• १४ वैशाख २०८१, शुक्रबार

पत्रयुगको खबर

blog

कुनै समयमा टाढा–टाढा रहेका प्रियजनबीच खबर आदानप्रदान गर्ने एक मात्र माध्यम थियो चिठीपत्र । यसले प्रियजनहरूबीच सन्चो–बिसन्चोको खबर मात्र आदानप्रदान गर्दैनथ्यो, मन–मुटुहरू साटासाट गर्ने काम पनि गथ्र्याे । मोर्स कोड, टेलिग्राफ, टेलिफोन, फ्याक्सजस्ता विद्युतीय सञ्चार प्रणालीको जादुमय उपस्थिति हुनुभन्दा अघिसम्म चिठीपत्रले लामो दूरीको सञ्चारमा एकछत्र आधिपत्य जमाएको थियो ।

विश्वमा पत्र कहिलेदेखि लेखिन थाल्यो भन्नेबारे यसै भन्न सकिन्न । युनानी इतिहासकार हेलनिकसले पर्सियाकी रानी अटोसा (इसापूर्व ५५०–४७५) ले इसापूर्व ५०० तिर लेखेको पत्र नै पहिलो हस्तलिखित पत्र मानेका छन् । प्राचीनकालदेखि सुरु भएको पत्रलेखनका अनेकौँ आयाम छन् ।

केही विश्वचर्चित पत्र

अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिङ्कनलाई उनका असल कर्मका लागि जति जति सम्झने गरिन्छ, अर्थपूर्ण पत्रलेखनका पनि उति नै स्मरण गर्ने गरिन्छ । अमेरिकी म्यागजिन ‘द एटलान्टिक’ (सेप्टेम्बर २०१७) मा प्रकाशित लेखका अनुसार लिङ्कनले पाँचवटा सार्वजनिक चिठी लेखे । जसमा उनले राष्ट्रिय एकता, शिक्षा प्रणाली, दासतालगायतका विषयमा मननीय विचारहरू पस्केका छन् ।

उनको एउटा बहुश्रुत भनाइ छ, “जनताद्वारा, जनताका लागि जनताको सरकार ।” लिङ्कनको यस बहुचर्चित भनाइ उनको सार्वजनिक पत्रबाटै स्थापित भएको भन्ने भनाइ छ, जसलाई लोकतन्त्रको मानक परिभाषा मान्ने गरिन्छ ।

अब्राहम लिङ्कनले लेखेका चर्चित पत्रको सूचीमा आफ्ना छोराका शिक्षकलाई लेखेको पत्र पनि पर्छ । त्यस पत्रमा उनले शिक्षा भनेको गणित र विज्ञानका सूत्रहरू घोक्नु मात्र नभई विवेकशील हुनु र युगानुकूल चल्नु पनि हो भन्ने सन्देश दिएका छन् ।

प्रसिद्ध प्रकृतिविद् तथा जीववैज्ञानिक चाल्र्स डार्बिन आफ्नो समयका राम्रा पत्रलेखक मानिन्थे । उनी र उनका घनिष्ठ मित्र वनस्पतिशास्त्री जोसेफ डाल्टन हुकरबीच एक हजार चार सयभन्दा बढी पत्र आदानप्रदान भएको ‘पेन हेवेन’ वेबसाइटमा उल्लिखित छ । यी दुई मित्रबीच आ–आफ्ना अध्ययन तथा तिनको सम्भावित निष्कर्षबारे पत्रको माध्यमबाट विचार–विमर्श हुने गथ्र्यो ।

सन् १८४४ मा डार्बिनले जीव अपरिवर्तनीय नरहेको निष्कर्षमा पुग्न लागेको भन्दै हुकरलाई पत्र लेखेका थिए । यही मान्यतामा अडिग रहेर उनले सन् १८५९ मा ‘द अरिजिन अफ स्पेसिज’ पुस्तक लेखे, जसले जीवको उत्पत्ति र विकासका सन्दर्भमा विश्व समुदायको सोचाइलाई नै उथलपुथुल पारिदियो । डार्बिनका मित्र हुकरले पनि बङ्गाल, सिक्किम तथा पूर्वी नेपालको भ्रमण गरेर सन् १८५४ मा ‘हिमालय जर्नल्स’ शीर्षकमा मौलिक 

