• ८ वैशाख २०८१, शनिबार

आर्थिक विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सांसदहरूको ध्यानाकर्षण

blog

काठमाडौं, वैशाख २५ गते । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेटको प्राथमिकता निर्धारण गरेकामा प्रसन्नता व्यक्त गरेका छन् । जडीबुटी, वनजङ्गल तथा शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै सांसदहरूले ठेक्कापट्टामा रहेको समस्या समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

सांसद मायाप्रसाद शर्माले विकास निर्माणमा देखिएको समस्या समाधानका लागि विशेष प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । सांसद दिलकुमारी थापा रावलले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर तीन प्रतिशतको हाराहारीमा रहने अवस्था आएको सन्दर्भमा ‘फराकिलो आर्थिक’ भन्ने विषय प्रष्ट नभएको बताउनुभयो । दैनिक ठूलो सङ्ख्यामा युवा विदेश पलायन भइरहेको सन्दर्भमा देशभित्रै रोजगारीको प्रबन्ध गर्न, निजी क्षेत्रको समस्या समाधानमा मनोबल बढाउन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । सहकारीले निक्षेप लिएर भागेको, बैङ्क तथा वित्तीय संस्थाबाट लिइएको ऋण तिर्नुपर्दैन भनेर फैलाइएको अराजकता नियन्त्रणका लागि पनि उहाँले आग्रह गर्नुभयो । 

सांसद कमला पन्तले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या स्वयम् अर्थमन्त्री र अर्थमन्त्रालयलाई नै थाहा भएकाले खास अर्थमा समाधानको उपाय अपनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “बिरोलो बाँधेर श्राद्ध’ गर्नेतर्फ भन्दा पनि खास खास अर्थमा गर्न सकिने विषयलाई बजेटमा समावेश गरौँ । हाम्रोमा कार्यान्वयनमा समस्या छ । योजनामा होइन ।”

सांसद पन्तले एकीकृत बस्तीको विकासमा ध्यान दिन र मानव जङ्गली जनवारबीचको द्वन्द्व समाधान गर्ने योजना ल्याउन, महिलालाई आर्थिक विकासमा लाग्ने वातावरण बनाउन, ओरालो लागेको शेयर बजारलाई उकालो लगाउने योजना बनाउन अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सांसद पन्तले एक हजार र पाँच सयको नोट तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभयो ।

यस्तै साधारण खर्च घटाएर पुँजीगत खर्च बढाउन देखिएका समस्या समाधान गर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्र बैङ्कले सधैँ मौद्रिक नीतिको समीक्षामा नकारात्मक विवरण मात्रै समावेश गरेर प्रकाशित गर्ने गरेकामा आपत्ति प्रकट गर्नुभयो । रासायनिक मल कारखाना स्थापना गर्ने प्रबन्ध बजेटमा गरिए त्यसले आम किसानको मनोबल बढाउने सांसद पन्तको भनाइ छ । सांसद सिंहदरबहादुर विश्वकर्माले ठूला भौतिक पूर्वाधार तथा ग्रामीण क्षेत्रको  बृहत्तर विकास तथा विद्युत् खपत प्रोत्साहन गर्ने गरी बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो । नेपाललाई चलचित्र छायाङ्कनस्थलको विकास गर्ने गरी विशेष प्रबन्ध गर्न पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले जनसङ्ख्याको आधारमा बजेटको विनियोजन गर्नुपर्ने, समयमै  कार्यान्वयनको प्रबन्ध गर्न, शिक्षा, स्वास्थ्य र कृषिमा उल्लेख्य मात्रामा खर्च गर्ने गरी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शेखरकुमार सिंहले जलविद्युत्मा मुलुकले ठूलो प्रगति गरेको भए पनि उद्योग धन्दामा लोडसेडिङ भइरहेको भन्दै समस्या समाधान गर्न आग्रह गर्नुभयो ।  त्यसअघि बैठकको सुरुमा नै नेकपा९एमाले०का सांसद भैरवसुन्दर श्रेष्ठले आइतबारको बैठकमा एक सांसदले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै त्यसलाई रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफूले आइतबारको उक्त अभिव्यक्ति सुनेर मात्रै आवश्यक निर्णय गर्ने जानकारी गराउनुभएको थियो । रासस