• १४ वैशाख २०८१, शुक्रबार

एमगज नामक हात्तीलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग

blog

नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैला । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते । नेकपा (एमाले)का सांसद महेशकुमार बर्ताैलाले मकवानपुर जिल्लाको विभिन्न बस्तीमा आतङ्कित तुल्याउने एमगज नामक हात्तीलाई तत्काल नियन्त्रणमा लिन सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद बर्ताैलाले सोही हात्तिको आतङ्कबाट मृत्यु भएकी मनोहरी गाउँपालिकाकी ६४ वर्षीया राधा अधिकारीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले एक साता यता मकवानपुरको विभिन्न बस्तीमा सो हात्तिले आतङ्क सृजना गर्दा पनि वन मन्त्रालय र त्यस मातहतका निकायले नियन्त्रणका लागि कुनै पनि पहल नगरेको भन्दै आपत्ति जनाउनुभयो ।

‘‘मकवानपुर जिल्लामा एमगज नामको हात्तीले आतङ्क मच्चाइरहेको छ । आजभन्दा ३ दिन अगाडि मकवानपुर जिल्ला मनोहरी गाउँपालिका वडा नम्बर ४ निवासी ६४ वर्षीया आमा राधा अधिकारीलाई हात्तीले आक्रमण गरी मृत्यु भएको छ । उहाँको परिवार शोकमा हुनुहुन्छ । उहाँको मृत्यु मात्रै होइन । त्यहाँ ७ दिनदेखि एमगज नामको हात्तीले त्यहाँ स्थानीय जनताको घर भत्काउने, बाली नोक्सान गर्ने, आतङ्कित बनाइरहेको अवस्था छ ।,’’ सांसद बर्तौलाले भन्नुभयो,  ‘‘विद्यार्थीहरु विद्यालय जाने स्थिति बनेको छैन । त्यतिमात्रै होइन सरकारको तर्फबाट वन विभागका कर्मचारीहरु, वन मन्त्रालयका कर्मचारीहरु, राष्ट्रिय निकञ्जका कर्मचारीहरुले जुन प्रकारले भूमिका खेल्नुपर्दथ्याे हात्तीलाई नियन्त्रण गर्नका लागि । बस्तीमा पस्न नदिनका लागि जुन किसिमको भूमिका निर्वाह गर्नुपर्दथ्याे त्यो छैन । त्यसकारण म सम्माननीय सभामुख महोदयमार्फत अविलम्ब त्यस हात्तीलाई नियन्त्रण गरी मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न म सरकारसँग माग गर्न चाहन्छु ।’’

सांसद बर्ताैलाले सो हात्तिले आतङ्क फैल्याएपछि विद्यार्थीहरु विद्यालय जान नसक्ने अवस्था उत्पन्न हुुँदा पनि त्यहाँको वन विभाग, राष्ट्रिय निकुञ्जले नियन्त्रणका लागि चासो नदिएको गुनासो गर्नुभयो ।