• ९ जेठ २०८२, शुक्रबार

प्याराग्लाइडिङ अवतरण फेवा किनारमै

blog

कास्की समाचारदाता

कास्की, जेठ ९ गते । पोखराको प्याराग्लाइडिङको अवतरण बिहीबारदेखि फेवा किनार हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएबाट पामेमा पुगेको अवतरण क्षेत्र बिहीबारदेखि पुरानै ठाउँमा फर्किएको हो । पहिला सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएर फेवातालको किनार सेती र खपौदीमा अवतरण हुन्थ्यो । विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उडान (टेकअफ) स्थल पाँच किलोमिटर हवाई दुरीमा पश्चिमतर्फ मान्द्रेढुङ्गामा सरेको थियो । अवतरण स्थल खपौदीबाट पामेमा सरेको थियो । प्राधिकरणले सुरक्षाको कारण देखाउँदै प्याराग्लाइडिङको उडान र अवतरण स्थल सारेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले अनुमति दिएसँगै अबबाट प्याराग्लाइडिङको उडानको अवतरण फेवा किनारको खपौदीबाट हुने नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताउनुभयो । क्यानले पोखरामा प्याराग्लाइडिङ गर्ने उडानको तालिकामा समेत थप अनुमति दिएको छ । यसअघि पोखरामा दिउँसो ३ बजेसम्म मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि ४.३० बजेसम्मका लागि अनुमति प्राप्त भएको छ ।

पोखरामा प्याराग्लाइडिङको उडान पश्चिमतर्फ धकेलिँदै जाँदा व्यावसायिक उडानमा कमी हुँदै आएकोमा अब भने पुरानै अवस्थामा फर्किने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्याराग्लाइडिङको सोलोतर्फको उडानसमेत बिस्तारै सुरु हुने उहाँको भनाइ छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्षको सन्दर्भमा पोखराको प्याराग्लाइडिङ पहिलाकै ठाउँबाट अवतरण गर्ने भएकाले यसले पर्यटकलाई थप आकर्षण गर्ने दाबी गर्नुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एटिसी प्रमुख योगेन्द्र कुँवरले क्यानसँगको छलफल र अध्ययनपछि ताल किनार खपौदीमा प्याराग्लाइडिङ उडानको अवतरण अनुमति प्राप्त भएको भन्दै सुरक्षाको विषयलाई सधैँ प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । प्याराग्लाइडिङको सोलो उडान, उडान क्षेत्र आदिका बारेमा समेत थप अध्ययन भइरहेको उहाँले बताउनुभयो । पोखरा भ्रमण वर्ष–२०२५ का संयोजक गोपी भट्टराईले पोखराको पर्यटनमा प्याराग्लाइडिङको महत्वबारे चर्चा गर्दै अबको युग सूचना प्रविधिको युग भएकाले डिजिटल माध्यमबाट प्रचारप्रसारमा लाग्नुपर्ने बताउनुभयो ।