काठमाडौँ, जेठ ९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ २८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ २५ पैसा र बिक्रीदर १८५ रुपैयाँ ०५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ १६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १८ पैसा र बिक्रीदर चार रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४ रुपैयाँ ३७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५८ रुपैयाँ २३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सरकारले प्रत्येक उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरेसँगै निजी क्षेत्रका नेतृत्वदायी संस्थाले तत्काल कार्यान्वयन गर्न नसक्ने भन्दै माथिल्लो तहमा दबाब दिन थालेका छन् ।
नेपालबाट हुने निर्यातलाई अहिलेसम्मकै उच्च बनाउन बढी योगदान दिएको भटमास र सूर्यमुखी तेलको आयात झन् बढी भएको पाइएको छ । भटमास र सूर्यमुखी तेल बनाउन आवश्यक कच्चा तेलको आयात प्रशोधित तेलको निर्यातभन्दा १७ अर्ब रुपियाँले बढी भएको तथ्याङ्कले देखाएको छ ।
पोखराको प्याराग्लाइडिङको अवतरण बिहीबारदेखि फेवा किनार हुने भएको छ ।
नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको बताउनुभयो ।
काठमाडौँ, जेठ ९ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उहाँले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुन्छ भन्नुभयो ।उहाँले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा, देशमा राम्रा काम पनि त भएका छन् नि तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ, नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच देख्छु, यसरी देश बन्दैन ।” मन्त्री डा राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस्, एउटै एनआरएनए बनाउन लाग्नुहोस् ।”मन्त्री डा राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह पनि गर्नुभयो ।आफू परराष्ट्रमन्त्री भएपछि विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै ९उहाँले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाली डायस्पोराका साथै आर्थिक कूटनीतिसम्बन्धी पनि अलग्गै महाशाखा स्थापना गरेर काम अघि बढाएका छौँ । यसका लागि संसारमा रहेका सबै नेपालीको महत्त्वपूर्ण भूमिका रहन्छ र नेपाल सरकारले पनि सोही प्रकारको सहयोगको अपेक्षा गरेको छ ।”
काठमाडौँ, जेठ ९ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ । महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
काठमाडौँ उपत्यकाका स्थानीय तहले बाढी र डुबानबाट बच्नका लागि पूर्वतयारी कार्ययोजना निर्माण गर्ने गृहकार्य गरेका छन् ।
खैरहनी नगर पालिका वडा नम्वर २ ज्यामिरेचोक स्थित पूर्व पश्चिम राजमार्गमा गए राती भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राति करिब १।४५ बजे उदयपुरबाट काठमाडौँ जान लागेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं को ईभि कार एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको हो ।
बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भवानी दत्त भट्टकञ्चनपुर, जेठ ९ गते । कञ्चनपुरमा कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा योजना सञ्चालनमा चुनौती थपिएको भन्दै सरोकारवाला निकायले कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग गर्नुभएको छ । कृषिको यकिन तथ्याङ्क उपलब्ध भए आगामी वर्षका लागी कृषिका कार्यक्रम सञ्चालनमा सहजता हुने भन्दै कृषि सँग सम्बन्धित सरोकारवाला निकायले कृषि क्षेत्रको वास्तविक तथ्याङ्क उपलब्ध गराउन पालिका प्रमुखहरू सँग माग गरेका हुन् । बिहीबार महेन्द्रनगरमा कृषि ज्ञान केन्द्र कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको कृषि तथ्याङ्क अद्यावधिकका लागि कृषि सर्वेक्षण सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित विभिन्न पालिका प्रमुखहरू सँग छलफल गरिएको कार्यक्रमका अध्यक्ष कृषि व्यवसाय पर्वद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले आगामी आर्थिक वर्षमा मासु निर्यात, खोप, बजारीकरण, दूध ढुवानीका लागी सवारी साधन, एक पालिका एक कार्यक्रम लगायतका कार्यक्रमहरू जिल्लामा सञ्चालन गरिने बताउनुभयो । जसका लागी कृषिको यकिन तथ्याङ्क सङ्कलनका लागी सरोकारवाला निकायहरू सँग छलफल गरिएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अनुदानका नाममा वास्तविक कृषकलाई वञ्चित नगरिनुपर्ने बताउनुभयो ।कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले कृर्षि क्षेत्रको विकास लागि आवश्यक पर्ने वास्तविक तथ्याङ्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । बेदकोट नगरपालिकाका मेयर बोहराले ज्ञान केन्द्रबाट अनुदान आए झन् सहज हुने बताउनुहुँदै नगरपालिकाले भने कृषकहरूलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कृषि उत्पादकत्व बढाउन नहर तथा सिचाई क्षेत्र थप व्यवस्थित बनाइनुपर्ने बताउनुभयो । हाल जिल्लामा कृषकहरूको यकिन तथ्याङ्क नहुँदा वास्तविक कृषकहरू अनुदानबाट वञ्चित हुँदै आएका छन् । कृषि उपाकत्व बढाउन सके कृषकहरूले स्वदेशमै मनग्य आम्दानी गर्न सक्ने भएकाले कृषिको यकिन तथ्याङ्क सङ्कलन गरी आगामी वर्षमा कृषकहरूलाई आवश्यक अनुदान उपलब्ध गराइनुपर्ने कार्यक्रममा सहभागीहरूले माग गर्नुभएको छ ।
इलाम जिल्ला सूर्योदय नगरपालिका–५ श्री अन्तुमा रहेको पर्यटकलाई लोभ्याउने प्राकृतिक सुन्दरता सहितको होमस्टे र होटलहरु ।
निजामती सेवा विधेयकमा राखिएको कुलिङ पिरियड राख्न नहुने माग आएको छ भने राज्य व्यवस्था तथा सुशासन समितिले भने आफ्नो अडान यथावत रहेको जनाएको छ ।
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा बिहिबार मधेश प्रदेशको मन्त्रिपरिषदको पुनर्गठन गर्नु भएको छ ।
नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले प्रहरीप्रति नागरिकमा भरोसा जगाउने गरी काम गर्न आग्रह गर्नुभएको छ।