कृति लेखे ।

यी दुईबीच भएका पत्राचारले आ–आफ्ना अध्ययनबारे विचार माझ्न र तार्किक निष्कर्षमा पुग्न पर्याप्त सहयोग पुगेको देखिन्छ ।

मर्टिन लुथर किङ (जुनियर) अमेरिकाको अश्वेत समुदायको अधिकारका पक्षमा लड्नेहरूमा ‘आइकन’ नै मानिन्छन् । उनले सन् १९६० को पूवाद्र्धतिर जातिवाद तथा रङ्गभेदविरुद्ध मर्मस्पर्शी पत्र लेखे, जुन अमेरिकी नागरिक अधिकार अभियानमा बेजोड ऊर्जा बन्न पुग्यो । सन् १९६३ मा मर्टिन लुथर किङको पत्र–सङ्ग्रह ‘लेटर फ्रम बर्मिङघम जेल’ 

शीर्षकमा छापियो ।

उनले लेखेको पत्रमा परेको एउटा भनाइ यस्तो थियो, “कुनै ठाउँमा भएको अन्यायले जहाँसुकैको न्यायलाई चुनौती दिन्छ ।” यस भनाइ नागरिक अधिकार–जगत्मा बहुचर्चित बन्यो । मार्टिन लुथर किङको पत्र–सङ्ग्रह सन् १९६४–१९६६ को अवधिमा ५० पटक पुनः मुद्रण भयो भन्ने भनाइ छ ।

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले आफ्नी छोरी इन्दिरा गान्धीलाई पठाएको पत्र स्मरणीय छ । सन् १९२८ मा नेहरू इलाहाबादस्थित जेलमा थिए । त्यस बखत उनले मसुरीमा रहेकी १० वर्षीया छोरी इन्दिरा गान्धीलाई प्रकृति र मानव इतिहासबारे ३० वटा शिक्षामूलक पत्र लेखे ।

ती पत्रको सङ्ग्रह ‘नेहरुज लेटर टु हिज डटर’ शीर्षकमा पुस्तककार कृतिका रूपमा छापियो । यसपछि त्यस पुस्तक अत्यधिक लोकप्रिय हुन पुग्यो, जसका अनेकौँ संस्करण निस्किए । त्यस पुस्तक अङ्ग्रेजीका अतिरिक्त हिन्दी, स्पेनिसलगायतका भाषामा प्रकाशित छन् ।

बेलायतका दोस्रो विश्वयुद्धकालीन प्रधानमन्त्री विन्सटन चर्चिलका अभिव्यक्तिहरू राजनीतिक तथा सामाजिक वृत्तमा आज पनि चर्चित छ । दोस्रो विश्वयुद्ध अवधिमा चर्चिलका निजी सहायक सचिवले उनलाई जर्मनीसँग यथासम्भव शान्ति सम्झौता गर्नुपर्छ अन्यथा जर्मनीले बेलायतमाथि आक्रमण गर्नसक्छ भन्ने आशयको पत्र लेखेका थिए, जुन कुरा चर्चिललाई किञ्चित मन परेको थिएन ।

यसको जवाफ चर्चिलले रुखो किसिमले दिएका थिए, “तिमीले यस्तो पत्र लेखेकोमा म लज्जित छु । तिमीले लेखेको पत्र जलाइहाल्नुपर्छ ।” चर्चिलले लेखेको रुखो पत्र विश्वयुद्ध समाप्त भएपछि पनि चर्चित रह्यो । सन् २०१० मा उनको पत्र लिलाम भयो । त्यो पत्र ३४ हजार आठ सय ५० मा पाउन्डमा लिलाम भएको थियो ।

