• १२ साउन २०८१, शनिबार

डोको क्यारी रनमा कार्की प्रथम

blog

डोको क्यारी रनमा प्रथम हुन सफल छत्र कार्की । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, जेठ ६ गते । ताप्लेजुङमा आइतबार भएको डोको क्यारी रन (डोको बोकेर दौडने) मा छत्र कार्की प्रथम हुनुभएको छ । निर्धारित दूरी एक घण्टा १५ सेकेण्डमा पुरा गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ का कार्की प्रथम हुनुभएको हो ।

ताप्लेजुङमा जारी पाँच दिने पर्यटन महोत्सवको चौथो दिन आइतबार डोको क्यारी रन प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा फिदिम नगरपालिका–१४ पाँचथरका विशाल राई द्वितीय हुनुभएको छ । राईले निर्धारित दूर एक घण्टा १९ सेकेण्डमा पार गर्नुभएको थियो । 

यस्तै ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का मिङ्मा शेर्पा तृतीय हुनु भएको छ । शेर्पाले एक घण्टा २० सेकेण्डमा दूरी पुरा गर्नुभएको छ । फक्ताङ्लुङ गाउँपालिकाका सञ्चबहादुर शेर्पा, मिक्वाखोला गाउँपालिकाका फुर्लाक्पा शेर्पा, मैवाखोला गाउँपालिकाका वाङ्गेल शेर्पा र फुङ्लिङ नगरपालिकाका दीपेन्द्र सुजी क्रमशः चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनुभएको छ । 

यता डोको क्यारी रनमा प्रथम हुनेले ३० हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ । त्यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार र १० हजार रुपियाँ नगद पुरस्कार पाएका छन् । यसैगरी चौथोदेखि १० औँ स्थानसम्म प्राप्त गर्ने प्रतियोगीले जनही एक हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको आयोजक ताप्लेजुङ पर्यटन महोत्सव मूल आयोजक समितिका सदस्यसचिव देवराज गुरुङले जानकारी दिनुभयो । डोको क्यारी रनमा १८ जना प्रतिस्पर्धी (धावक) ले सहभागिता जनाएका थिए ।