सिराज खान
नेपालगन्ज, मङ्सिर २५ गते । पछिल्लो केही वर्ष यता बाँकेको नेपालगन्ज र कोहलपुरलाई लागुऔषधको ट्रान्जिट बनाएर विभिन्न जिल्लामा सप्लाई समेत गर्न थालिएपछि प्रहरीले लागुऔषध कारोबारलाई निस्तेज पार्न विशेष अप्रेसननै सञ्चालन गरेको छ ।
सोही अप्रेसनअन्तर्गत लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले संयुक्त रुपमा खोजतलाश र नियन्त्रण योजना बनाएर लागुऔषध कारोबारीलाई एकपछि अर्को गरी पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रहरीको संयुक्त टोलीले लागुऔषध नियन्त्रणका लागि नेपाल–भारत सीमा नाका र प्रमुख बजार क्षेत्रसम्म निगरानी कडा बनाएर सर्च अपरेसन चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।
उहाँले उक्त अप्रेसन अन्तर्गत नै हालसम्म धेरै जनालाई ठुलो परिमाणको लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको जनाउँदै अप्रेसन निरन्तर जारी रहेको बताउनुभयो ।
सोही अप्रेसनअन्तर्गत विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले पछिल्लो पटक नेपालगन्जबाट १३८ ग्राम ब्राउनसुगरसहित ६ जना कारोबारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो ।
उहाँका अनुसार नेपालगन्ज–१४ मेरो प्लानेट नजिक ठुलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको विशेष सूचना पाएर गएको प्रहरी टोलीले नेपालगन्ज–१४ का २४ वर्षीय सुदिपकुमार भाट, सोही स्थान बस्ने २६ वर्षीय पवनकुमार शर्मा र डुडुवा–६ का ३२ वर्षीय राजु साहलाई १०० ग्राम १६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
नेपालगन्ज–१४स्थित ‘मेरो प्लानेट’ नजिकै भे १२ प १२२९ नम्बरको मोटरसाइकल रोकेर तीन युवकहरुले ब्राउनसुगरको खरिद बिक्री गरिरहेको जानकारी पाएर पुगेको प्रहरीको टोलीले उनीहरूको खानतलासी गर्ने क्रममा सुदिपको पाइन्टको खल्तीबाट ६४ ग्राम १६० मिलिग्राम लागुऔषध र ४ थान मोबाइल फोन बरामद गरेको थियो ।
उनीहरुलाई नेपालगन्ज–१४ उधोपुरुवाका ५९ वर्षीय सुरत खटिकले ब्राउनसुगर बिक्री गरेको खुलेपछि प्रहरीले खटिकलाई उदयपुरुवा क्षेत्रमा फेला पारेर खानतलासी गर्दा उनको खल्तीबाट समेत ३४ ग्राम ब्राउनसुगर र एक थान मोबाइल फेला पारेको थियो ।
प्रहरीले दुवै घटनाबाट बरामद गरिएको १०० ग्राम १६० मिलिग्राम खैरो हेरोइन, ५ थान मोबाइल फोन र एउटा मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर कानुनी कारवाही अगाडी बढाइएको जनाएको छ ।
सोही प्रकारले प्रहरीले नेपालगन्ज १५ जमुनाह माछामण्डी नजिक चेकजाँच गर्ने क्रममा भारत नानपारा निवासी थरुवा अहमद र बहराइच निवासी तोहीद खानको खानतलाशी गर्दा उनिहरुबाट ३८ ग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले बताउनुभयो ।