साहित्य संवादको सञ्चार–सेतु

विगतमा साहित्यकारहरूबीच पनि चिठीपत्रले निःसन्देह सञ्चार–सेतुका रूपमा काम गरेको थियो । आधुनिक सञ्चार तथा यातायात प्रणालीको राम्रो विकास नभएको पुरानो समयमा चिठीपत्र एक मात्र त्यस्तो माध्यम थियो, जसले साहित्यकारहरूबीच संवाद र विचार–विमर्शको वातावरण तयार पाथ्र्यो । यसप्रकार विगतमा असङ्ख्य साहित्यकारबीच पत्रको माध्यमबाट साहित्यिक विषयमा विचार–विमर्श हुन्थ्यो । उनीहरू पत्रबाटै सुखदुःखका पेटारो खोल्थे ।

यही मेहरोमा चक्रपाणि चालिसे, लेखनाथ पौड्याल, कृष्णचन्द्रसिंह प्रधान, शरदचन्द्र शर्मा भट्टराई, मदनमणि दीक्षित, रोचक घिमिरे, श्यामप्रसाद, ज्ञानुवाकर पौडेलजस्ता साहित्यकार तथा डा. ईश्वर बरालबीच विभिन्न समय र सन्दर्भमा आदानप्रदान भएका पत्रको विवरण शेषराज सिवाकोटीकृत पुस्तक ‘डा. ईश्वर बराल अभिनन्दनका अक्षरहरू’ (२०५४) मा प्रकाशित छ ।

साहित्यकार बालकृष्ण समले आफ्ना पिता समरशमशेर देहरादुन तथा पाल्पामा रहँदा पितासँग चिठीमै काव्यविमर्श गर्थे । समले आफ्ना पितासँग काव्यिक पत्राचार गरेको प्रसङ्ग माइकल हटले आफ्नो पुस्तक ‘नेपाली : अ नेसनल ल्याङ्ग्वेज एन्ड इट्स लिटरेचर’मा कोट्याएका छन् ।

नाम चलेका साहित्यकार मात्र होइन गाउँठाउँका साहित्यानुरागीहरूले पत्रमार्पmत काव्यसंवाद गरेको पाइन्छ । दुराडाँडाका शिक्षक तथा साहित्यकार ठाकुरप्रसाद अधिकारी ‘छाँगा’ले आपूm काठमाडाँै पढ्न बस्दा गाउँका साथीसँगीसँग पत्र आदानप्रदान गरी काव्यसंवाद गरेको इतिहास छ ।

विगतमा इतिहासकारहरूबीच इतिहास–अनुसन्धानका गम्भीर तथा महìवपूर्ण तथ्यहरू पत्रबाटै आदानप्रदान भएको पाइन्छ । ईश्वर बरालले नयाँ दिल्ली र लन्डनबाट इतिहासकार धनवज्र वज्राचार्यलाई लेखेका पत्र पुस्तक ‘डा. ईश्वर बराल अभिनन्दनका अक्षरहरू’मा प्रकाशित छ । इतिहासशिरोमणि बाबुराम आचार्य र इतिहास–अनुसन्धानका विषयमा तत्कालीन समयमा दार्जिलिङमा सूर्यविक्रम ज्ञवालीबीच पत्राचार भएको पाइन्छ ।

यहाँ प्रस्तुत गरिएका प्रसङ्गहरू सामान्य दृष्टान्त मात्र हुन् । विगतमा असङ्ख्य साहित्यकारहरूबीच पत्रमार्पmत साहित्य संवाद भएको हुनुपर्छ । यो आपैmँमा एउटा अनुसन्धेय विषय हो ।

