तनहुँमा डेंगु रोगको सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । जिल्लामा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण भएको पाइएको जानकारी दिनुभयो ।
चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ ।
इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कसस्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवपुरमा बस पल्टिँदा २० यात्रु घाइते भएका छन् ।
आज बिहान ७ बजेदेखि बसपार्क क्षेत्रमा टिकट काट्नेको भीड छ । टिकट बुकिङ खुलेसँगै काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा टिकट काट्नका लागि भीड लागेको देख्न सकिन्छ ।
कैलालीमा खोलामा डुबेर एक युवती बेपत्ता हुनुभएको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका–१३ झलारीकी २० वर्षीया नबिना चौधरी झलारी नालामा डुबेर बेपत्ता हुनु भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संविधान दिवस २०७९ को पूर्वसन्ध्यामा आज शनिबार विहान काठमाडौंमा पदयात्रा सम्पन्न गरेको छ । विभिन्न ठाउँबाट पदयात्रा गर्दै वसन्तपुरमा गएर कार्यक्रम सम्पन्न गरिएको थियो । सो अवसरमा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय पर्वको रुपमा मनाइनुपर्ने बताउनुभयो ।
आश्विन सङ्क्रान्तिका दिन आज सवारी साधन र कलकारखानामा प्रयोग हुने धातुजन्य औजार उपकरणको पूजा गरी विश्वकर्मा पूजा गरिदैं छ । हरेक वर्ष आज अर्थात् असोज १ गतेका दिन यो पूजा गर्नेगरिन्छ ।
गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि अछामका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि घाइते भएकाहरु, प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टर पठाउन गृह प्रशासनलाई निर्देशन दिनुभएको छ । गृहसचिव टेकनारायण पाण्डे, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल र विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालालाई घाइते तथा प्रभावितको उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।
नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित परशुरामधाममा परशुरामको ५४ फिट अग्लो मूर्ति स्थापना गरिएको छ। परशुरामधामको गुरुयोजना बनाएर विकास गरिन थालिएको छ। गुरु योजनाअनुसार मूर्ति बनाइएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताउनुभयो। परशुराम नगरपालिका–५, परीगाउँको महाकाली नदी किनारमा धाम छ। धाममा गुरुयोजनाअनुसार भौतिक पूर्वाधारको निर्माणको काम भइरहेको उहाँले बताउनुभयो। सबैभन्दा ठूलो भनेर मूर्ति बनाइएको परशुराम क्षेत्र विकास समिति पूर्वअध्यक्ष कैलाशकुमार पाण्डेयले बताउनुभयो। नेपालमा परशुरामको यति ठूलो मूर्ति नभएको उहाँको भनाइ छ।
घरमाथिबाट आएको पहिरोमा परेर तुर्माखाँद गाउँपालिका ५ नाडामा नौ जना बेपत्ता भएका छन् । मध्यरातमा घर माथिको डाँडाबाट पहिरो जाँदा काँडाकोट निवासी नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि उनीहरु वेपत्ता भएको उद्धारमा रहेका जनकबहादुर शाहीले जानकारी दिनुभयो । रितबहादुरकी दुई बुहारी, एक छोरा, एक नाती र नेत्रबहादुरका श्रीमान श्रीमती, एउटा छोरी र मिनबहादुर शाहीकी छोरीलाई पहिरोले पुरिएको स्थानीय जनकबहादुरको भनाइ छ । वेपत्ता मध्येमा दुई बालिकाको शव फेला परेको र अन्यको स्थानीयसँगै प्रहरीले खोजी कार्य जारी रहेको छ ।
