• २० वैशाख २०८१, बिहिबार

प्रदेश सरकारलाई पूर्णता दिन आग्रह

blog

कर्णाली प्रदेश सभा बैठक ।

मुना हमाल 

सुर्खेत, वैशाख ७ गते । कर्णाली प्रदेश सरकारलाई छिटो पूर्णता दिन प्रदेश सभा सदस्यहरुले आग्रह गर्नुभएको छ । सरकारले पूर्णता नपाउँदा सरकारका काम कारवाही प्रभावित बनेको भन्दै प्रदेश सभा सदस्यले छिटो पूर्णता दिन आग्रह गरेका हुन् । 

केन्द्रको गठबन्धन परिवर्तन भएसँगै कर्णालीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्रीमा नियुक्त भएको ११ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । चैत २७ गते कँडेल मुख्यमन्त्रीमा नियुक्त भए पनि एमाले र माओवादीबिच भागबण्डामा कुरा नमिल्दा अहिलेसम्म मुख्यमन्त्री कँडेल सरकारमा एक्लै हुनुहुन्छ । 

शुक्रबार बसेको प्रदेश सभाको बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य वेदराज सिंहले सरकारलाई पूर्णता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘डेढ महिनादेखि सरकारका काम कारवाही प्रभावित भएका छन् । मुख्यमन्त्री नियुक्त भएको ११ दिन बितिसक्दा पनि मुख्यमन्त्री एक्लै हुनुहुन्छ । दिनानुदिन गर्नुपर्ने आवश्यक निर्णयहरु प्रभावित भएका छन् । सरकारले पूर्णता पाओस् ।’ 

यस्तै, प्रदेश सभा सदस्य कल्याणी खड्काले पनि सरकार फेरबदल हुँदा र पूर्णता नपाउँदा सरकारका कामकारवाही प्रभावित भएको बताउनुभयो । उहाँले सबैभन्दा बढी गरिब विपन्न वर्ग समस्या परेको चर्चा गर्नुभयो । उहाँले आगलागी घटना भइरहेकाले पनि उद्धार, राहत र नियन्त्रणका लागि सरकारले ध्यान दिन पनि आग्रह गर्नुभयो । 

यस्तै, प्रदेश सभा सदस्य घनश्याम भण्डारीले डेढ महिनादेखि सरकारको काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले नयाँ मुख्यमन्त्री नियुक्त भए पनि अहिले बधाई र शुभकामना दिने काम मात्र भएको भन्दै सरकारलाई पूर्णता दिएर अघि बढ्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘अहिलेको व्यवस्था माथि प्रश्न छ । डेढ महिनादेखि सरकारका काम कारवाही अघि बढ्न सकेको छैन । बधाई र शुभकामना दिने काम मात्र भएको  छ । अब सरकारकै रुपमा ग्रहण गर्नेगरी सरकार देखाउने वातावरण छिटो बनोस् ।’ प्रदेश सभा बैठक वैशाख १२ गते बुधबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।