तिलाचन पाण्डे
तम्घास (गुल्मी), पुस १० गते । जिल्लामा शान्ति सुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि अन्तर जिल्लास्तरीय सुरक्षा समन्वय बैठक रिडीमा भएको छ ।
गुल्मीको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेका अनुसार विपद्का घटनाहरुसँग समन्वय, सुरक्षा, लागुऔषध ओसारपसार र निर्वाचनकेन्द्रित रहेर सूचनाहरु आदान प्रदान गर्न अन्तर जिल्लास्तरीय सुरक्षा समन्वय बैठक गरिएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि केन्द्रित रहेर गुल्मी, बाग्लुङ र पर्वत जिल्लाका सुरक्षा निकायका प्रमुखबिच बिहीबार रुरुक्षेत्रको वडा नम्वर १ रिडीमा समन्वय बैठक बसेको उहाँले बताउनुभयो ।
समन्वय बैठकले अन्तर जिल्लास्तरीय सुरक्षा, विपदका घटनाहरुमा समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्न भूमिका निर्वाह गर्ने उहाँकोे दाबी छ । अन्तर जिल्लास्तरीय सुरक्षा बैठकले तीन जिल्लाका सुरक्षा प्रमुखबिच समन्वय र अपराधका घटनालाई न्यूनीकरण गर्नुका साथै सीमा जोडिएका जिल्ला भएकाले निर्वाचन केन्द्रित सूचनाहरु आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।
पर्वतका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सम्भावित विपदका घटनाहरुमा सहयोग, चोरी पौठारी र तस्करी नियन्त्रण, महिला बेचबिखन र फरार अपराधीलाई पक्राउ गर्नका लागि समन्वय बैठकको उपलब्धी हुने विश्वास ब्यक्त गर्नुभयो ।
गुल्मी जिल्लासँग सीमा जोडिएका छिमेकी जिल्लाहरुका सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय बैठकलाई निरन्तरता दिँदै जाने गैह्रेले बताउनुभयो । अघिल्लो महिना गुल्मी, प्युठान र अर्घाखाँचीका सुरक्षा प्रमुखहरुको बैठक प्युठानमा बसेको थियो ।
यसका साथै जिल्ला सुरक्षा समिति गुल्मीले जिल्लाका मतदान स्थलको समेत अनुगमन र निरीक्षण गर्ने कार्यलाई तीव्रता दिदैँआएको छ । गैह्रेका अनुसार १४५ मतदान स्थलहरुमध्ये ४८ मतदानस्थल अति संबेदनशील, ५७ मतदानस्थल संवेदनशील र ४० मतदानस्थललाई सामान्य अवस्थाको सूचीमा राखिएको छ । सोहीअनुसार जिल्लाको सुरक्षा योजना तयार पारिसकेकाले निर्वाचन सफल बनाउन जिल्ला सुरक्षा समिति सक्षम रहेको उहाँको दाबी छ ।