दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित भीम पुस्तकालय पुनः सञ्चालनमा ल्याइने भएको छ । जिल्लाकै जेठो पुस्तकालयका रूपमा रहेको सो पुस्तकालयको भवन भूकम्पले भत्किएपछि सार्वजनिक प्रयोगमा आउन सकेको थिएन । पुस्तकालयको आफ्नै जग्गामा भवन निर्माण भइरहेकाले चाँडै सञ्चालनमा आउने स्थानीय एवं समाजसेवी इन्जिनियर आत्मकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
भौगोलिक रूपमा नेपालकै ठुलो जिल्लाका रूपमा परिचित छ, डोल्पा । दुर्गम र विकासका दृष्टिले कठिन अवस्था झेलिरहेको डोल्पाको उत्तरपश्चिम क्षेत्रमा रहेको से फोक्सुन्डो गाउँपालिका पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण छ । साबिकका साल्दाङ, भिजेर र फोक्सुन्डो गाउँ विकास समिति मिलाएर से फोक्सुन्डो गाउँपालिका बनाइएको हो । यहाँको से फोक्सुन्डो ताल हेर्न बर्सेनि हजारौँ पर्यटक पुग्छन् । समुद्री सतहदेखि करिब २३ सयदेखि सात हजार ४२५ मिटर उचाइमा अवस्थित यस गाउँपालिकाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतको भूभाग पर्छ । उच्च हिमाली यस गाउँपालिकाको सम्पूर्ण भूभाग हिमाल, डाँडापाखा र समथर घाँसे मैदा
विश्वमै अति दुर्लभ मानिएको बैकाल गैरी चरा नवलपुरको कावासोतीमा रहेको नमुना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्ने स्वर्गद्वारी घाट नजिकै नारायणी नदीमा फेला परेको छ ।
बर्दीबास नगरपालिकाले भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरेको छ । नगरपालिकाले वडा नं २ का ५३ जना भूमिहीन सुकुमवासीलाई प्रतिपरिवार एक कट्ठाका दरले सोमबार लालपुर्जा प्रदान गरेको हो ।
सर्केगाड गाउँपालिका–१ स्थित छिडिनात्ता गाउँको सामुदायिक स्वास्थ्य एकाइ साउनयता बन्द रहेको छ । कर्णाली प्रदेश सरकारले यसअघि उपलब्ध गराउँदै आएको जनशक्तिको करार अवधि सकिएपछि स्वास्थ्य एकाइ बन्द थियो । छिडिनात्ता गाउँका स्थानीय जय कामीले सामुदायिक स्वास्थ्य एकाइ बन्द भएपछि बिरामी समस्यामा परेको बताउनुभयो । साउनअघि एकाइ सञ्चालनमा रहेका बेला बिरामीलाई सहज हुने गरे पनि त्यसयता स्थानीय जडीबुटी र धामीझाँक्रीको शरणमा पर्नुपर्ने बाध्यता बिरामीको छ । सामुदायिक स्वास्थ्य एकाइमा पालिकाले स्वास्थ्यकर्मी र औषधीको व्यवस्था नगरेपछि ताला लागेको हो ।
महोत्तरीको औरही नगरपालिकामा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित ५० शय्याको मेहलकुना अस्पताल भवन निर्माण अलपत्र परेको छ । भवन निर्माण समयमै नसकिँदा अस्पतालको सेवा प्रभावित भएको छ । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण छ वर्षसम्म भवनको आधा मात्रै काम भएको छ ।
कपिलवस्तु नगरपालिकाले पुरातात्त्विक स्थलमा छाडा चौपाया व्यवस्थापन गर्दा पुरातात्त्विक महत्त्वका सम्पदा मासिने खतरा उत्पन्न भएको छ । नगरपालिकाले दोहोनीकोटमा एक महिनादेखि छाडा चौपाया व्यवस्थापन गर्दै आएको छ । राजा शुद्धोधनको राजप्रासाद तथा भगवान् गौतम बुद्धको क्रीडास्थल तिलौराकोटसँग सम्बन्धित भएको उक्त क्षेत्रमा करिब दुई हजार गाई गोरु राखिएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले सात करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरेको भवन अपाङ्गतामैत्री नहुँदा समस्या हुने गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको गाउँपालिकाले प्रशासकीय भवन अपाङ्गतामैत्री बनाउन ध्यान नदिएको देखिएको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट साझेदारीमा जोमसोममा तीनतले पक्की प्रशासकीय भवन निर्माण गरिएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, देउरालीका व्यवसायीहरूले आफ्नो होटल तथा किराना पसलमा राखेको खुत्रुकेमा सङ्कलित रकमले विपन्न विद्यार्थी र आर्थिक रूपमा कमजोर विद्यालयलाई सहयोग गर्ने भएका छन् ।
तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा विषय विशेषज्ञ चिकित्सकको अभाव हुँदा बिरामी मर्कामा परेका छन् । यस क्षेत्रका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी बेहोर्नु परेको छ । जिल्लास्तरीय यो अस्पतालमा शय्यालगायत आवश्यक जनशक्तिको समेत अभाव हुँदा उपचार सेवा प्रभावित भए पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन ।
धेरै युवामा विदेशप्रतिको मोह रहे पनि भोजपुर टेम्केमैयुङ गाउँपालिका–६ कोटका केही युवा पुर्ख्यौली कालिगड पेसामा रमाउँदै आएका छन् । पेसाको संरक्षणसँगै यसलाई पुस्तान्तरण गर्ने लक्ष्यले यो पेसालाई निरन्तरता दिएको स्थानीय महेन्द्रर साइलीले बताउनुभयो ।
कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ ।
बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् ।
एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताउनुभयो ।