गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ ९ गते । नेपालबाट हुने निर्यातलाई अहिलेसम्मकै उच्च बनाउन बढी योगदान दिएको भटमास र सूर्यमुखी तेलको आयात झन् बढी भएको पाइएको छ । भटमास र सूर्यमुखी तेल बनाउन आवश्यक कच्चा तेलको आयात प्रशोधित तेलको निर्यातभन्दा १७ अर्ब रुपियाँले बढी भएको तथ्याङ्कले देखाएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा नेपालले ७८ अर्ब ७५ करोड रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ । सोही अवधिमा नेपालले ८१ अर्ब ८९ करोड रुपियाँको कच्चा भटमास तेल आयात गरेको विभागको तथ्याङ्क छ ।
निर्यात भएको भटमास तेलभन्दा पनि त्यसका लागि आवश्यक कच्चा तेल मात्रै तीन अर्ब रुपियाँभन्दा बढीको निर्यात भएको देखिन्छ । नेपालमा प्रशोधित भटमास तेल भारतमा मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ । कच्चा भटमास तेल भने अर्जेन्टिना, बेनिन, ब्राजिल, चीन, इराक, पाराग्वे, थाइल्यान्ड, टोगो, युक्रेनलगायतका देशबाट आयात भएको देखिन्छ ।
नेपालबाट धेरै निर्यात हुने सूचीको दोस्रो स्थानमा रहेको सूर्यमुखी तेलभन्दा पनि कच्चा सूर्यमुखी तेलको आयात धेरै बढी देखिन्छ । विभागका अनुसार १० महिनामा नेपालले १० अर्ब नौ करोड रुपियाँको सूर्यमुखी तेल निर्यात गर्दा २४ अर्ब ६४ करोड रुपियाँको कच्चा सूर्यमुखी तेल आयात भएको तथ्याङ्क छ ।
यसले पनि नेपालबाट निर्यात भएको सूर्यमुखी तेलभन्दा त्यसको कच्चा पदार्थ १४ अर्ब रुपियाँभन्दा बढीको आयात भएको देखिन्छ । भटमास तेल जस्तै सूर्यमुखी तेलको बजार पनि भारत मात्रै रहेको छ । कच्चा सूर्यमुखी तेल भने अर्जेन्टिना, भारत, रोमानिया र युक्रेनबाट आयात भएको विभागको तथ्याङ्क छ ।
प्रशोधित भटमास तेल र सूर्यमुखी तेलको निर्यातमा उछाल आउँदा चालु आवको १० महिनामा नेपालबाट अहिलेसम्मकै उच्च निर्यात भएको तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको थियो । विभागका अनुसार नेपालले १० महिना (वैशाखसम्म) दुई खर्ब १७ अर्ब ९१ करोड रुपियाँको निर्यात भएको छ जुन गत आवको सोही अवधिको तुलनामा ७२.७१ प्रतिशतले बढी हो ।
गत आवको वैशाखसम्म नेपालले एक खर्ब २६ अर्ब १७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो । नेपालले साफ्टा सुविधा अन्तर्गत भारतमा निर्यात गर्दा शून्य भन्सार सुविधा प्रयोग गर्न पाउँछ । भारतमा भटमास र सूर्यमुखी तेलको माग बढेको अवस्थामा कच्चा तेल आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात गर्ने चलन बढ्दो छ । यसअघि नेपालमा खासै उत्पादन नै नहुने पाम तेलका लागि आवश्यक कच्चा पाम आयात गरेर निर्यात गर्दा नेपालको समग्र निर्यात व्यापार नै बढेको थियो ।