• ६ जेठ २०८१, आइतबार

पहिलो मन्त्रिपरिषद्को बैठक

अर्थतन्त्र सुधार र सुशासनमा जोड हुन्छ : प्रधानमन्त्री दाहाल

blog

सपना थामी 

काठमाडौं, पुस ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले देशको अर्थतन्त्र सुधार गर्ने र सुशासन कायम गर्नेमा जोड दिइने बताउनु भएको छ । 

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सो जानकारी दिनुभएको हो । उहाँले संसद्को अधिवेशन पनि आह्वान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी पनि पत्रकारलाई दिनुभयो ।

उहाँले देशमा पछिल्लो समय देखिएका राहदानी, लाइसेन्स वितरणमा देखिएका समस्या र जनताका अन्य समस्या समाधानमा केन्द्रीकृत हुने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नै राहदानी र सवारी चालक अनुमतिपत्र लिन लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्ने निर्णय भएको जानकारी दिनुभयो ।   प्रधानमन्त्रीले भन्नुभयो, “राहदानी र सवारी चालक अनुमतिपत्रसम्बन्धी विषयमा लामालामा लाइन र नागरिकको जुन खालको पीडा देखिएको छ । त्यसलाई समयभित्रै नियन्त्रण गर्ने गरी प्रभावकारी ढङ्गले जनतालाई सेवा दिने निर्णय गरेका छौँ ।”     

नागरिकले सास्ती नपाऊन् भनेर सुशासनमा केन्द्रित भएको र सबैले सङ्कल्प गरेको उहाँले जानकारी दिनुभयो ।  

उहाँका अनुसार बैठकले प्रतिनिधिसभाको बैठक बोलाउने बारेमा पनि निर्णय गरेको छ । देशमा रहेका समस्या समाधानमा केन्द्रित हुने गरी सङ्कल्प गरेको समेत प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो ।     

प्रधानमन्त्री दाहालले केही नयाँ गरौँ भन्ने सङ्कल्पका साथ आफूहरू एक ठाउँमा उभिएको बताउनुभयो । 

आफ्नो नेतृत्वमा सरकार गठन भएपछि जनतामा आशा जागेको उहाँको भनाइ छ । उहाँले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जस्तो निर्णय आएको छ, त्यसलाई अहिलेको मन्त्रिपरिषद् समेटेको उल्लेख गर्नुभयो ।     

 प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रा अगाडि जटिलता र चुनौती छन् । जनतामा आशा र भरोसा बढेको देखिएको छ । केही नयाँ गरिछाड्नेहरूको सङ्कल्प भएकाको केन्द्रीकरण भएको छ । त्यसकारण पनि काम गर्न मलाई सहज लागेको छ ।”