गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २१ गते । निर्वाचनका दिन (फागुन २१ गते) पत्रकारले सूचना तथा प्रसारण विभागद्वारा जारी भएको पास भए निर्वाध रिपोर्टिङ गर्न पाउने भएका छन् । निर्वाचन आयोगद्वारा जारी भएका पासबाट समेत अरू सञ्चारकर्मी फिल्डमा जान सक्ने छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सूचना विभागको पास भएमा सञ्चारकर्मीले निर्वाध रूपमा रिपोर्टिङ गर्न पाउने व्यवस्था गरेको जानकारी दिनुभयो । “निर्वाचनका दिन अत्यावश्यक सवारीसाधनबाहेक सबै बन्द हुने छन् । सञ्चारकर्मीका हकमा सूचना विभागको पास भएमा रिपोर्टिङ गर्न पाउने व्यवस्था गरिएको छ । अरू आयोगले जारी गरेका पासले पनि फिल्डमा रिपोर्टिङ गर्न सकिने छ,” उहाँले भन्नुभयो ।
यस्तै सूचना तथा प्रसारण विभागका सूचना अधिकारी मीनकुमार शर्माले सञ्चारकर्मीले गाडी र मोटरसाइकललगायतका अन्य सवारीसाधनको पास भने जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रूपमा लिएर मात्रै चलाउन पाउने जानकारी दिनुभयो । “पत्रकार रिपोर्टिङमा जाँदा सूचना विभागको पास हुनु पर्छ । सवारी चलाउनेको हकमा जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर चलाउने व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो ।