• १२ असार २०८१, बुधबार

नेपालगन्जको तापक्रम वर्षकै उच्च, ४२ डिग्री पुग्यो

blog

खजुरा, जेठ ६ गते । देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो ।

जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको बताउनुभयो । उहाँका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो । 

नेपालगन्जमा केही दिनदेखि अधिकतम तापक्रम क्रमशः बढ्दै गएको पाइएको छ । फिल्ड इन्चार्ज सिवाकोटीका अनुसार गत बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसैगरी शुक्रवार ४१ दशमलव १ डिग्री मापन भएको नेपालगन्जको अधिकतम तापक्रम शनिवार भने ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।

शनिवार मापन भएको नेपालगन्जको अधिकतम तापक्रम पाँच वर्ष यताकै उच्च हो । २०१८ देखि २०२४ सम्म सात वर्षको अवधिमा गत २०१९ मे २० तारिखका दिन नेपालगन्जको तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको फिल्ड इन्चार्ज सिवाकोटीले जानकारी दिनुभयो । त्यसपछि भने पाँच वर्षपछि यहाँको तापक्रम शनिवार ४२ दशमलव ६ डिग्री मापन भएको हो । गत वर्ष नेपालगन्जको अधिकतम तापक्रम जुन महिनामा ४२ डिग्री सेल्सियस मापन भएको उहाँको भनाइ छ ।

नेपालगन्जमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत् अनियमितता हुँदा भने स्थानीयले सास्ती भोगी रहेका छन् । ४२ डिग्रीमाथिको चर्को गर्मी खेपिरहेका स्थानीयले विद्युत् कार्यालयले नियमितरुपमा विद्युत् आपूर्ति नगर्दा र झ्याप झ्याप बत्ती गइरहँदा सास्ती भोगेका हुन् । नेपालगन्जका स्थानीयहरूले विद्युत् कार्यालयले चर्को गर्मीमा पनि विद्युत् नियमित आपूर्ति नगरेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाइरहेका छन् ।

नेपालगन्जका होटेल व्यवसायी रामचन्द्र पोख्रेलले विद्युत् कार्यालयले आफूखुसी लाइन काट्ने गर्दा र कहिले हाइ तथा कहिले कम भोल्टेज लाइन आउँदा अति नै मर्कामा परेको बताउनुभयो । उहाँले बत्ती आउने जाने गर्दा र लामो समयसम्म बिना जानकारी बत्ती काटिँदा होटेलमा सुत्ने पाहुनाहरुलाई अत्यन्तै समस्या परेको बताउनुभयो ।

झ्याप झ्याप बत्ती आउने र जाने गर्दा एअरकन्डिसनर, फ्रिज, कुलरलगायतका विद्युतीय उपकरणहरू बिग्रने गरेको उहाँको भनाइ छ । एक पटक त विद्युत् मिटर समेत जलेको उहाँले बताउनुभयो । पोख्रेलले बिना जानकारी लोडसेडिङ गरेर गर्मीमा जनतालाई सास्ती दिएको भन्दै विद्युत् कार्यालयलाई तत्काल विद्युतकाे समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।