• १४ वैशाख २०८१, शुक्रबार

पोखरा विमान दुर्घटना : १० जना पर्वतवासीको मृत्यु

blog

पर्वत, माघ २ गते । आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परी पर्वतका १० जनाको ज्यान गएको पुष्टि भएको छ ।

मृतक सबैको सनाखतसमेत भइसकेको छ । दुर्घटनामा परी कुस्मा नगरपालिका–१४ आर्थर डाँढाखर्कका नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुस्मा –९ का अरुण पौडेल र उहाँकै छोरी ११ वर्षीया प्रसिद्धी पौडेल, कुस्मा–१ पाङकी रचना काफ्ले र उहाँका १० महिने छोरा रिहान पौडेलको ज्यान गएको हो । 

त्यसैगरी मोदी गाउँपालिका–१ भुकताङ्लेका  विजय गुरुङ, विहादी –५ उराम पोखराका एकै परिवारका जमुना शर्मा, युवराज शर्मा, आयुर्दी शर्मा र वेबी शर्मा रहनुभएका छ । शर्मा परिवारमा आमा, छोरा, नाति र नातिनी एउटै विमान दुर्घटनामा परेर अकल्पनीय निधन भएको हो । उनीहरू यही माघ ४ गते आफन्तको घरमा रहेको पूजामा निम्ता मान्न आएका थिए । 

दुर्घटनामा ज्यान गुमाउने कुस्मा –९ कटुवाचौपारीका ४६ वर्षका अरुण पौडेल र उनकी छोरी वर्ष ११ कि प्रसिद्धी पौडेल विद्यालय बिदा भएपछि आफन्तलाई भेटघाट गर्नका लागि आउँदै गरेको बुझिएको छ । काठमाडौँको बृहस्पति विद्याश्रममा कक्षा ५ मा पढ्ने  प्रसिद्धी जन्मघर पर्वत आउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । “छोरीको स्कुल बिदा पनि भएकाले दाजुभाइ भेटौँ भनेर जन्मघर आउन लाग्नुभएको रहेछ”, अरुणका छिमेकी उपेन्द्र अधिकारीले भन्नुभयो, “उहाँहरूलाई लिन भाइ [अरुणका भाइ केशव] विमानस्थलमै पुग्नुभएको थियो ।” केशवले नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएर अरुण र प्रसिद्धिको शवको पहिचान गर्नुभएको थियो । पौडेल गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पर्वतबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । 

दुर्घटनामा परी ज्यान गुमाएका पर्वतका सबैको पहिचान भएकाले आज आफन्तलाई शव बुझाइने कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।