• २५ वैशाख २०८१, मङ्गलबार

‘संसद कानुन बनाउनेभन्दा अन्तै अल्मलियो’

blog

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मा । फाइल तस्बिर

बाजुरा, वैशाख १४ गते । नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले मुलुकको सार्वभौम संसद् कानुन बनाउने काममा भन्दा पनि अन्यत्रै अल्मलिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसदको मुख्य काम मुलुकका लागि आवश्यक कानुन निर्माण गर्नु भएपनि कानुन निर्माणको सट्टा संसद अरुनै मुद्दामा अल्मलिएको बताउनुभएको हो ।

सांसद डा.शर्माले भन्नुभयो, “वर्तमान प्रतिनिधिसभाको १७ महिना अवधिमा संसदमा नीति र योजनाका कुरा कति उठे र कानुन कति बने भन्ने प्रश्न गर्ने हो भने यसको गतिलो जवाफ दिने ठाउँ छैन । संसदले आफ्नो भूमिका र दायित्वको काम कति गर्यो भनेर अनुसन्धान गर्ने हो भने मलाई लाग्छ संसद यो अवधिको आफ्नो ९० प्रतिशत समय दलहरुबिचको आपसी झगडामै बिताएको छ ।”

संसद अधिवेशन जारी रहेको अवस्थामा गम्भीररुपले आफ्नो दायित्व बमोजिमको काम नगर्ने अनि अधिवेशनको अन्त्य गरेर अध्यादेशबाट कानुन ल्याउनुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । सांसद शर्माले ठूला पार्टीका ठूला नेताहरु चुनाव लड्न डराउने र समानुपातिक निर्वाचन प्रणालीबाट सांसद आएर शक्तिशाली मन्त्रालय खोज्ने प्रवृत्ति गलत रहेको बताउनुभयो । देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र साना व्यवसायीहरुको झन ठूलो समस्या रहेकाले सरकारले व्यवसायीहरुलाई काम गर्ने वातावरणका साथै आवश्यक सहुलियतका कार्यक्रम ल्याउनुपर्ने माग गर्नुभयो । 

छिटोछिटो सरकार परिवर्तन हुने गरेका कारण देशमा निर्माणका काम हुन नसकेका र यसका कारण अर्थतन्त्रमा पनि असर परेको उहाँले बताउनुभयो । मुलुकको अर्थतन्त्रमा सुधार ल्याई रोजगारीका अवसरहरु सिर्जना गर्ने र यसबाट देशबाट युवा पलायनको अवस्थालाई रोक्नका लागि स्थायी सरकार आवश्यक रहेको उहाँको भनाई थियो । देश यसै गरी चल्ने र राजनीतिक स्थायित्व कायम गर्न नसकिने हो भने नागरिकमा निरासाको तह झन बढ्ने भन्दै उहाँले मुलुकका प्रमुख राजनीतिक शक्तिहरुलाई समयमै सोच्न पनि सुझाउनुभयो । रासस