गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ९ गते । काठमाडौँ उपत्यकाका स्थानीय तहले बाढी र डुबानबाट बच्नका लागि पूर्वतयारी कार्ययोजना निर्माण गर्ने गृहकार्य गरेका छन् । बर्सातको समयमा बाढीबाट ढल जाम भई काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा पर्न सक्ने सम्भावनाप्रति स्थानीय तहले अग्रिम रूपमा सचेत हुँदै विपत्बाट बच्ने कार्ययोजना बनाउने तयारी गरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार यस वर्ष सरदरभन्दा बढी वर्षा हुन सक्ने आकलनप्रति पूर्वसचेत हुँदै जिल्ला समन्वय समिति काठमाडौँको समन्वयमा उपत्यकाका स्थानीय तह पूर्वतयारीमा जुटेका हुन् ।
स्थानीय तहको विपत् व्यवस्थापन समितिले गर्नुपर्ने कार्य, स्थानीय तहभित्रका प्राकृतिक भूबनोट अनुसार आउन सक्ने जोखिम, जोखिमपछि गर्नुपर्ने व्यवस्थापनका लागि तयारी गरिएको हो ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाले वर्षाबाट आउन सक्ने विपत्को पूर्वतयारी र विपत्पछिको खोज, उद्धार, राहत, सामग्री भण्डारण र जोखिम न्यूनीकरण योजना निर्माणसम्बन्धी कार्यको तयारी भइरहेको बताउनुभयो । वडा र नगरस्तरीय सूचना कार्यदल र स्वयंसेवकको सूचना अद्यावधिक गर्ने, प्रदेश जिल्लाका क्रियाशील विपत्सँग सम्बन्धित सङ्घ संस्था, स्थानीय समुदाय, निजी क्षेत्रसँग सहयोग समन्वय र सहकार्य गर्ने र आवश्यक सूचना आदानप्रदान गर्ने गरी पूर्वतयारीको काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले बर्सातमा काठमाडौँका सम्भावित डुबान क्षेत्रको पहिचान गरी सोबाट बच्न अहिलेदेखि नै जोखिम नियन्त्रण गर्ने योजना बनाउने काम भइरहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले जिससले विपत्को सम्भावित जोखिमबाट बच्न जिससले यसअगाडि नै सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नागरिक समाजका अगुवा र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिसँग पूर्वतयारीका लागि अन्तर्क्रिया गरी पूर्वतयारी योजना बनाउन आग्रह गरिसकेको बताउनुभयो । गत वर्ष अविरल वर्षाका कारण काठमाडौँमा चार अर्ब १४ करोड ६६ लाख पाँच हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।