पत्रसाहित्यको युग

साहित्यानुरागीहरूको कल्पना र चाहनाको क्षितिज फराकिलो हुन्छ । आफ्ना साहित्यिक कृति पत्रमार्पmत पाठकको फराकिलो परिधिसम्म विस्तार गर्ने चाहनाले पत्रसाहित्यले जन्म लियो । अहिलेको जस्तो बग्रेल्ती साहित्यिक ‘प्ल्याटफर्म’हरू नहुँदा कतिपय साहित्यकारले पोस्टर वा हवाईपत्रमा हस्तलिखित वा मुद्रित लघुकथा, मुक्तक वा कविता लेखेर साहित्यानुरागीहरूका ठेगानामा हुलाकमार्पmत पठाउँथे ।

नेपालमा कहिलेदेखि पत्रसाहित्यको युग सुरु भयो ? यसबारे कुनै तथ्यपरक इतिहास पाइँदैन । यद्यपि देशभरका अनेकौँ साहित्यप्रेमीले हवाईपत्रको माध्यमबाट आफ्ना साहित्यिक रचना पाठकसमक्ष पस्केको पर्याप्त प्रमाण भेटिन्छन् । त्यसबेलाको हवाईपत्रमा प्रकाशित रचना अहिलेको फेसबुकको वालमा लेखिएका साहित्यिक कृतिसँग तुलना गर्न सकिएला ।

पाठकपत्र

अखबारका सम्पादकलाई सम्बोधन गरी पत्र लेख्ने चलन ‘सम्पादकलाई चिठी’ नामले नेपाली समाजमा पनि प्रचलित छ । अखबारको युगारम्भ भएपछि सुरु भएको यस प्रकारको परम्परालाई सार्वजनिक पत्रलेखनको एउटा महìवपूर्ण पक्ष मान्न सकिन्छ । सम्बन्धित अखबारको अन्तरवस्तु तथा सर्वसाधारणको सार्वजनिक चासो र सरोकारलाई विषय बनाएर पत्र लेख्दा सरोकारवालाहरूको ध्यान खिचिन्थ्यो । यससँगै सार्वजनिक ज्ञानको दायरा पनि फराकिलो हुन्थ्यो । सम्पादकलाई चिठी लेखेकै भरमा सरोकारवाला सरकारी अधिकारीले आफ्नो व्यवहार सच्याएका तथा भूल सुधार गरेका अनेकौँ दृष्टान्त छन् ।

एक समयमा ओखलढुङ्गाका नन्दनहरि उपाध्याय ‘ओखलढुङ्गे’ले ‘गोरखापत्र’मा समाजको बहुआयामिक विषयलाई लिएर निरन्तर पत्र लेखिरहन्थे । उनको पाठकपत्र लेखनकर्मलाई केन्द्रीय विषय बनाएर पुस्तकसमेत लेखिएको छ । मेघराज गौतमले २०५६ सालमा उनका बारेमा पुस्तक लेखेका हुन् । त्यस पुस्तकको नाम हो, ‘नन्दनहरि ः व्यक्ति र कृति’ । पुस्तकमा पत्रलेखक नन्दनहरि उपाध्याय ‘ओखलढुङ्गे’को व्यक्तित्व र उनले पाठकपत्रमार्पmत उठाएका समाजका बहुआयामिक विषयबारे 

चर्चा गरिएको छ ।

समयले साइबर युगमा फड्को मारे पनि पाठकपत्रको गाथा–गरिमा घटेको पाइन्न । आजको अनलाइन ‘प्ल्याटफर्म’हरूमा पाठकपत्र लेख्ने क्रम जारी नै छ । अनेकौँ अनलाइन ‘प्ल्याटफर्म’मा बहिनीलाई चिठी, बुवालाई चिठी, आमालाई चिठी, सांसदलाई चिठी, प्रधानमन्त्रीलाई खुलापत्र, प्रवासीको चिठी आदि शीर्षकमा पत्र लेखिएको देखिन्छ ।

