• १२ साउन २०८१, शनिबार

मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन

blog

भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेल ।

गोकर्ण पौडेल

तुलसिपुर, जेठ ६ गते । तुलसिपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयकाे नवनिर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले कलेजमा अध्ययरत विद्यार्थीहरूले तयार पारिएको मोबाइल एप्सबाट भवनको उद्घाटन गर्नुभएको हो ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयमा ३७ जिल्लाका १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजका प्रमुख वसन्त आचार्यले २३ जना विद्यार्थीबाट सुरु भएको कलेजमा अहिले १२ सय विद्यार्थी अध्ययनरत छन् । कलेजमा स्नातक तहमा कानुन र डिप्लोमा तहमा ६ वटा र प्रिडिप्लोमा तहमा ३ वटा प्राविधिक विषय अध्यापन भइरहेकाे छ । कलेजमा तुलसीपुर उपमहानगरपालिकाभित्र एसइइ उत्तीर्ण गरेका तीन छात्राले निःशुल्क अध्ययन गरिरहेका छन्।

लुम्बिनी प्रदेशको १८ करोड बजेटमा भवन निर्माण भएको हो । भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शङ्कर पोखरेलले पालिकाको गौरव योजनालाई प्रदेश सरकारले साथ सहयोग गरेको बताउनुभयो । उहाँले पश्चिम नेपालकै शिक्षाको हबका रूपमा विकास गर्न सक्षम रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथिले नेपालको  शिक्षामा सीप र क्षमतालाई आत्मसात् गर्न नसक्दा युवा वैदेशिक रोजगारतर्फ उन्मुख रहेको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले प्रदेशकै अनुकरणीय उदाहरणीय शिक्षालय भएकाले प्रदेश सरकारबाट सहयोग गरिने बताउनुभयो । कार्यक्रममा नगरप्रमुख एवम् सञ्चालक समितिका अध्यक्ष टीकाराम खड्काले शिक्षालयमा थप विषयहरू थपिने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले अन्य  स्थानीय तहका लागि सिकाइको विषय हुनुपर्ने बताउनुभयो ।