• २५ वैशाख २०८१, मङ्गलबार

सयौँ वर्ष पुरानो सिन्दुरे जात्रा सम्पन्न

blog

नवराज सुवेदी 

नुवाकोट, वैशाख १४ गते । चैत शुक्ल पूर्णिमाको दुई दिनपछि द्वितीयाको दिन प्रसिद्ध भैरवी मन्दिरमा सिन्दुरे जात्रा भव्यताका साथ सम्पन्न भएको छ । चैत शुक्ल पूर्णिमाको दिन साततले दरबार राष्ट्रिय सङ्ग्रहालयसँगै रहेको भैरवी मन्दिरबाट जालपादेवी मन्दिरमा गएको धामिधमिनी र भैरवीको रथलाई भैरवी मन्दिरमा ल्याइएपछि हर्षकासाथ सिन्दुर घसेर रमाइलो गर्दै जात्रा सम्पन्न भएको हो ।

नेपाल सरकारको प्रतिनिधि द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि २०८१ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो । नुवाकोटको सबैभन्दा ठूलो यस मेला सिन्दुरे जात्रा चैत शुक्ल द्वितीयाका दिन लागेको सिन्दुरे जात्राको मेलामा भैरवी मन्दिर अगाडि र बुढी देवता अघि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ र लिङ्गो ढालेपछि सकिन्छ ।  द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र राती धामीले बली पनि लिने गर्दछन् । 

पचहत्तर वर्षीय धामी हरिमान सिंह डङ्गोलले धमिनीलाई सिन्दुर लगाएर सुरु भएको जात्रामा सहभागीले सिन्दुरजात्रा गरी रमाइलो गरेका थिए । नुवाकोटको दरबार क्षेत्रको भैरवी मन्दिर र देवीघाटको जालपा क्षेत्रमा जात्रालुको घुइँचो लागेको थियो । जिल्लाको ठूलो पर्व मानिने सिन्दुर जात्रा पाँच दिनसम्म लाग्छ । चैत पूर्णिमा मेला पनि भनिने सिन्दुरे जात्रा चैत शुक्ल द्वादशीको दिन भैरवी मन्दिर अगाडि र बूढीदेवीको थान अगाडि सल्लाको लिङ्गो ठड्याएपछि सुरु हुन्छ । द्वितीयाको दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा र तृतीयाको दिन धामीले भोग खाएपछि सकिन्छ । 

किम्वदन्ती अनुसार जालपादेवी सहित भैरवी मन्दिरमा दिदी आएको अवसरमा सिन्दुर जात्रा गरि हर्षबढाई गरिएको हो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजा सहित भैरवी मन्दिर प्राङ्गणमा पुगे पछि सिन्दुरे जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रा गर्दै तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइन्छ । देवीघाटस्थित जालपा देवी मन्दिरमा पुगेका धामी धमिनीसहित भैरवी मन्दिरको रथ नुवाकोट भैरवी मन्दिर परिसरमा पुर्‍याएपछि सिन्दुर हालेर सिन्दुरे जात्रा मनाइएको हो । 

द्वारे महेन्द्रकुमार शाहीले भैरवी मन्दिरका पुजारी धामी हरिमानसिह डङ्गोललाई विजयको प्रतीक सिन्दुर हालिदिए लगत्तै धामीले सरकारी कर्मचारी तथा सर्वसाधारणलाई सिन्दुर प्रदान गर्ने परम्परा रहेको छ ।भैरवी मन्दिरको रथ अपरान्ह भैरवीका गुठियार लच्याङबासीहरुले भैरवी मन्दिर परिसरमा पु¥याएका थिए । तीन सय वर्षभन्दा पुरानो मानिएको सो जात्राको मुख्य दिन भैरवी मन्दिरमा सिन्दुर जात्रा गरेर मनाइएको हो । 

सिन्दुरे जात्राका लागि आज अपराह्न भैरवी मन्दिरमा जिल्लाका कार्यालय प्रमुख, सरकारी कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनालगायतको सहभागिता थियो । जालपादेवीबाट फर्किएका धामी स्थानीय धरमपानीको पाटीबाट बाजागाजासहित भैरवी मन्दिर प्राङ्गणमा पुगेपछि सिन्दुर जात्रा गरिन्छ । भैरवीको मन्दिरबाट बाजागाजा र सैनिक टुकडीसहित सिन्दुर जात्रासहित तलेजु भवानीको मन्दिरमा रथ भित्र्याइएको थियो । 

स्थानीय नेवार समुदायका महत्वपूर्ण जात्रामा मेला भर्न राजधानीका नेवार समुदायसमेत आउने गरेको द्वारे महेन्द्र शाहीले बताउनुभयो ।