र त्यहाँबाट पैदल हिँडेर लिमी पुगेका हुन् । लिमी जाङगाउँका स्थानीय कुजोक लामाले नौ घण्टा पैदल हिँडेर लिमीको जाङगाउँमा पुगेको बताउनुभयो । उहाँहरूको टोली सोमबार सिमकोटबाट गाडीमा गएर नाम्खा गाउँपालिकाको सल्लीमा बास बसेको थियो । मङ्गलबार बिहान ४ बजे सल्लीबाट सेलिबाङसम्म तीन घण्टा फेरि गाडीमा टोली गएको थियो । सो स्थानमा झरेर पैदल हिँड्दै न्यालु लेकमा जमेको हिउँ छिचोलेर मतदाता लिमी पुगेका थिए । 

बिहान ८ बजे उनीहरू सेलिबाङबाट हिँडेका र साँझ ५ बजे लिमीको तुम्लिङमा पुगेको जानकारी लामाले दिनुभयो । उक्त टोलीमा अधिकांश मतदाता जाङगाउँका छन् । करिब दुई फिट जमेको हिउँमा उनीहरू हिँडेका थिए । केही ज्येष्ठ नागरिकका लागि घोडासमेत न्यालु लेकसम्म ल्याइएको थियो । युवा भने हिउँमा हिँडेका थिए । सो टोलीमा जाङगाउँका ४० जना मतदाता छन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले निकै कष्टका भोगेर मतदाता लिमी आइपुगेको बताउनुभयो । उहाँसमेत सिमकोटबाट नारा लेक हुँदै पैदल लिमी पुग्नुभएको थियो । मतदान गर्नकै लागि आफूहरू यो कठिन समयमा पनि लिमी आएको उहाँको भनाइ छ । मतदाताहरू घरमा आएपछि कात्तिक महिनादेखि बन्द भएका मतदाताका घरको ढोका खुलेको छ । जाङगाउँका मानिस गाउँ छाडेपछि त्यहाँका घरमा ढोका लागेको थियो । 

(मुगुबाट हरिकृष्ण ऐडी र हुम्लाबाट राजन रावतको सहयोगमा)