• १४ वैशाख २०८१, शुक्रबार

नेपाल र युएईको फाइनल खेलमा वर्षा बाधक

blog

पानी परेपछि पालले ढाकिएको कीर्तिपुरको क्रिज । तस्बिरहरु : विकास द्वारे

काठमाडौं, वैशाख १८ गते । एसीसी प्रिमियर कपको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको फाइनल खेलमा पनि वर्षा वाधक बनेको छ ।

त्रिवि मैदानमा कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको छ ।


युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाउनुभयो । कप्तान आर्यानल लार्काले १३, मुम्हमद वासिमले ११ र बसिल हमेदले १० रन जोड्नुभयो । 

बलिङमा नेपालका ललित राजवंशीले तीन, सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिनुभएको छ । 


एसिया कपमा छनोट हुन नेपालका लागि आजको खेल निकै महत्त्वपूर्ण रहेको छ । घरेलु मैदानमा दर्शकको साथमा नेपाल युएईमाथि सानदार जित निकाल्ने तयारीमा छ ।

युएई पनि नेपाललाई हराएर एसिया कपको ढोका खोल्ने अभियानमा छ । तर आजको खेलमा पनि वर्षा वाधक बन्ने डर छ । नेपाल र युएई एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यी दुई टोलीबीच एक दिवसीयमा मात्र १३ पटक भिडन्त भएको छ ।

जसमा नेपालले सात र युएईले ६ खेल जितेको छ । नेपाल सोमबार घरेलु मैदानमा दर्शकको उत्साहसाथ उपाधि जित्ने लक्ष्यमा छ । जसका लागि मौसमले समेत साथ दिन आवश्यक छ । 


फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्नेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।


शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् । 

युएईविरुद्ध नेपाल-११

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।