• ९ जेठ २०८२, शुक्रबार

मधेश प्रदेश मन्त्रिपरिषद पुनर्गठन, दुई मन्त्रीको शपथ

blog

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीद्वय बसन्त कुमार कुशवाहा र संजय कुमार यादव मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

जनकपुरधाम, जेठ ८ गते । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा बिहिबार मधेश प्रदेशको मन्त्रिपरिषदको पुनर्गठन गर्नु भएको छ । 

प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पुनर्गठन गर्नुभएको हो । मन्त्रिपरिषदको सदस्यमा सरोज कुमार यादव भौतिक पुर्वाधार विकास मन्त्रालय, जर्नादन सिंह क्षेत्री भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, बसन्त कुमार कुशवाहा उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय, रानी शर्मा तिबारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ । 

 यसैगरी, राजकुमार लेखी गृह, सञ्चार तथा कानून मन्त्रालय, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुनिल कुमार यादव अर्थ मन्त्रालय, प्रमोद जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्रालय, शेषनारायण यादव ऊर्जा सिचाई तथा खानेपानी मन्त्रालय, कौशल किशोर राय श्रम तथा यातायात मन्त्रालय र संजय कुमार यादव वन तथा वातावरण मन्त्रालय रहेका छन ।

मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिलअलि मिया र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई जनमत पार्टीले फिर्ता बोलाएपछि उहाँहरुको स्थानमा कुशवाहा र यादव नियुक्त हुनुभएको हो । 

नव नियुक्त उद्योग वाणिज्य तथा पर्यटन मन्त्री बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्री संजय कुमार यादवलाई आजै एक कार्यक्रम विच प्रदेश प्रमुखको कार्यालयमा मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

शपथ ग्रहणपछि नवनियुक्त मन्त्रीद्वयलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र प्रदेशसभाका सभामुख रामचन्द्र मण्डल सहितकाले बधाई दिनुभएको थियो । 


यो पनि पढ्नुहोस