परदेशीको पत्र

लाहुरे, मुगलानी तथा अन्य परदेशीका चिठीपत्रले ग्रामीण समाज र परदेशलाई जोड्ने गथ्र्यो । परदेशीको पत्र आउँदा गाउँमा खुसीको वातावरण छाउँथ्यो । बहुसङ्ख्यक मानिस निरक्षर रहेको पुरानो समयमा परदेशीले पठाएका पत्र वाचन गरी सुनाउन भने सहज थिएन । पत्र वाचन गर्न आँखा उघ्रिएको व्यक्ति पाउनु पनि कठिन हुन्थ्यो । पत्र वाचन गर्न सक्ने व्यक्ति जसोतसो खोजखाज गरी पत्र पढ्न लगाइन्थ्यो ।

पत्रवाचकले कामकाजबाट फुर्सद मिलेपछि (खासगरी साँझपख) लाल्टिन वा ढिब्रीको मधुर प्रकाशमा लेग्रो तानीतानी घिच्रो तन्काई–तन्काई चिठी वाचन गरिन्थ्यो, जसबाट एउटा बेग्लै रोमाञ्चक परिवेश खडा हुन्थ्यो । मुगलानीले चिठीमा मुटु नै टाँसेर पठाएका हुन्थे । चिठी सस्वर वाचन हुँदा कतिपय श्रोतागण भावुक भई तिनका आँखामा आँसु टल्पलाउँथ्यो ।

मुगलानीले पत्रमा गाउँभरिका आफन्तजनलाई सम्झेका हुन्थे । केही गरी कसैको नाम छुटेमा पत्रवाचकले नै छुटेका व्यक्तिको नाम उच्चारण गरिदिन्थे भन्ने किस्सा पनि गाउँघरमा सुनिन्छ । भारतमा रहेका पुराना परदेशीले पठाएको पत्रको पुछारमा ‘रामराम’ वा ‘जै हिन्द’ भनी पत्र अन्त्य गर्थे ।

विगतमा यातायातको राम्रो सुविधा नहुँदा लाहुरेले पठाएको पत्र घरसम्म आइपुग्न हप्तौँ–महिनौैँ लाग्थ्यो । कतिपय अवस्था त लाहुरेले ‘सञ्चै छु’ भनी लेखिपठाएको पत्र गन्तव्यमा पुग्दानपुग्दै लडाइँमा उसको प्राणोत्सर्ग भइसकेको हुन्थ्यो भन्ने भनाइ पनि सुनिन्छ । कसैको मृत्यु भएको खबर दिनका लागि पठाइएको पत्र धागोले बाँधेको हुन्थ्यो भनिन्छ ।

घरबाट पल्टन हिँडेका लाहुरे वा मुगलानी गन्तव्यमा पुगे–नपुगेको खबर पाउन परिवारजन अधैर्य र व्यग्र हुन्थे । तत्कालीन समयमा वनपाखामा गुञ्जने लोेकभाकाले पनि मनोविज्ञानको प्रतिनिधित्व गरेको पाइन्छ । जस्तैः ‘मेरो माया कहाँ पुग्यो होला, दिनमा हिन्ने सुर्जे था होला’, ‘आँसुधारा आँखामा नसुक्दै, लेख्नु चिठी पल्टनमा नपुग्दै’, ‘चिठीपत्र पठाउँदै गर, सम्झीसम्झी रुने काम नगर’ आदि ।

पत्रमित्र

अचेल सोसल मिडियाले संसारभरका मानिसलाई मित्रताको सञ्जालमा जोडेको छ । पुराना दिनमा चिठीपत्रले नै टाढा–टाढाका मानिसलाई मित्रताको धागोले जोड्ने गथ्र्यो । केही पत्रपत्रिकाले पत्रमित्र गर्न चाहनेहरूको सूची प्रस्तुत गर्थे । रेडियो नेपालले पनि यस्तै सूची प्रस्तुत गथ्र्यो । यस्तो सूचीमा सम्बन्धित व्यक्तिको नाम, उमेर, ठेगाना, रुचि, शिक्षा आदि समाविष्ट हुन्थे ।

