• ७ वैशाख २०८१, शुक्रबार

‘मधेशका निम्ति कृषि शिक्षा अपरिहार्य’

blog

बोदेबरसाइन समाचारदाता

बोदेबरसाइन (सप्तरी), जेठ १ गते । मधेश कृषि विश्वविद्यालयमा स्नातक तहका पहिलो शैक्षिक सत्रका लागि कक्षा शुभारम्भ गरिएको छ। जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले आइतबार कक्षा शुभारम्भ गर्नुभएको हो। 

विश्वविद्यालयले आयोजना गरेको कक्षा शुभारम्भ समारोहमा बोल्दै उहाँले गुणस्तरीय शिक्षामा कुनै आशङ्का नगर्न आग्रह गर्नुभयो। “हरेक विकासको जननी शिक्षा हो र जीवनको आधार कृषि हो, यसर्थ कृषि शिक्षा मधेशका निम्ति अपरिहार्य छ,” यादवले भन्नुभयो, “दुनियाँका धेरै मुलुकमा अत्याधुनिक प्रविधिको प्रयोगले कृषि क्षेत्रले धेरै फड्को मारिसकेको छ। त्यही गुणस्तर र प्रविधिसँग किसानलाई जोड्न सकियो भन्ने नेपालमा छिट्टै कृषिमा आधुनिकीकरण र क्रान्ति आउने निश्चित छ।”

नेपालको समृद्धिका लागि एक मात्र विकल्प कृषिमा लगानी र आधुनिकता ल्याउने रहेको चर्चा गर्दै प्रतिनिधि सभा सदस्य यादवले आर्थिक अवस्था सुधार गर्न सबैभन्दा पहिला कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो। “जुन मुलुकमा आर्थिक वृद्धिदर घटेर गएको छ, त्यसलाई परिपूर्ति गर्न सबैभन्दा सजिलो र छिटो भनेको कृषि उत्पादन वृद्धि हो,” उहाँले भन्नुभयो। 

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको शिक्षाको गुणस्तरमा सुधार ल्याउन आवश्यक रहेको बताउँदै प्रदेश सरकारले कृषि र सिँचाइमा लगानी गर्ने बताउनुभयो । प्रदेशभित्र सुशासन कायम गराउन पनि आफू प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

राजविराज–१५, बिसहरियास्थित विश्वविद्यालयको आफ्नै २९ बिघा जग्गा हुँदा पनि उक्त जग्गामा भवन निर्माण हुन सकेको छैन। आफ्नै भवन निर्माणका लागि डिपिआरसँगै प्रदेश सरकारको एक अर्ब बजेट विनियोजन भइसकेको छ। केशो अनिरुद्धवती माध्यमिक विद्यालयको तालिम केन्द्रको भवन वर्षको तीन लाख ८० हजार रुपियाँ भाडामा लिएर कक्षा सञ्चालन गरिएको छ।

विश्वविद्यालयले नयाँ शैक्षिक सत्रमा कक्षा सञ्चालन गर्न गत कात्तिक २९ गते नै भर्ना खुलाएको थियो। बिएससिएजीका लागि जम्मा ५० जनाको कोटा रहे पनि तीन सय जना विद्यार्थीले भर्ना फाराम भरेका थिए। आरक्षणसहित ५० जना विद्यार्थीको भर्ना सुनिश्चित भएको दुई महिनापश्चात् नियमित कक्षा सञ्चालनको पूर्ण तयारी भई आइतबारदेखि कक्षा सञ्चालनमा ल्याइएको विश्वविद्यालयका रजिस्ट्रार डा. श्री भगवान् ठाकुरले जानकारी दिनुभयो।

मधेश प्रदेश सरकारद्वारा मधेश कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश, २०७८ अनुसार गत वर्ष मङ्सिर २७ गते राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले कृषि, भेटेरिनरी, बागवानी, मत्स्यलगायतको पढाइसँगै कृषिको आधुनिकीकरण, व्यवसायीकरण, औजारीकरणको अध्ययन अध्यापन गराउने विश्वविद्यालयका उपकुलपति वैजनाथ महतोले बताउनुभयो।