प्रतीक इच्छुक शर्मासल्यान, असोज १ गते । सल्यानको शारदा नगरपालिका–१, श्रीनगर बजारमा अत्याधुनिक सुविधासहितको बसपार्क बनाउने २०७६ सालदेखिको योजनाले अझै मूर्त रूप पाउन सकेको छैन। शारदा नगरपालिकाले सुविधासम्पन्न बसपार्क बनाउने योजना अघि सारेको थियो। सल्यानको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित श्रीनगर बजारमा व्यवस्थित बसपार्क बनाउने शारदा नगरपालिकाको योजना कार्यान्वयन हुन नसकी योजनामै सीमित भएको छ। यसबाट जनघनत्व र सवारीसाधनको चाप बढ्दै गए पनि बसपार्क नहुँदा अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम बढाएको जनगुनासो छ। पालिकाले बसपार्कका लागि ५९ करोड रुपियाँको डीपीआर पनि बनाइयो। बसपार्क निर्माणका लागि केही बजेटसमेत विनियोजन गरिएको छ। तर, दुई वर्ष बितिसक्दासमेत नगरपालिकाले व्यवस्थित बसपार्क बनाउन सकेको छैन।व्यवस्थित बसपार्क नहुँदा बजारको सौन्दर्य हराउँदै गएको स्थानीय मोहन नेपालीले बताउनुभयो। उहाँका अनुसार सार्वजनिक जग्गामा रहेको बसपार्कमा जथाभावी घरटहरा पनि निर्माण भइरहेको देखिएको छ। सार्वजनिक जग्गामा रहेको बसपार्क अव्यवस्थित छ। बजार क्षेत्रमा रहेको सार्वजनिक जग्गामा मनपरी बस्ती पनि विस्तार भइरहेको देखिएको छ। नगरपालिकाले बसपार्क क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका घरटहरा हटाएर बसपार्क विस्तार गर्ने निर्णय गर्दै १५ दिनभित्र त्यस क्षेत्रको सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना हटाउन सूचना जारी गरेको थियो। उक्त सूचनामा संरचना हटाउन अटेर गरेको पाइएमा नगरपालिका आफैँले आफ्नै स्रोतसाधनको प्रयोग गरेर सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना हटाउने गरी सूचना निकालेको थियो।बसपार्क आसपासको क्षेत्रमा करिब ८७ रोपनी जग्गा सार्वजनिक रहेको छ। तर, नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण रोकेर व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्न पहल थालेको लामो समय भइसक्दासमेत कामले पूर्णता पाउन सकेको छैन। नगरपालिकाले व्यवस्थित बसपार्क निर्माण गर्ने भनेर आश्वासन मात्रै बाँडेको र काम गर्न नसकेको स्थानीयको गुनासो छ। स्थानीय व्यापारी पुष्कर बस्नेतले सार्वजनिक जग्गा मिचेर घर बनाउने काम भइरहेको बताउनुभयो। उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले स्थानीय सरकारले पहल नलिँदा बसपार्क निर्माण कार्य अहिलेसम्म अगाडि नबढेको बताउनुभयो। बसपार्क व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम बढेको बताउँदै सार्वजनिक जग्गामा जथाभावी घरटहरा बनाउने काम तीव्र भएको उहाँको भनाइ छ। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले यसअघिको कार्यपालिका बैठकले बसपार्क बनाउने निर्णय गरेको भए तापनि कार्यान्वयनमा नआएको बताउनुभयो। उहाँले श्रीनगरमा बसपार्क बनाउन सङ्घीय र प्रदेश सरकारसंँग आवश्यक प्रक्रिया र छलफल भइरहेको उल्लेख गर्नुभयो।
‘जितिया महोत्सव–२०७९’ थरुहट उदयपुर रङ्गशाला गाईघाटमा आयोजना हुने भएको छ । थारू समुदायको महान् चाड जितियाका अवसरमा थारू युवा समाज उदयपुरको आयोजना र सेविल इन्टरटेनमेन्टको सहआयोजनामा महोत्सव आइतबार सुरु हुँदै छ । महोत्सवमा थारू राष्ट्रिय चर्चित कलाकार समीक्षा चौधरी, नरेश जोगी, आरके थारू, विजय चौधरी र आरसी चौधरीले प्रस्तुति दिनुहुनेछ । महोत्सवका अवसरमा यस वर्षका मिस्टर एन्ड मिस थारूका विजेता तथा सहभागीलाई सम्मान गरिनेछ ।
युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘हाम्रो सम्बन्ध’ सार्वजनिक भएको छ । मायाप्रेममा आधारित गीतमा प्रेमसम्बन्धलाई कसरी विवाहमा परिणत गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतलाई शान थापाले निर्देशन गर्नुभएको छ ।
‘नेपालकी छोरी’ बोलको गीत सार्वजनिक भएको छ । डीए क्रिएसनको प्रस्तुति रहेको गीतमा यात्रिका हुमागाईं र श्रृजिता ढकालको आवाज रहेको छ । गीतमा आस्था पौडेल, घनश्याम जोशी, प्रेणिता शर्मा, शोभा पाठक, असीम पौडेल र प्रकाश ढुङ्गानाले अभिनय गर्नुभएको छ । यस्तै अइस्मा पुरी, समृद्धि पौडेल, सीमा भट्ट, शिवानी श्रेष्ठ, फिओना श्रेष्ठ र दीक्षा कार्कीले नृत्यमा साथ दिनुभएको छ । उत्तम हुमागाईंले छायाङ्कन गर्नुभएको गीतमा निशान घिमिरेको सम्पादन, विकास नेपालीको नृत्य निर्देशन र रोहन नेपालीको निर्देशन रहेको छ ।