यिनै विवरणका आधारमा पत्रमित्रता चाहनेहरूले आपसमा चिठीपत्र सारनतारन गर्थे । उनीहरूबीच पत्रकै माध्यमबाट विचार तथा भावना साटासाट हुन्थे । पत्रमित्रताकै माध्यमबाट कतिपय अपरिचित तरुणहरू दाम्पत्य जीवनमा प्रवेश गरेको दृष्टान्त पनि छ ।

गीत सुन्न पत्र

अहिले मेमोरी चिप्स, मोबाइल फोन तथा युट्युबको जमानामा हरेक व्यक्तिले चाहेको गीत तत्कालै सुन्न वा हेर्न सक्छ । विगतमा यस्तो अवसर कल्पना मात्र थियो । कुनै समयमा गीत सुन्नलाई रेडियो नेपालमा मात्र भर पर्नुपर्ने हुन्थ्यो । यसका लागि रेडियो नेपालले ‘फर्माइसी गीत कार्यक्रम’ सञ्चालन गरेको थियो । श्रोताले आपूmले मन पराएको गीत सुन्नलाई रेडियो नेपालको ‘फर्माइसी गीत कार्यक्रम’मा पत्र लेख्नुपथ्र्याे ।

त्यसबेला पोस्टकार्ड, हवाईपत्र तथा चिठीमा मन परेको गीतको गायक, सङ्गीतकार तथा रचनाकारको नामले लेखेर पठाउनुपर्ने हुन्थ्यो । हप्ताका कुनै निश्चित बार रेडियो नेपालले श्रोताको रोजाइअनुसारका गीत बजाउँथ्यो । यस क्रममा सुन्न आतुर श्रोताको नामसमेत फुकेर गीत बजाइन्थ्यो ।

गीतसँगै आफ्नो नाम सुन्न लालायित श्रोताको सङ्ख्या यति धेरै हुन्थ्यो– नाम पुकार्दापुकार्दै गीत सुन्ने समय खर्च हुन्थ्यो । कार्यक्रम सञ्चालकले समय जोगाउन पृष्ठभूमिमा गीत बजाएर श्रोताको नाम पुकार्नुपर्ने अवस्था आउँथ्यो ।

चाहेको गीत पनि सुन्न पनि पाइने र आफ्नो नाम पनि प्रसार हुने भएकाले ‘फर्माइसी गीत कार्यक्रम’ श्रोतामाझ अतिशय लोकप्रिय थियो । समयक्रममा ठाउँठाउँमा एफएम रेडियो खोलिए, इन्टरनेटको सञ्जाल पैmलिँदै गयो अनि मेमोरी चिप्सयुक्त स्मार्ट फोन मानिसका हातहातमा पुगे ।

समयक्रमसँगै आएका यिनै नयाँ विकासक्रमबाट ‘फर्माइसी गीत कार्यक्रम’को क्रेज घट्दै गयो । हिजोको ‘सुपरहिट’ कार्यक्रम आज महìवहीन हुन पुगेको छ । आज ‘फर्माइसी गीत कार्यक्रम’ कथाजस्तै बनेको छ ।

बिसौनीनेर

हस्तलिखित पत्रको युगदेखि ‘इन्स्ट्यान्ट मेसेजिङ’को युगसम्म आइपुग्दा सञ्चारजगत्मा अकल्पनीय परिवर्तन आएको छ । पत्रसञ्चार राम्रैसँग ओझेलमा पर्दै गएको छ । समयको लामो कालखण्डसम्म समाजको हरेक पक्षसँग जोडिएको चिठीपत्रको युग एकप्रकारले विसर्जनको सँघारमा पुगेको छ । तर पनि मानवजातिले चिठीपत्रको गौरवमय इतिहास चाहेरै पनि भुल्न सक्दैन, भुल्न पनि मिल्दैन । पत्रसँग हाम्रो खबरकर्म र सांस्कृतिक इतिहास जोडिएको छ । इन्टरनेटको युगले जति नै धकेल्दै गए पनि धेरैको स्मृतिपटलमा चिठीपत्रको ठाउँ सुरक्षित छ ।